तुलसीपुर उपमहानगरपालिका– १७ वनकट्टाको प्राथमिक विद्यालयमा हामी पुगेको दिन एक बालिका बिहान ११ बजेतिर विद्यालय आउँदै थिइन्।
‘यी बालिका किन ढिला आएकी?’ हामीले शिक्षिका तीला वलिलाई सोध्यौं।
‘यस्तै हो यहाँ जति खेर मन लाग्छ वा फुर्सद हुन्छ त्यतिखेरै आउँछन्। जतिबेला भए पनि विद्यार्थी आइदिए हामी खुसी हुन्छौँ,’ उनले भनिन्।
त्यो दिन विद्यालयमा जम्मा सात विद्यार्थी आएका थिए। सबैलाई एउटै कोठामा राखेर शिक्षिका तिला वलीले पढाइन्। यो विद्यालयमा बाल विकासदेखि कक्षा ३ सम्म पढाइ हुन्छ। प्रधानाध्यापक नरबहादुर वली र शिक्षिका तिला वली आलो पालो गरेर पढाउने रहेछन्।
हरेक कक्षामा एक/दुईजना विद्यार्थी हुने र शिक्षक पनि दुई जनामात्रै भएकाले बाल विकासदेखि कक्षा तीनसम्मका सबै विद्यार्थीलाई एउटै कक्षाकोठामा पढाउने गरिएको तिलाले बताइन्।
विद्यार्थी नआउँदा कसलाई पढाउने? आएका एक दुईजनालाई कसरी पढाउने भन्ने अलमल हुने उनको अनुभव छ।
‘दुई शिक्षक छौँ। विद्यार्थी फाट्टफुट्टमात्र आउँछन्। मलाई त विद्यार्थीबिनाको शिक्षिका हुँ भन्न पनि लाज लाग्न थालेको छ। धेरै विद्यार्थी भए पो पढाउन पनि जाँगर चल्छ,’ तिलाले भनिन् ‘ मलाई त यहाँको अवस्था देख्दा पीर लाग्छ।’
यो बर्ष जम्मा १५ जना मात्रै विद्यार्थी भर्ना भएका छन्। तीमध्ये पनि दुई विद्यालय आउन छाडेको विद्यालय प्रशासनले जानकारी दिएको छ।
गरिब अभिभावकले आफूहरू काम गर्ने ठाउँहरूमै छोराछोरीलाई पनि उतै लैजाने हुँदा भर्ना भएका जति सबै विद्यार्थीसमेत आउँदैनन्।
शिक्षिका तिलाका अनुसार जाडो बढेपछि विद्यालय आउने विद्यार्थीको संख्या अझै घट्छ। अनि उनीहरू घर घरमा गएर विद्यार्थी खोजेर ल्याउँछन्।
यो विद्यालयमा निम्न वर्गीय अभिभावकका सन्तानमात्रै पढ्न आउँने गरेको प्रधानाध्यापक वलीले बताए।
'घरबाट कलम, कापी किनेर ल्याउनै नसक्ने भएर अधिकांस कापी कलमविनै आउँछन्,' उनले भने।
यो बर्ष वडा कार्यालयमा पत्रचार गरि विद्यार्थीका लागि कापी, कलम र पोसाकको व्यवस्थापन गरिएको उनको भनाइ छ।
विद्यार्थी घट्दै जानुमा स्थानीय सरकार, अभिभावक र विद्यालय तिनै पक्षको कमीकमजोरी रहेको उनले बताए।
‘विद्यार्थी घट्दै जाँदा किन संख्या घटिरहेको हो र आकर्षण कसरी बढाउने? भनेर कसैले चासो दिएनन्। सरोकारवालाहरू भाषण मात्रै गर्छन्। सत्तामा पुगेपछि शिक्षक दरबन्दी काट्दै गए। त्यही भएर आज विद्यालय यो अवस्थामा आइ पुगेको हो,’ उनले भने।
यो विद्यालय २०१७ सालमा स्थापना भएको थियो। चार बर्ष अघिसम्म कक्षा ५ सम्म पढाइ हुन्थ्यो, दुईसय विद्यार्थी भर्ना हुन्थे। चारवर्षअघि स्थानीय सरकारले कक्षा ५ बाट घटुवा गरि कक्षा ३ मा झारेको थियो। अहिले त विद्यालयको नाम अंकित बोर्डसमेत कतै छैन। न वरिपरी कुनै छेकबार वा पर्खाल नै छ। स्थानीयले विद्यालय प्रांगणमा आफ्ना गाईगोरू चराउन लैजाने गर्छन्।
