दाङ तुलसीपुरका एक जना सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का मानबहादुर विश्वकर्माको उपचारका क्रममा मंगलबार काठमाडौंमा मृत्यु भएको हो।
४० वर्षीय छोरा निमबहादुरले चलाएको रा ३ प ३४६६ नम्बरको स्कुटरमा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गर्दा कात्तिक ९ गते उनी दुर्घटनामा परेका थिए।
टाउकोमा गम्भीर लागेका मानबहादुरलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको थियो। उनको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाकाले स्कुटर चालक निमबहादुरले मादक पदार्थ सेवन गरी स्कुटर चलाएको पाइएको बताए।
चालकको साथमा सवारी चालक अनुमती पत्रसमेत फेला नपरेको प्रहरी निरीक्षक थापाको भनाइ छ।
दुर्घटनामा निमबहादुरलाई खुट्टामा सामान्य चोटपटक लागेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।