होटलमा ग्राहक बढ्दा सञ्चालक खुसी हुनुपर्ने हो। तर फल्टुडेमा लामो समयदेखि होटल चलाइरहेका कमल रावतलाई भने ग्राहकको भिड बढ्यो भने तनाव हुन थाल्छ। ग्राहकलाई कसरी सेवा दिने भन्ने चिन्ताले सताउन थाल्छ।
कारण हो–खानेपानी।
फल्टुडे बजार सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पर्छ। यो कैलालीको चुरे गाउँपालिकामा पर्ने एक पर्यटकीय स्थल पनि हो। चुरे क्षेत्रको अर्गानिक कृषि उपज बिक्री वितरण गर्ने ठाउँका रूपमा पनि फल्टुडे चिनिन्छ।
अहिले यहाँको सबैभन्दा ठूलो समस्या खानेपानी बनिरहेको छ।
खानेपानीको अभावमा फल्टुडेको व्यापार, व्यवसाय संकटमा परेको व्यापारीहरू बताउँछन्। भीमदत्त राजमार्गको मुख्य व्यापारिक केन्द्रमै पानीको अभाव झेलिरहेको यहाँका व्यवसायीहरुले बताए। उनीहरुले बजारमा दिनहुँ दर्जनौं सवारीसाधन र सयौं यात्रुले आवतजावत गर्ने भए पनि खानेपानीको अभावका कारण सास्ती खेप्नुपरेको बताए।
रावतले अहिलेसम्म अन्यत्रबाट पानी ल्याएर होटल व्यवसाय चलाइरहेका छन्। चर्को भाडा तिरेर गाडी वा भरियामार्फत पानी बोक्न बाध्य भएको उनले बताए।
‘पानी नहुँदा धेरै मान्छेलाई खाना, नास्ता खुवाउन सकिदैन। सीमित मान्छेलाई मात्र खाना खुवाउनु पाइन्छ। होटलमा भिडभाड बढ्यो कि तनाव हुन थाल्छ,’ रावतले भने, ‘ग्राहकलाई कसरी खुवाउने भन्ने चिन्ता सुरु हुन्छ।’
पानीका लागि समय, पैसाको खर्च भइरहेको उनले बताए।
रावतकाअनुसार होटल भन्दा तीन/चार किलोमिटर टाढाबाट गाडीमा पानी ल्याउने गरेको छ। तैपनी त्यो पर्याप्त छैन। त्यो मुहानबाट ल्याएको पानीले नपुगे करिब १५ किलोमिटर परसहजपुर पुगेर पानी ल्याउनुपर्ने उनी बताउँछन्।
‘पानीको लागि नजिकै ठूलो मुहान छैन। सानो मुहानबाट लिफ्टिङ मार्फत् पानी ल्याइएको छ, त्यसले पुग्दैन। त्यो पानी फल्टुडे, बगैचलगडी, बयाला लगायतका तीन/चार ठाउँमा वितरण हुन्छ,’उनले भने।
होटलमा आउने कतिपय ग्राहकले पहाडको लोकल पानी माग गर्ने भएकाले मिनरल वाटरले काम नचलेको रावत बताउँछन्।
‘ग्राहकलाई पानी छैन भन्दा निकै अफ्ठ्यारो लाग्छ,’ उनले सुनाए, ‘कैलालीलाई सुदूरपश्चिमको सुगम जिल्ला भनिन्छ तर जनता पानीजस्तो आधारभूत आवश्यक सेवा पाउनबाट बञ्चित हुनुपरेको छ। यो त लजास्पद कुरा भयो।’
कैलालीको चुरे क्षेत्रमा पर्ने चुरे गाउँपालिका– ६ र ३ लगायतका ठाउँका स्थानीयले पानीका लागि संघर्ष गर्नुपरेको छ। उनीहरु पानी लिन डोटीको गोर्डुसम्म पुग्ने गरेका छन्।
फल्टुडेमै २०६१ सालदेखि अचार उद्योग चलाइरहेका हरिशंकर योगीलाई पानीको अभावका कारण उद्योग चलाउन समस्या भइरहेको छ। उनी यो ठाउँलाई प्रकृतीले पानीमा ठगेको बताउँछन्।
पहिले यहाँका स्थानीयबासी दुई घण्टा हिँडेर खोलाबाट पिठ्युमा बोकेर पानी ल्याउँथे। चार वर्षयता दुई किलोमिटर टाढा रहेको ठूलो खोलाबाट लिफ्टिङ मार्फत् गाउँ–गाउँमा पानी पुर्याउने काम भएको थियो। तर, त्यहाँको पानीको मुहानले फल्टुडे बजार, बर्गचुली, गडी, आधाचुली बस्तीको मागअनुसार पानी पुर्याउन सकेको छैन।
‘यहाँ पानीको अभाव त पहिलादेखिकै समस्या हो। जब लिफ्टिङ सञ्चालनमा आयो तबदेखि पानीका लागि दुःख गर्नुपर्ने दिन गए भन्ने सोचेका थियौं। तर, उस्तै पीर छ,’ योगीले भने।
पानी अभावको समस्या हटाउन संघीय सरकारबाट पहल भइरहेको सुनिएपनि काम नभएको गुनासो उनको गुनासो छ।
योगीले चालु आर्थिक वर्षमा संघीय सरकारले थप बजेट हाल्ने र अन्य ठाउँबाट पानी ल्याउने जानकारी पाएको तर काम हुन नसकेको बताए।
संघीय सरकारबाट बजेट विनियोजन गरेर पानीको अभाव हटाउन योगीको सुझाव छ।
सोही ठाउँका स्थानीय लालबहादुर महरासँग त पानीकै कारण कयौं पटक छिमेकी जिल्ला डोटीका स्थानीयको गाली खानुपरेको अनुभव छ। उनले पानीका लागि संघर्ष गरेको धेरै वर्ष भयो।
‘पानीका लागि डोटी जिल्लाको गोर्डु भन्ने गाउँमा जान्छौं, त्यहाँ पनि पानी प्रशस्त छैन। त्यसैले त्यहाँ गएर लाइन लाग्नुपर्छ। अर्को ठाउँका मान्छे आएर हाम्रो पानी लगे भन्दै स्थानीयको गाली, कचकच सुन्नुपर्छ,’ उनले भने।
प्रशस्त पानी पाइने मुहानबाट पानी ल्याउन सके समस्या हट्ने उनको बुझाइ छ।
पानीको अभावको असर जनताको शान्ति, सुरक्षाका लागि खटिएका प्रहरीहरू पनि उस्तै छ। इलाका प्रहरी कार्यालय फल्टुडे प्रहरी कार्यालयमा कार्यरत प्रहरीले पनि गाडीबाट पानी बोक्दै काम चलाइरहेका छन्।
बर्खायाममा समेत अभाव झेल्न बाध्य यो ठाउँ हिउँद शुरु भएसँगै काकाकुल हुन्छ। पुरानो मुहान सानो र त्यहाँ पानी घट्दै जानु, जनसंख्या बढ्नु लगायतका कारण यहाँ पानी अभाव सिर्जना भइरहेको हो।