घटुवा गरिदिएपछि नै यहाँ विद्यार्थी संख्या घटेको प्रधानाध्यापक वली बताउँछन्।
बर्षौं पुरानो र आफ्नै गाउँको विद्यालय विद्यार्थीबिहीन हुँदै जाँदा स्थानीय रामु चौधरीलाई खुबै मन पोल्छ।
विद्यालय सामुन्नेमा खेती किसानी गर्ने उनी अहिले पनि सबै स्थानीय मिलेर विद्यालयको अस्तित्व जोगाउन सम्भव हुने बताउँछन्।
पहिलादेखि स्थानीयले जोगाएको विद्यालय मर्जरको नीति ल्याएर स्थानीय सरकारले अस्तित्व नामेट पार्न खोजिरहेको उनको भनाइ थियो।
‘मजस्ता गरिबका छोरा छोरीले नजिकै पढ्न पाएका थिए,’ उनले भने ‘ तर आज यो विद्यालय सिध्याउन सरकार नै लागेको देखियो।’
स्थानीय हर्कबहादुर वली विद्यालयमा विद्यार्थी घट्दै जानु पछाडिको प्रमुख कारण अभिभावको अविश्वासलाई मान्ने गर्छन्।
‘यो विद्यालयमा पहिले विद्यार्थी भरिभराउ हुन्थे आज विद्यालय सुनसान बनेको छ,’ उनले भने, ‘अभिभावकले छोराछोरीलाई निजी स्कुल पढाउन निको मान्छन्। अनि सरकारी स्कुल सुधार गर्न कसले चासो दिने/ कसले चिन्ता गर्ने?’
विद्यालयलाई पहिलाको जस्तै बनाउन शिक्षक, अभिभावक र स्थानीय सरकार सबै लाग्न जरूरी रहेको उनी ठान्छन्।
तुलसीपुर उपमहानगरको शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीपनि तुलसीपुर–१७ वनकट्टाको प्राथमिक विद्यालयको अवस्था नाजुक रहेको स्वीकार गर्छन्।
नगरका धेरै विद्यालय राम्रो रहेता पनि केही विद्यालय सुधार गर्न जरूरी रहेको उनले बताए। स्थानीय बालबालिकालाई अरू विद्यालय अपायक पर्ने हुँदा त्यो विद्यालय सञ्चालन गरिएको उनको भनाइ छ।
विद्यालय मर्ज गर्ने बेला वनकट्टा प्राथमिक विद्यालयका विद्यार्थीलाई पढ्न समस्या हुने भएर कक्षा ३ सम्म मात्रै पढाउन व्यवस्था गरिएको उनले बताए।
‘विद्यालय राम्रो बनाउनका लागि प्रधानध्यापकको जिम्मेवारी, विद्यालय व्यवस्थापन समिति, अभिभावको निगरानी समूह राखिएको छ। जिम्मेवारी पाउनेले राम्रोसँग निर्वाह नगर्ने, समिति अभिभावक वा निगरानी समूहले खबरदारी र सक्रियाता देखाउन नसक्ने भएपछि विद्यालयको अवस्था बिग्रिने हो,’ उनले भने।
आउने बर्ष पनि यसैगरी विद्यार्थी नभएको अवस्थामा उपमहानगरमा मर्जको नीति अनुरूप अगाडि बढ्ने बताए ।
तुलसीपुरमा ८३ सामुदायिक र ६५ संस्थागत विद्यालयहरू छन्।
भण्डारीले तुलसीपुरका १९ वडाहरू मध्ये विकट क्षेत्रका प्राथमिक विद्यालयहरूको अस्तित्व संकटपूर्ण रहेको बताए।
तुलसीपुर उपमहानगरपालिका– १७ वनकट्टाको यो प्राथमिक विद्यालयमा १३, तुलसीपुर – १ अविधारा प्राविमा जम्मा १२, तुलसीपुर – १ कै गैराच्यूरेको स्वीकोट प्राविमा १९, तुलसीपुर– ४ खुमखानी प्राविमा १८ जना मात्रै विद्यार्थी भर्ना भएको रेकर्ड छ। यी क्षेत्रको सिमाना रोल्पा र रूकुमसँग जोडिएका छ।
तस्बिर : विकास डाँगी