क्षत्रपाटीका ६७ वर्षीय मुकुन्द श्रेष्ठ शनिबार 'चिनियाम्ह किसिचा' खोज्दै मरू गणेशथान आएका थिए।
चिनियाम्ह किसिचा भनेको चिनीबाट बनेको मिठाइ हो। गुलाबी रङको यो मिठाइ विभिन्न देवीदेवता र जनावरहरूको स्वरूपमा बनाइन्छ। नेपाल भाषामा 'किसि' भनेको हात्ती हो भने 'चा' ले माया गरेर बोलाउने भाव बुझाउँछ।
यो मिठाइको नाम चिनियाम्ह किसिचा भए पनि यसमा हात्तीको मात्र आकृति हुँदैन। लक्ष्मी, कुबेर, मयुर, घोडा, कछुवा, ख्याक लगायतका आकृति पनि हुन्छन्। सिन्ह मु (सिन्दुर दानी), ज्वल न्हयांक (दर्पण) लगायतका शृंगार सामग्री पनि बनाउने चलन छ।
मुकुन्दले यीमध्ये पाँच आकृतिका मिठाइ किनेका थिए – लक्ष्मी, हात्ती, कुबेर, सिन्ह मु र ज्वल न्हयांक।
यिनै आकृति छान्नुको कारण खुलाउँदै उनले भने, 'लक्ष्मी र कुबेर धनका देवता हुन्। हात्तीलाई समृद्धिको प्रतीक मानिन्छ। सिन्ह मु र ज्वल न्हयांक लक्ष्मीको सेटजस्तो गरेर दायाँ र बायाँ राखिन्छ।'
मुकुन्द हरेक वर्ष तिहारमा चिनियाम्ह किसिचा खोज्दै काठमाडौंका बजार डुल्छन्। नेवार समुदायले तिहारलाई 'स्वन्ति नखः' भनेर मनाउँछन्, जसमा पूजा गर्दा चिनियाम्ह किसिचा चढाउने चलन पहिलेदेखि रहेको मुकुन्दको भनाइ छ।
आफू सानो छँदा यसको महत्व झनै ज्यादा भएको स्मरण गर्दै उनले भने, 'त्यति बेला यो मिठाइको बेग्लै आकर्षण थियो। हामी पहिल्यै आमाबुबासँग मलाई हात्ती चाहिन्छ, मलाई लक्ष्मी चाहिन्छ भनेर माग राखिरहेका हुन्थ्यौं। यसको डिजाइन पनि रोचक हुन्थ्यो। हामी दाजुभाइमा त कसले लिने भनेर लुछाचुँडी जस्तै हुन्थ्यो।'
अचेलका केटाकेटीलाई यो मिठाइबारे त्यति आकर्षण नभएकोमा उनले चिन्ता व्यक्त गरे।
'अहिले त कतिपयलाई यस्तो मिठाइ हुन्छ भन्ने पनि थाहा छैन। बजारमा केटाकेटी भुलाउने अनेक मिठाइ छन्। जसलाई यसबारे थाहा छ, उनीहरूले पनि चिनी भएको मिठाइ स्वास्थ्यलाई राम्रो हुन्न भनेर प्रयोग गर्न छाड्दै गएका छन्,' उनले भने, 'मेरो घरमा पनि पूजा सकिएपछि यो मिठाइ खेर जाने हो। तै पनि परम्परा जारी राखौं भनेर अझैसम्म खोजी खोजी भए पनि किन्छु।'
मुकुन्दझैं शनिबार चिनियाम्ह किसिचा खोज्दै सयौं मानिस मरू गणेशथान आएका थिए। उनीहरूका लागि मन्दिरनजिकै अमृत श्रेष्ठ र उनकी श्रीमती मेनुकाले अस्थायी पसल राखेका थिए। शुक्रबार काठमाडौं महानगरको प्रहरीले एकाबिहानै पसल उठाइदिएकाले उनीहरू कहिले ग्राहक त कहिले नगर प्रहरी फेरि आउलान् भनेर बाटो हेरिरहेका थिए।
हामीलाई भेट्नेबित्तिकै अमृतले गुनासो पाखिहाले, 'अघिल्लो साल महानगरकै डरले यो मिठाइ बनाइनँ। त्यसअघि कोरोनाको डरले बनाइनँ। अहिले भने सबैले कर गर्न थाले। मैले बनाउँछु भन्ने थाहा पाउने कतिपयले त फोन नै गरेर बनाउन आग्रह गरे।'
