सुनसरीमा बसले ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका-९ मा रहेको जनता स्कूलमा कक्षा ९ मा पढ्ने सम्झना यादवको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उनलाई कोशी लोकमार्गमा इटहरीबाट दुहबी जाँदै गरेको १-०१-००१ ख ४५७४ नम्बरको बसले इटहरी उपमहानगरपालिका-१० रिलाइन्स अगाडि ठक्कर दिएको हो। ठक्करपछि विद्यार्थीको मृत्युपछि उक्त क्षेत्र तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए।
उनका अनुसार स्थानीयले बस जलाएका छन् भने ढुंगामुढा प्रहार गरिरहेका छन्। लास उठाउन सकिएको छैन। अहिले चालकलाई रेक्यू गर्ने काम भइरहेको छ।
'अहिले ढुंगामुढा भइरहेको छ, अश्रु ग्यास प्रहार गरिएको छ,' उनले भने, 'हवाइ फायर भएको छ। तनाव ग्रस्त भएकाले सामान्य बनाउने प्रयास गरिरहेका छौं।'
उक्त झडपमा १० प्रहरी घाइते भएको उनले जानकारी दिए।