गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतको इजलासमा दुर्व्यवहार नभएको बताएका छन्।
नेपाल प्रेस युनियन कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै लेखकले उक्त कुरा बताएका हुन्।
‘रविजीमाथि दुर्व्यवहार भयो भनेर मैले पनि सुने। त्यस्तो भएको जस्तो मलाई किन लागेको छैन भने अदालतले यसबारे कुनै टिप्पणी गरेको अवस्था छैन,’ उनले भने।
अदालतभित्र दुर्व्यवहार भएको कुरा सुनेपछि आफूले सम्बन्धित निकायसँग बुझेको पनि उनले बताए।
इजलासमा दुर्व्यवहार भए अदालतले नै यस्तो नगर भनेर भन्न सक्ने गृहमन्त्री लेखकले बताए।
‘अदालतभित्रै त्यस्तो भएको भए अदालतले पनि यो कुरा नोटिसमा लिन्थ्यो होला। त्यस्तो नगर भन्थ्यो होला। अदालतले अहिलेसम्म केही भनेको स्थिति छैन,’ उनले भने, ‘इजलासको स्वतन्त्रता इजलासले नै कायम गर्ने कुरा हो। निष्पक्षता पनि इजलासले कायम गर्ने कुरा हो।’
पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि कात्तिक ८ गते जिल्ला अदालतको इजलासमा हतियारधारी प्रहरीले दुर्व्यवहार गरेको आरोप लागेको थियो। लामिछानेका कानुन व्यवसायीसमेत रहेका स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष यज्ञमणि न्यौपानेले इजलासमै प्रहरीले लामिछानेलाई दुर्व्यवहार गरेको भन्दै कात्तिक ९ गते राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका थिए।
इजलासमा उजुरीकर्ता न्यौपाने भने उपस्थित थिएनन्।
यो पनिः