अमृतले चिनियाम्ह किसिचाको पसल राख्ने भनेको वर्षको तीन-चार दिन मात्र हो। उनी काग तिहारदेखि लक्ष्मीपूजासम्म पसल राख्छन्। अरू बेला 'फास्ट फुड' को व्यवसाय गर्छन्। वर्षको तीन-चार दिन मात्र गर्ने परम्परागत मिठाइको व्यापारमा पनि महानगरको कडिकडाउ उनलाई चित्त बुझेको छैन।
अमृतले यो काम जानेको सानैमा हो। बाजे-बराजुकै पालादेखि यो मिठाइ बनाउँदै आएको उनी बताउँछन्। उनले बुबापछि दाइ हुँदै यो विरासत सम्हालेका हुन्।
अमृतकी श्रीमती मेनुकाका अनुसार दाजुभाइमा सम्पत्तिको अंशबन्डा भइसकेपछि दाइले परम्परागत मिठाइको काम गर्न अमृतलाई सल्लाह दिएका थिए।
'मेरो उमेर गइसक्यो, अब तिमीहरू बनाउने भए बनाऊ भन्दै जेठाजुले हामीलाई जिम्मेवारी दिनुभएको थियो,' उनले भनिन्।
अमृतले २४ वर्षअघि मेनुकालाई भक्तपुरबाट विवाह गरेर काठमाडौं ल्याएका हुन्। विवाहअघि माइतीमा उनले यस्तो मिठाइ कहिल्यै देखेकी थिइनन्। विवाहपछि उनले मिठाइ मात्र देखिनन्, बनाउने सीप पनि सिकिन्।
मिठाइमा विभिन्न आकार दिन काठको थासामा चिनी र रङ मिसाएर घोलिएको सामग्री राखिन्छ। थासा भनेको विभिन्न बुट्टा कुँदिएको मिठाइको आकार दिने साँचोजस्तै हो। थासामा आकृतिको अगाडिको मुख र पछाडिको मुख देखिने डिजाइन हुन्छ। त्यसको दुवैतर्फ सामग्री हालेर टमक्क पारेर सेलाउन दिएपछि तरल पदार्थ एउटा निश्चित आकृतिमा परिवर्तन हुन्छ।
'एकपटकको पाकमा करिब सात-आठ किलो मिठाइ बन्छ,' मेनुकाले भनिन्, 'एकपटक पाक बनाउनेबित्तिकै थासालाई बुरूसले माझेर पखाल्नुपर्छ अनि बल्ल पगालेको चिनी फेरि हालेर अर्कोपटक बनाइन्छ।'
यो मिठाइ थासामा हालेको करिब आधा घन्टापछि तयार हुन्छ। एकदम नाजुक हुने भएकाले मिठाइ फुट्ने धेरै सम्भावना हुन्छ। त्यही भएर एक ठाउँबाट अर्को ठाउँ लग्दा जतनसाथ लानुपर्छ। कतिपय मिठाइ त थासाबाट निकाल्दा निकाल्दै फुट्छन्, जसलाई जोड्न मिल्दैन। त्यसलाई फेरि तताएर पगालिन्छ र फेरि थासामा राखेर बनाइन्छ।
उनीहरूसँग यसरी मिठाइको आकार दिने थासा करिब ५०-६० वटा छन्। चिनी पग्लिएर जाने सामग्री भएकाले तिहारका लागि चाहिने यो मिठाइ धेरै अगाडिबाट बनाउन मिल्दैन। उनीहरू करिब १०-१५ दिन अघिबाट मात्र बनाउन थाल्छन्।
तिहारको समय चिनियाम्ह किसिचा बेच्न पहिला काठमाडौंमा अमृतको परिवारझैं थुप्रै मानिस हुन्थे। अहिले त मान्छे फेला पार्नै मुस्किल छ।
आफूले पनि संस्कृति जोगाउन मात्र यो काम गरेको बताउने अमृत भन्छन्, 'पहिला त मिठाइ पसलमा पनि यो मिठाइ किन्न पाइन्थ्यो। कतिले आफ्नो काम वा अन्य कारणले छाडे होलान्। कतिको त थासा पनि बिग्रियो होला! नभए यो मिठाइको लोकप्रियता पहिला कम्ता थिएन!'
