कञ्चनपुरको लालझाडी गाउँपालिका-१ बिनबारीमा दस दिन अघि भएको हत्याको घटनामा प्रहरीले अझै सुराक भेट्टाएको छैन।
कात्तिक ९ गते बिनबारीका ४६ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला घरमै मृत फेला परेका थिए।
दुवैको शव अनुहार र टाउकोमा घाउ चोट लागेको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरिररहेको छ।
यद्यपि घटनाबारे प्रहरीले अहिलेसम्म कुनै सुराक फेला पारेको छैन।
१० दिन वितेपनि उक्त घटनाबारे प्रहरी अहिलेसम्म कुनै क्लु फेला पार्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।
अनुसन्धानको क्रममा गाउँलेहरूसँग सोधपुछ भइरहेको डिएसपी जोशीले जानकारी दिए। गाउँलेसँग सोधपुछ भएपनि अहलेसम्म सुराक नभेटिएको बताए।
‘अहिलेसम्म क्लु फेला परेको छैन, सोधपुछ कार्य भइरहेको छ, शंकास्पद व्यक्ति र मृतकको कल डिटेल पत्ता लगाउने काम भइरहेको छ,’ उनले भने।
समुदायबाट हत्यासँग सम्बन्धित सूचना जुटाउन समस्या भइरहेको उनले बताए।
‘सूचना दिन मान्दैनन् त्यसकारण अनुसन्धानमा चूनौती छ,’ डिएसपी जोशीले भने, ‘समय लाग्छ तर अपराधीलाई हामीले खोजेरै छोड्ने छौं, नयाँ क्लु भने फेला परेको छैन।’
पोष्टमर्टम रिपोर्टमा पनि बडायक दम्पतीको चोटकै कारण मृत्यु भएको खुलेको छ।
कात्तिक ९ गते बिहीबार बिहान कमलाको शव खाटमुनि भेटिएको थियो भने रमेशको शव खाटमै थियो।
घटना हुदा रमेशले संघर्ष गरेको हुन सक्ने प्रहरीको प्रभारम्भिक अनुसन्धानले देखाएको छ। यद्यपि घटना ठिक कतिबेला भएको भनेर अझै यकिन हुन नसकेको डिएसपी जोशीले बताए।
१० दिनसम्म पनि अपराधी पत्ता नलाग्दा स्थानीय त्रसित भएका छन्।
बिनवारीमा रमेश बडायकको संयुक्त परिवारको बसोबास छ। दाजु– भाइ छोरा भतिजा लगायतका परिवारका सबै सदस्य त्यहीँ बस्छन्। संयुक्त घर भन्दा दुई किलोमिटर टाढा सुख्खडमा रमेशले मदिरा र मासु पसल सञ्चालन गरेका थिए। सानो घरमा रहेको पसलमा उनी श्रीमती कमलासंगै बस्थे। त्यहि घरमा घटना भएको हो।
घटनाका दिन बडायकको जेठो छोरा निरज पनि राती साढे ८ वजेसम्म आमा बुवासंगै थिए।
त्यसपछि निरज आफू बस्ने सयुंक्त घर फर्के। सोही राति साढे ९ बजेतिर अर्कै गाउँका एकजनाले मृतक रमेशसंग फोनमा कुरा गरेको देखिएको छ।
यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।