धनगढीको रंगशाला नजिकै शहिद गेटदेखि क्याम्पचोक जाने सडकको छेउमा रहेको बेञ्च बसिरहेका छन् एक पुरुष। साथमा एउटा सानो र थोत्रो कालो रंगको झोला छ। खुट्टामा थोत्रा चप्पल लगाएका छन्। सर्ट, पाइन्ट पनि मैलो छ।
धनगढीमा चिसो बढ्दै छ। हुस्सु, कुहिरोले आकाश छोपिरहेको छ। ती पुरुष कठ्यांग्रिँदै कहिले बेञ्च त कहिले पसलको सटर अगाडि सुतेका देखिन्छन्।
उनी हुन् अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटका ३५ वर्षीय महापुरुष धामी।
भारतको मुम्बईमा हण्डर खाएर उनी देश फर्किएका रहेछन्। आफ्नै देशमा केही गर्छु भनी आएका महापुरुषको केही हप्तादेखि धनगढीमा सडकको बास भइरहेको छ।
महापुरुषका बुबा–आमा खेतीपातीको काम गर्थे। उनीहरू बितेपछि परिवारको बिचल्ली हुन थाल्यो। उनले कक्षा ३ भन्दा बढी पढ्न सकेनन्। आर्थिक अभावले घर जग्गा नै बिक्री गर्नुपर्ने भयो। घरविहीन भएपछि उनी फुपूको घरमा बस्थे। चार भाइमध्येका जेठा महापुरुषलाई जिम्मेवारीले किशोरावस्थामै मुम्बई पुर्यायो।
उनी आफ्नो सुन्दर भविष्यको कल्पना गर्दै मुम्बई हानिएका थिए। त्यहाँ उनले होटलमा काम पाए। त्यहीँ बिहे गरे। होटलको तलबले जीवन जेनतेन चलिरहेको थियो। केही वर्षमा श्रीमतीले उनलाई छाडिन्।
‘मासिक ६ हजार रुपैयाँ तलब तोकिएको थियो। तर पूरै तलब एकैचोटि आउँथेन। कहिले आधा आउँथ्यो, कहिले अझै कम। तै पनि आफूलाई खर्च धानिरहेको थिएँ। बेला–बेलामा फुपूको घरमा आइरहन्थेँ। श्रीमतीले छाडेपछि म एक्लो भएँ,’ महापुरुषले भने, ‘तै पनि एक्लै संघर्ष गरिरहेँ।’
समयमै तलब नदिने होटल साहुको व्यवहारले दिक्क बनिरहेका थिए उनी। डेढ दशक बढी काम गर्दा पनि पैसा बचत गर्न नसक्दाको पीडा बढिरहेको थियो।
‘न कमाइ, न खुसी, न त शरीरमा सन्चो भयो। यहाँ बस्नभन्दा बरू गाउँ नै ठीक जस्तो लाग्यो। साहुसँग विवादै परेपछि त त्यहाँ बस्न मन लागेन। पाँच महिनाअघि म गाउँ फर्किएको थिएँ,’ उनले सुनाए, ‘अब म आफ्नै देशमै काम गर्छु, आफ्नै देशको हावापानीमा काम गर्दा स्वास्थ्यमा पनि सुधार आउँछ भन्ने सोचेर गाउँ फर्किएको थिएँ।’
घर फर्किंदा उनीसँग गाडी भाडा बाहेक केही थिएन। एउटा मोबाइल पनि नकिनी फर्किएका थिए उनी।
महापुरुष सिधै रिडीकोटमा रहेको फुपूको घरमा पुगे। एक महिना त्यहीँ बसे। खेतीपातीको काममा सहयोग गरे। त्यसपछि कामको खोजीमा साँफेबगर बजार पुगे। त्यहाँ होटलमा काम त पाए तर तलब मासिक दुई हजार रुपैयाँमात्रै थियो। त्यति पैसाले उनको जिन्दगी चलेन। त्यसपछि उनी राम्रो कामको खोजी गर्दै धनगढी आइपुगेका थिए।
‘धनगढी त प्रदेशको राजधानी हो। काम पाइहालिन्छ भन्ने सोचेको थिएँ। होटलको काम जानेको हुनाले काम खोज्दै धेरै होटलहरू धाएँ। तर कसैले काम दिएन,’ महापुरुषले भने, ‘काम खोज्न थालेको एक महिना भयो। साथमा भएको केही पैसा पनि सकियो। अहिले सडकको बास भइरहेको छ।’
उनले गाउँमा घर, जग्गा केही नभएको र सहरमा काम पनि नपाएपछि आफू बेसहारा बनेको बताए।
‘१७ वर्षकै उमेरमा कमाउन भनेर विदेश जानुपर्यो। अरू तीन भाइ पनि भारततिरै छन्। तर कता छन् सम्पर्क छैन। आफ्नो घर, जग्गा नभएपछि अहिले मेरो हालत यस्तो भइरहेको छ,’ उनी भन्छन्, ‘परदेशमा दुःख परे सम्झिने आफ्नै घर हो। तर घरै नहुनेलाई त आफ्नै ठाउँ पनि परदेश जस्तो हुँदोरहेछ।’
आफ्नै देशमा केही गर्छु भनेर आउँदा झन् समस्यामा परेको महापुरुषले बताए। उनी अचेल जिन्दगीदेखि निरास देखिन्छन्। ठूलो स्वरले बोल्न नसक्ने भएका छन्।
‘साथमा पैसा नहुँदा केही गर्ने आँट पनि नहुने रहेछ। आफ्नो जिन्दगीदेखि धिक्कार लागिरहेको छ,’ दुःख पोख्दै उनले भने, ‘गाडी भाडाको जुगाड भए त फेरि मुम्बई नै फर्कन्थेँ। त्यहाँ काम त पाइन्थ्यो।’
मुम्बई फर्कन उनलाई गाडी भाडामात्रै पाँच हजार रुपैयाँ लाग्छ। अहिले उनी सडकको पेटीमा बसेर त्यो पैसा जुटाउने प्रयास गरिरहेका छन्।
‘काम पाइहालेँ भने त यतै गर्छु तर पाउँदै नपाए त अरू उपाय नै छैन। अहिले त कहिले बेच्नमा, कहिले अरूको पसल अगाडि सुत्ने गरेको छु। पानी खाने पैसा पनि छैन, खाना खान पनि पाएको छैन,’ महापुरुषले भने।
सुदूरपश्चिम प्रदेशबाट मानिसहरू काम खोज्दै भारत जाने गर्छन्। खुला सिमाना भएकाले वार्षिक कति मान्छे भारततर्फ जान्छन् भन्ने तथ्यांक सरकारसँग पनि छैन। तर बर्सेनि चार–पाँच लाखको हाराहारीमा नेपालीहरू कमाउनका लागि भारत जाने गरेको अनुमान छ। नेपालीहरू भारतको उत्तराखण्डदेखि, कालापहाड, उत्नागिरी, नयाँदिल्ली, मुम्बई, बैंगलुरूसम्म कामका लागि पुग्ने गरेका छन्। उनीहरूमध्ये कतिपयले भारतमै नोकरी गरेर जीवन गुजार्ने गरेका छन्।