अमृतका अनुसार यो मिठाइ देख्दा पहिला केटाकेटीहरू खुसी हुन्थे। गुलाबी रङको यो मिठाइ लक्ष्मीलाई मनपर्ने विश्वास थियो।
तिहारमा चिनियाम्ह किसिचाझैं उनको परिवारले माघे संक्रान्तिमा लड्डु, तिलौरी र सख्खरको ह्यामुग्वारा लगायत मिठाइ बनाउनुपर्ने हो। यो काम अहिले उनीहरूको जेठाजुको छोराले मात्र गर्छन्।
चिनियाम्ह किसिचा लक्ष्मीपूजा वा स्वन्ती नखःको समयमा महत्वपूर्ण भए पनि कतिपयले यसलाई म्हपूजा र भाइपूजामा पनि राख्ने गर्छन्।
'म्ह पूजा वा भाइपूजाको मण्डपमा एउटा राख्छु भनेर कसैले लानुहुन्छ। कतिले त यो परम्परा हटिसक्यो भनेर लानु हुन्न,' मेनुकाले भनिन्।
चिनियाम्ह किसिचा बनाउन सबभन्दा महत्वपूर्ण हो, चिनी। चिनीबिना यो मिठाइ बन्दैन। यसपटक चिनी अभाव भएकाले पनि अमृतलाई यो मिठाइ बनाउने वा नबनाउनेमा दुविधा थियो। त्यसबीच उनले वडाबाट सिफारिस लिए। दिनभर साल्ट ट्रेडिङमा लाइन बसे। अनि ४०-५० किलो जम्मा गरेपछि बल्ल यो मिठाइ बनाउन उनलाई जोस आयो।
'पहिला त हामीले सय, डेढ सय किलो चिनीको मिठाइ बनाउँथ्यौ। त्यो समय व्यवसाय पनि राम्रो थियो र पसल राख्न पनि डर थिएन। योपटक चिनी पनि नपाएकाले हामीले त्यति बनाएका छैनौं,' उनले भने।
काठमाडौंमा परम्परागत मिठाइ चिनियाम्ह किसिचा बेच्ने उनीहरू लगभग अन्तिम परिवार हुन्। आफूपछि यो मिठाइ बनाउने कोही नहोलान् भनेर मेनुकालाई चिन्ता छ।
'हाम्रा दुई छोराले अहिले हामीलाई यो काममा सहयोग गरिरहेका छन् तर भविष्यमा त यिनीहरूले पनि बनाउलान् भन्ने भर लाग्दैन। उनीहरू पढ्नमै व्यस्त छन्, भविष्यमा अरू नै काम गर्छन् होला। यसलाई निरन्तरता दिने वा नदिने उनीहरूको कुरा हो,' उनले भनिन्।
चिनियाम्ह किसिचा बेच्ने काममा सहयोग गर्न उनीहरूको एक जना छोरा पनि त्यस दिन आएका थिए। उनले छोरालाई नै सोधिन्, 'भोलिपर्सि तिमीले यो काम गर्छौ त?'
मेनुकाको प्रश्न सुनेर छोरा मुस्कुराए तर जबाफ फर्काएनन्।
(यो स्टोरी पुनः प्रकाशन गरिएको हो।)