उमेरले सात दशक पार गरिसकेका वृद्धहरू प्रायः घर, मठ, मन्दिर र चौतारीको वरिपरि जीवनका अनुभव गुनगुनाइरहेका भेटिन्छन्। गथासा, गुनासा र अनुभव सुनाइरहन्छन्।
उक्त उमेर समूहका कतिपयलाई घरको बलेसी पार गर्न मुस्किल हुन्छ। चौकुना पार गर्न सकस पर्छ। तर समाजमा त्यस्ता केही वृद्ध अनुहारहरू पनि छन् जो आफ्नो सिकाइ र अनुभवलाई फराकिलो बनाउने दौडधुपमा छन्।
उनीहरूले आफ्नो दैनिकी फेरेका छन्। उनीहरू चौतारा र मठमन्दिरमा होइन- विश्वविद्यालयका कक्षाकोठामा भेटिन्छन्। ती हुन्, ७९ वर्षीय दीनानाथ शर्मा र ७६ वर्षीय झलनाथ खनाल।
दुवै जना सक्रिय राजनीतिमा छन्। सत्ता राजनीतिका पनि उनीहरू चिरपरिचित अनुहार हुन्।
खनालले पार्टी सत्ता र मुलुकको बागडोरसमेत सम्हालिसकेका छन्। अहिले नेकपा (एकीकृत समाजवादी) को सम्मानित नेताको हैसियतमा सक्रिय राजनीतिमा छन्।
शर्मा भने माओवादी आन्दोलनका प्रखर नेता हुन्।
‘जनयुद्ध’ मार्फत् मुलुकको रूपान्तरणको सपनासँग गाँसिन पुगेका शर्मा राष्ट्रिय सभामा सांसद छन्। उनी राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का संसदीय दल नेता हुन्।
राजनीतिमा सक्रिय रहेका शर्माको एक वर्षयताको दैनिकी फेरिएको छ। बिहान उठ्नेबित्तिकै उनी राजनीतिज्ञ तथा समाजमा भिन्नभिन्न परिचय बनाएका व्यक्तित्वसँगको भेटघाट र कुराकानीमा व्यस्त रहन्थे।
अहिले पनि विषय उही हुन्छ तर ठाउँ र माहोल फरक छ। उनी एक वर्षयता बिहान साढे ६ बजे त्रिभुवन विश्वविद्यालयको बौद्ध अध्ययन (बुद्ध दर्शन) को प्राङ्गणमा पुग्छन्।
उनी अहिले एमए अर्थात् स्नातकोत्तर दोस्रो सेमेस्टरमा बुद्धदर्शन पढिरहेका छन्। उनी नियमित कक्षामा उपस्थित हुन्छन्। बुद्ध दर्शन पढ्ने विद्यार्थी ३२ जना छन्। तीमध्ये सात दशक पार गरेका उनी एक्ला विद्यार्थी हुन्। शिक्षक र साथीहरूले उनलाई बुढापाका व्यक्ति भनेर कहिले अनुभव गर्न दिएका छैनन्।
उनी कक्षाकोठामा दुवै (कम र पाका) उमेर समूहका विद्यार्थीसँग उत्तिकै घुलमिल छन्। शर्मा कक्षा सकिएपछि उनीहरूसँग बसेर गफगाफ गर्छन्। चिया नास्ता खान्छन्।
राजनीति, कला, साहित्य र समाजका विविध पाटाबारे कुराकानी गर्छन् र बिहान बिताउँछन्। यी कुराहरू समेट्ने अवसर भने उनको रहरले नै भेटाएको हो। उनीमा चार दशकअघिदेखि नै बुद्ध दर्शनको भोक थियो।
उनको आधा शताब्दी राजनीति र केही दशक शिक्षण पेशामा बित्यो। राजनीतिक यात्रासँगै अध्ययनलाई निरन्तरता दिने र ज्ञानको नयाँ क्षितिज उघार्ने उनीभित्र व्यग्र चाहना नभएको होइन। तर राजनीतिक कार्यभारले थिच्यो। उनले सँगै बढाउन सकेनन्।
