सल्यानमा धान र पराल बोकेको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारीको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिए।
सोमबार अपराह्न साढे ४ बजेतिर कपुरकोट गाउँपालिका –६ सिनबाङको दुबेदेबाट धान र पराल बोकेर सिनवाङ जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनी ट्रक सडकबाट झन्डै डेढ सय मिटर तल खसेको थियो।
दुर्घटनामा कपुरकोट गाउँपालिकका – ६ का १३ वर्षीया सृजना बस्नेत, १४ वर्षीय गोबर्द्धन खड्का र १२ वर्षीय डिल्ली भनिने अनिल भण्डारीको मृत्यु भएको थियो।
बस्नेतको उपचारका क्रममा कपुरकोटस्थित स्वास्थ्य चौकीमा मृत्यु भएको थियो भने खड्का र भण्डारीको घटनास्थलै मृत्यु भएको थियो ।
डिएसपी न्यौपानेका अनुसार ३५ वर्षीया नन्दा बस्नेतको नेपालगञ्जस्ति नर्सिह होममा उपचार भइरहेको छ। उपचारका लागि नेपालगञ्ज पुर्याइएकामध्ये नन्दाका श्रीमान ३५ वर्षीय देवबहादुर बस्नेत र १३ वर्षीया छोरी खुमा बस्नेत डिस्चार्ज भइसकेका छन्।
बस्नेत परिवारकै धान र पराल ओसार्न मिनी ट्रक प्रयोग गरिएको थियो।
दुर्घटनामा परी ८ जना घाइते भएका थिए।
१७ वर्षीय जीतसागर बस्नेत, १७ वर्षीय संजिव बस्नेत, २९ वर्षीय शंकर खडका, २२ वर्षीय हिक्मत पुन र सहचालक १८ रोनक भण्डारीसहित आठ जना घाइते भएका थिए। उनीहरू सबै डिस्चार्ज भइ सकेको डिएसपी न्यौपानेले जानकारी दिए।
साँघुरो बाटो भएको र पराल बोकेको ट्रकले माथि रूख छुन खोजेपछि चालकले छेउ च्यापेका थिए। त्यस क्रममा ट्रक सडकबाट खसेको स्थानीयहरूले बताएका छन्।
'ट्रकमा धान परालको उरूङ रहेछ। परालको झम्पटबाट रुख जोगाउन छेउ च्याप्न खोज्दा ट्रक भिरबाट खसेको भन्ने छ,' डिएसपी न्यौपानेले भने।
मृतक तीन जनाको शब राति नै जिल्ला अस्पताल सल्यान खलंगा लगेर राखिएको र दाङमा मृत्यु भएका चालकको पनि शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल लैजान लागिएको डिएसपी न्यौपानले बताए।
घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।