कपिलवस्तुमा लागुऔषध कारोबारी र सेवन गर्ने तीन जना पक्राउ परेका छन्।
कृष्णनगर नगरपालिका-२ का ३२ वर्षीय लवकुश भुज, बुद्धभुमी नगरपालिका-२ बस्ने २८ वर्षीय महेश थारू र बाणगंगा नगरपालिका-१ का २४ वर्षीय बिपुल थारू पक्राउ परेका हुन्।
उनीहरूलाई लागु औषध नियन्त्रण ब्युरोको शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले मंगलबार पक्राउ गरेको हो।
कृष्णनगर नगरपालिका-२ कृष्णनगर बसपार्कमा लागुऔषध कारोबार हुँदैछ भन्ने गोप्य सूचना प्रहरी पाएको थियो। लवकुशलाई शंका गरेर तलासी गर्दा उनी र उनको घरबाट १५१.२१० ग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ।
उनको कोठाबाट ४ वटा तराजु, २ वटा मोबाइल फेला पारेको थियो। उनीमाथि अनुसन्धान गर्ने क्रममा महेश र बिपुललाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनीहरूलाई जिल्ला अदालत कपिलवस्तुबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।