उनले २०३७ सालमै स्नातक सकेका थिए। त्यतिबेला नै उनलाई बुद्धदर्शन पढ्ने रहर जागृत भएको थियो। तर २०४२ सालबाटै भूमिगत हुनुपर्यो। त्यसैले पढ्ने रहरलाई थन्काउनुपरेको उनी बताउँछन्।
‘भूमिगत राजनीतिले त्यतिबेला स्नातकोत्तर पढ्ने रहरलाई अधुरै छोड्नुपर्यो। २०६३ मा सरकार र माओवादीबीच शान्ति सम्झौता भएपछि बाहिर निस्किएँ। पढ्न खोज्दा स्नातकको प्रमाणपत्र नै भेटिनँ,’ शर्माले भने।
उनकाअनुसार २०६३ सालमा उनले स्नातकोत्तर पढ्न खोजेका थिए। स्नातकका प्रमाणपत्रका कुनै पनि कागजात फेला परेनन्। राजनीतिक भागदौड र व्यस्तताले कागजात कहाँ हरायो भन्ने उनले पत्तै पाउन सकेनन्।
प्रमाणपत्र नभेटिएसँगै उनको पढ्ने चाहनाले गति लिन सकेन। दराजमै थन्किए भनौं।
एकपटक जागेको रहरहरूलाई मेटाउन समय लाग्छ। उनलाई बेलाबेलामा स्नातकोत्तर पढ्ने रहरले झस्काइरहन्थो। उनलाई पढ्न पाए हुन्थ्यो भन्ने लागिरहन्थो।
‘गत वर्ष धुलाम्मै भएका र धमिला अक्षर देखिने भए पनि प्रमाणपत्र भेटियो,’ शर्माले भने, ‘त्यसपछि गत वर्ष त्रिभुवन विश्वविद्यालयमा बौद्ध अध्ययनतर्फ बुद्ध दर्शन पढ्न भर्ना भएँ।’
स्नातकोत्तर पढ्ने रहर ढिलै भए पनि पूरा भयो। त्यही खुसीले पनि होला विद्यालय आवतजावत गर्न कुनै कठिनाइ झेल्नु नपरेको उनको भनाइ छ।
मनले चाहेको कुराहरू गर्दा ससाना समस्यालाई ध्यान नदिने उनी बताउँछन्।
बागलुङ नगरपालिका वडा नम्बर १२ मा जन्मिएका उनको बाल्यकाल त्यहीँ बित्यो।
उनको परिवारमा कोही पनि सदस्य साक्षर थिएनन्। तर उनको मामाघरको हजुरबुबा प्रकाण्ड पण्डित थिए। धर्म ग्रन्थहरू पढ्थे। त्यही कारण उनलाई पनि बाल्यकालमा पढ्ने अवसर मिल्यो।
विद्यालय थिएनन्, हजुरबुबाको सिको गर्दै उनले १२/१३ वर्षको उमेर धार्मिक पुस्तक पढ्न सक्ने भएको उनी बताउँछन्। उनी १३ वर्षको हुँदा गाउँमा पहिलोपल्ट विद्यालय खुल्यो।
२०१६ मा सीधै कक्षा ४ मा भर्ना भए।
ग्रन्थ पढ्न आउने र सामान्य अंकगणित पनि आउने भएकाले सिधै कक्षा ४ मा राखिएको उनी बताउँछन्। ‘त्यतिबेला अक्षर चिन्नसक्नु ठूलो सफलता मानिन्थ्यो,’ उनले भने, ‘कक्षा ४ मा धेरै समय पढ्नुपरेन।’
उनकाअनुसार २०१६ माघ/फागुनतिर कक्षा ४ मा भर्ना भएका थिए। २०१७ मा को भदौमा कक्षा पाँचमा पुगे। उनको गाउँमा भने कक्षा ४ सम्म मात्र पढ्न मिल्थ्यो।
वि.सं. २०१७ मा उनको गाउँनजिकै त्रिभुवन मिडिल स्कुल खुल्यो। त्यहाँ भने कक्षा ७ सम्म अध्ययन गराइन्थ्यो। ७ सम्म अध्ययन हुने विद्यालयलाई त्यसबेला मिडिल स्कुल भनिन्थ्यो।
उनी २०१७ को भदौमा कक्षा ५ मा भर्ना भए।
त्यतिबेला एक वर्षसम्म एउटै कक्षामा पढ्नुपर्छ भन्ने कुनै नीति थिएन। शिक्षकहरूले कक्षा सारिदिन्थे। तीन महिना पढ्ना साथ उनले कक्षा ५ पास गरे। त्यसपछि भने थप अध्ययन गर्न उनलाई पोखरा झर्नुपर्थ्यो।
उनका हजुरबा–आमाले नै उनलाई पढ्नुपर्छ भनेर पोखरा पठाए। त्यहाँ एक वर्ष पढेपछि भारतको बनारस पुगेको उनी बताउँछन्।
२०२२ सालमा उनले भारतको बनारसबाट एसएलसी तहको अध्ययन पूरा गरे। इन्टरमिडियट (प्रविणता प्रमाणपत्र तह) पनि उनले त्यहीँबाट गरे। एसएलसीपछि भने उनी गाउँ फर्किएका थिए।
गाउँ फर्किएर उनी शिक्षण पेशामा आवद्ध भएका हुन्।
उनले स्नातक गाउँमै बसेर पढेका हुन्। उनी गाउँकै दात्री प्राइमरी स्कुलमा पढाउँथे। पढाउँदा पढाउँदै २०२८ सालमा लक्ष्मीनारायाण निम्नमाध्यामिक विद्यालयको प्रधानाध्यापक बने।
उनी राजनीतिक यात्रासँगै शिक्षक पेशामा पनि सक्रिय रहे। लामोसमय भूमिगत रहनुपर्यो। मार्क्सवादी दर्शन, साहित्य र राजनीतिमा लामो समय लगानी गरेका शर्माले आफ्नो जीवनको उत्तरार्द्धतिर बौद्ध दर्शनको औपचारिक विश्वविद्यालय शिक्षा यात्रा सुरू गरेका छन्।
२०४२ वैशाख २ देखि भूमिगत राजनीतिमा होमिएका शर्माले २०४६ चैत २७ सम्म भूमिगत राजनीति जीवन बिताएका थिए।
शर्मा २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा माओवादी दलको प्रमुख सचेतकसमेत भएका थिए। शिक्षण पेशा गरेका शर्मा प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिपरिषदमा शिक्षामन्त्री पनि बनेका थिए।
अहिले पनि अध्ययनसँगै राजनीतिमा पनि आफू सक्रिय रहेको उनी बताउँछन्।
वाम आन्दोलनमा लामो बाटो हिँडेका झलनाथ खनाल पनि अहिले लुम्बिनी विश्वविद्यालयबाट एमए गर्दैछन्। उनी अहिले चौथो सेमेस्टरमा बुद्धदर्शन पढिरहेका छन्।
पार्टीमा उनी अहिले पनि गण्डकी प्रदेशको इन्चार्ज हुन्। उनी राजनीतिक यात्रा र अध्ययनलाई दुवैलाई अगाडि बढाइरहेका छन्।
उनी भौतिक रूपमा कक्षामा उपस्थित हुँदैनन्। उनी अनलाइन कक्षामार्फत् स्नातकोत्तर गरिरहेका छन्। उनले तीनवटै सेमेस्टर उत्तीर्ण गरिसकेका छन्।
खनाल दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पढ्छन्। उनीसहित अनलाइन कक्षामा पढ्ने १२ जना छन्। उनले यसअघि पनि अनलाइन कक्षाबाटै तीनवटा सेमेस्टर उत्तीर्ण गरेका हुन्।
उनी बौद्ध दर्शनको विभिन्न विषयका लागि भने भौतिक रूपमा विद्यायमा उपस्थित हुन्छन्। अरूबेला भने घरमै बसेर पढ्छन्। उनी कलेज पढ्दादेखि नै विभिन्न दर्शनको बारेमा बुझ्न रूचि राख्थे।
उनीमा पनि २० को दशकदेखि नै दर्शनको भोक थियो। दर्शनले आँखा उघार्ने र समाज रूपान्तरणको बुझाइ स्पातिलो बन्ने उनको ठम्याइ थियो। ‘समाज परिवर्तन गर्नु छ भने दर्शनको अध्ययन गर्नुपर्छ भन्ने लागिरहन्थ्यो,’ उनले भने।
उनले हिन्दु, कपिल, किरात, शाक्य दर्शन पढिसकेका छन्। त्यसैले बुद्ध दर्शन पनि पढ्ने रहर जाग्यो। ‘त्यसैले ढिला भए पनि पढ्न थालेको हुँ,’ उनले भने।
अहिलेका युवाले देशमा कता जाँदैछ, कस्तो थियो भनेर बुझ्नु अत्यावश्यक छ। त्यो बौद्ध दर्शनमा छ भन्ने उनलाई लाग्छ।
‘नेपालीहरू विदेशमा भौतारिएर हुँदैन। नेपालमै केही गर्छु भन्ने जोश जागर र हिम्मतका साथ यहाँको अवस्था बुझ्नुपर्छ। माटो चिन्नुपर्छ,’ उनी भन्छन्, ‘समाज परिवर्तनका लागि बुद्ध दर्शन बुझ्नुपर्छ भनेर नै ढिलै भए पनि अध्ययन सुरू गरेको छु।’
पढ्ने रहर भयो भने जहिले सुरू गर्दा पनि हुन्छ भन्ने उनलाई लागिरहन्छ। ‘पहिला राजनीतिमा व्यस्त भएकाले पनि पढ्न पाइनँ त्यसैले अहिले दुवैलाई प्राथमिकता राखेर पढिरहेको छु,’ उनी भन्छन्।
उनी २०२३ सालमा मेची विद्यार्थी युनियनको सभापति बनेका थिए।
साथै २०३० सालमा स्नातक सकेका थिए। त्यसपछि उनी राजनीतिमा व्यस्त भएकाले अध्ययनलाई निरन्तरता दिन नसकेको बताउँछन्। उनले २०२७–०२८ सालमा बागलुङको गलकोट माविमा अध्यापनसमेत गरेका थिए। सोही विद्यालयमा चित्रबहादुर केसीसमेत पढाउने गर्थे। खनालले केही समय इलामको भानुभक्त माध्यमिक विद्यालयमासमेत पढाएका थिए।
२०४६ को व्यवस्था परिवर्तनको आन्दोलनपछि अन्तरिम सरकारमा कृषि, भूमि सुधार तथा व्यवस्था र वन वातावरण मन्त्री भएका थिए। २०५३ सालको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए।
२०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका खनाल २०३९ सालमै ३३ वर्षको उमेरमा नै तत्कालीन नेकपा (माले) को महासचिव भएका थिए। उनी २०४६ साल भदौसम्म पार्टी महासचिव रहे। २०४६ भदौ ९ देखि १४ सम्म चलेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव निर्वाचित भएका हुन्।
खनाल तत्कालीन माले–एमालेको चौथो, पाँचौं महाधिवेशनपछि पोलिट्ब्युरो सदस्य बनेका थिए।
खनाल २०६५ को बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट एमाले अध्यक्षमा निर्वाचित भएका थिए भने २०६७ माघ २० गते प्रधानमन्त्री निर्वाचित भएका थिए। उनको कार्यकाल ६ महिनामात्रै रह्यो।
त्यसपछि पार्टीको कार्यकारी भूमिकामा नरहेका खनाल सक्रिय राजनीतिसँगै अध्ययनमा निखारता ल्याउन लागिपरेका छन्।