असोज १२ गते साँझ ६ बजेको हुँदो हो।
बाँकेको कोहलपुर नगरपालिका-११ नयाँ बसपार्कस्थित न्यू रारा कर्णाली होटलमा बास बस्न भनेर एक अधबैँसे महिला र अन्दाजी ६० वर्षका पुरूष आए।
पाहुना आएपछि होटल सञ्चालक पार्वती उपाध्यायले उनीहरूलाई बस्ने कोठा देखाइदिइन्। होटलमा उनीहरू दुई/तीन दिन बस्ने भनेका थिए।
बस्दै जाँदा होटल सञ्चालक पार्वतीसँग उनीहरूले निकै आत्मीयता देखाए। ती महिलाले पार्वतीलाई बोलाउँदा आमाको साइनो लगाइन्।
दुई-तीन दिन बसेकाले उनीहरूले देखाएको आत्मीयतालाई पार्वतीले पनि स्वीकार गरिन्। 'आमा' भनेकाले उनीहरूसँग बस्ने, गफगाफ गर्ने क्रम बाक्लिन थालेको थियो।
असोज १५ गते राति ११ बजे कुराकानीकै क्रममा ती दुई अतिथिले पार्वतीलाई मही र जुस खान दिए। त्यस रात पार्वतीसँगै उनकी दुई नातिनीहरू बिधा र बिनिशा आचार्य पनि थिइन्। उनीहरूलाई पनि मही र जुस खान दिइयो।
मही न हो भनेर उनीहरूले सहज रूपमा स्वीकारे र पिए। त्यसमा विष मिसाइएको छ भन्ने उनीहरूलाई थाहा भएन।
विष मिश्रित जुस र मही खाइसकेपछि उनीहरू विस्तारै लठ्ठिँदै गए र अचेत भए।
भोलिपल्ट पार्वतीको आँखा खुल्यो। जिउ गह्रौं भएको थियो। जसोतसो उठिन् र आफूलाई नियालिन्। उनले आफ्नो घाँटीमा तिलहरी देखिनन्, कानमा रिङ भेटिनन्। नातिनीहरूको अवस्था पनि उस्तै थियो। दुई नातिनीको कानको रिङ र नाकको नथिया गायभ थियो।
पाहुना बनेर नजिकिएका दुई जना पनि कोठामा थिएनन्।
धरमराउँदै काउन्टर गएर हेरिन्, त्यहाँ राखिएको ३० हजार रूपैयाँ नगद पनि थिएन। त्यसपछि उनले आफू लुटिएको भेउ पाइन् र तत्काल प्रहरीमा खबर गरिन्।
त्यतिबेला तीन जनाबाट साढे दुई तोला ९ आनाको सुनका गरगहना लुटिएको थियो।
स्थानीयले पनि होटल सञ्चालक र उनकी दुई नातिनीहरू अचेत भएको खबर इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्म भण्डारीसमक्ष पुर्याए।
तत्काल होटलमा पुगेको प्रहरीले पार्वतीसहित तीनै जनालाई उद्धार गरी अस्पताल पुर्यायो। सामान्य उपचारपछि पार्वती बोल्न सक्ने भइन् र प्रहरीलाई घटनाबारे बेलिबिस्तार लगाइन्।
तर पाहुना बनेर होटलमा आएकाहरू को थिए भन्नेबारे भने उनी पनि अनभिज्ञ थिइन्। उनले ती दुई जनाको परिचय खुल्ने कुनै पनि किसिमको कागजपत्र राखेकी पनि रहेनछिन्।
पाहुना बनेर आएकाहरूको परिचय खुल्ने कागजात नमाग्दा उनीहरूले सहज रूपमा त्यसको फाइदा उठाएको बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की बताउँछन्।
उनको होटलमा साइन बोर्ड पनि थिएन, सिसिटिभी त अझै परको कुरा। आपराधिक लाभ उठाउन खोज्नेहरू त्यस्तै ठाउँको खोजीमा हुन्छन्।
पार्वतीबाट लुटेराहरूको सुराक नभेटिएपछि प्रहरीले उनकी दुई नातिनीहरूसँग सोधपुछ गर्यो। होटल आसपास राखिएका सिसिटिभीबाट पनि फुटेज संकलन गरी अनुसन्धान अगाडि बढायो।
पार्वती र उनकी नातिनीहरूले बताएको हुलिया र होटलभन्दा टाढा रहेको सिसिटिभीको फुटेजलाई आधार मानेर प्रहरीले लुटेराको खोजी सुरू गर्यो। सँगै सामाजिक सञ्जालमा पनि खोज्यो।
सानुसन्जु ९२० युजर आइडी रहेको टिकटकमा देखिएकी महिलाको हुलिया शंकास्पद भेटियो। उनको चिउँडोमा कालो कोठी थियो। सोही युजर आइडीको सहारा लिएर प्रहरी लुटेरासम्म पुग्यो।
उनीहरू कास्की जिल्लाको साबिक धिताल गाउँविकास समिति वडा नं. ९ घर भइ हाल माछापुच्छ्रे गाउँपालिका – ६ अस्तम गाउँका ६१ वर्षीय कालु परियार र पोखरा महानगरपालिका – ३ नदीपुरकी ३२ वर्षीया सन्जु कोइराला भएको पत्ता प्रहरीले पत्ता लगायो।
बाँके प्रहरीले कास्कीको स्थानीय प्रहरीको सहयोगमा उनीहरूको पहिचान गरेको थियो। त्यसपछि कोहलपुरबाट प्रहरी निरीक्षक रेशमलाल पौडेल नेतृत्वको टोली कास्की पुग्यो।
कास्की प्रहरीको सहयोगमा कालु परियारलाई असोज ३० गते तनहुँ जिल्लाको देवघाट गाउँपालिका – ५ क्षेत्रीटोलवाट असोज ३० गते पक्राउ गर्यो। त्यसको भोलिपल्ट सन्जु कोइरालालाई पोखरा महानगरपालिका– १३ आमलचौरस्थित आफ्नै घरबाट पक्राउ परिन्।
प्रहरीले परियारको साथबाट मानिसलाई बेहोस पार्ने औषधी १७ वटा ट्याबलेट बरामद पनि गर्यो। पक्राउ परेका दुवैजनालाई बाँके ल्याइएको र अनुसन्धान अगाडि बढाइएको एसपी कार्कीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानबाट कालु र सञ्जु लुटपाटपछि कैलाली पुगेका थिए। कैलालीबाट भारत गई केही दिन बसेका थिए। त्यहाँबाट भैरहवा हुँदै कास्की पुगेका थिए।
दुवै जनालाई बाँके ल्याइसकिएको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए।