'भाइ, तिमीले पूर्णबहादुरको सारंगी फिल्मको गीत सुनेका छौ?' फोन उठाउनसाथ सुनिएको आवाजले विराज गन्धर्व अलमलमा परे।
फेरि सोधियो- सुनेका छौं कि छैनौं?
विराजलाई फोनमा कुराकानी गर्ने व्यक्ति हुन्- धर्मराज गन्धर्व।
विराजले जबाफ दिए, त्यो गीत सुनेको छु।
'सुनेको भए फिल्मको प्रचारप्रसारका लागि सारंगी बजाउन जानुपर्यो,' धर्मराजले भने। धर्मराजको कुराले विराजको खुसीको सीमा रहेन।
उनले झटपट हुन्छ भनेर जबाफ दिए। विराज प्रचारप्रसारमा जान इच्छुक भएसँगै धर्मराजले फिल्मका टोलीसँग त्यही दिन भेटाउने तयारी गरे।
फिल्मको टोलीसँग भेटघाट हुने भएपछि धर्मराजलाई भेट्न विराज बसुन्धारा गए। भेटमा उनले फिल्मको प्रचारप्रसार के, कसरी गर्ने लगायतका विस्तृत जानकारी दिएको विराजले बताए।
विराजले फिल्मको टिमसँग फोनमा कुराकानी पनि गरे।
'सारंगी बजाएपछि फिल्म प्रचारप्रसारमा लैजाने पक्का भयो, कलाकारहरूसँग काम गर्न पाउँदा खुसीको सीमा नै भएन, तत्कालै हुन्छ भनिहालेँ,' उनले भने। उनका लागि यो अवसर कुनै चिट्ठाभन्दा कम थिएन।
कात्तिक १५ गतेदेखि देशभर चल्ने चलचित्रका प्रचारप्रसारका लागि १० दिनजति हिँड्नुपर्थ्यो, पैसा पनि पाइन्थ्यो। पैसाभन्दा पनि कलाकारसँग हिँडडुल गर्न पाउने भएँ भनेर खुसी लागेको उनले बताए।
उनी फिल्मको टिमसँग पोखरा, दाङ, नेपालगञ्ज, गोरखालगायत जिल्ला पुगे। त्यहाँ कलाकारहरूदेखि दर्शकलाई नचाउन कुनै कसर बाँकी राखेनन्। उनले सारंगी बजाएका भिडिओहरू सामाजिक सञ्जालमा राखे, जुन हजारौंले हेरे।
कलाकारको टिम, दर्शकहरूले उनले बजाएको सारंगीको धुन मन पराएपछि थप चर्चा बटुले। उनी प्रचारप्रसारमा सहभागी भएको फिल्म अहिले सुपरहिट छ। यसले पनि थप खुशी लागेको उनले बताए।
अरूबेला महिनामै १५/२० हजारसम्म कमाउने विराजले चलचित्रको प्रचारप्रसारमा १०/१२ दिन हिँड्दा ३० हजार रूपैयाँ कमाए। पूर्णबहादुरको सारंगीमा सीमान्तकृत र उत्पीडित समुदायका मानिसहरूले आफ्नो सन्तानको उज्वल भविष्य सुनिश्चितताका लागि गरेको संघर्ष देखाइएको छ।
चलचित्रमा उत्पीडित र सीमान्तकृत समुदायका व्यक्तिले छोरालाई फरक पहिचान र समाजमा सम्मान दिलाउने सपना बोकेर गरेको संघर्ष देखाइएको छ।
विराज पनि आफ्नै भविष्य उज्ज्वल बनाउन संघर्षरत छन्।
पेट भर्नकै लागि बाल्यकालदेखि नै सारंगी रेटे। सारंगीकै धुनमा आफ्नो दुख, सुख र भोगाइहरू मिसाए र मानिसहरूलाई सुनाए। उनी अहिले १९ वर्षका भए।
दाङको घोराही उपमहानगरपालिका-११ मा जन्मिएका उनी कलौटे गन्धर्व र मुसी गन्धर्वका ६ सन्तानमध्येका कान्छा छोरा हुन्। ६ सन्तानलाई हुर्काउन कलौटेले पाँच दशक सारंगी रेटे। सारंगी बोकेरै २५ भन्दा बढी जिल्ला पुगेका छन्।
केही वर्षअघिसम्म विराजलाई नै लिएर उनका बाबुआमा काठमाडौं आएका थिए। उनीहरूले सारंगी रेट्दै सँगै गीत गाएका भिडियो सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले राखिदिए, यसबाट थप चर्चित भए। केही अघिसम्म सारंगी रेटेरै हिँड्थे।
'अहिले बुवाको शरीर गलेको छ, घरमै आराम गरिराख्नुभएको छ,' उनले भने। तर सारंगीप्रति उनको मोह यत्ति छ कि अहिले पनि घरमा कोही पाहुना आए सारंगीको धुन सुनाइहाल्छन्।
विराजले पनि मीठो धुन बजाउन बाबुबाटै सिकेका हुन्।
उनलाई याद भएअनुसार ६/७ वर्षकै उमेरदेखि सारंगी बजाउँदै बाबु सँगसँगै हिँड्न थालेका हुन्- विराज। बुवाले बजाएको हेर्थे, मिठो सुनिन्थ्यो। मलाई पनि त्यस्तै मिठो धुन निकाल्न कहिले सक्छु होला भन्ने लाग्थ्यो,' उनले भने।
लगाव र सिक्ने हुटहुटी भएर होला छोटो समयमै उनले बुवाले जस्तै बजाउन सिके।
'पहिल्यै राम्रो त कसरी बजाउन जान्नु! रेट्दा रेट्दै धुनहरू बन्दै गयो। बजाउँदा बजाउँदा धुन निखारिँदै गए र राम्रो हुँदै गए,' बिराजले भने।
धुन राम्रो बन्दै गएपछि सुन्नेहरूले २/४ पैसा बढी दिए। 'त्यसबाट अझै उत्साहित भएँ। बिहान उठ्नासाथ घरमा जे छ त्यही खाएर सारंगी बोकेर हिँडिहाल्थेँ, बेलुका मात्रै फर्किन्थेँ,' उनले भने।
सारंगी बजाएर कमाएको पैसाबाटै खाजा खान्थे। बचेकोजति आमालाई दिन्थेँ। पैसा ल्याएर दिन थालेपछि आमाले पनि रोकिनन् तर एक्लै नहिँड्न भनिरहन्थिन्।
'एक्लै नहिँड, साथीहरूलाई नछोड् भन्नुहुन्थ्यो,' उनले भने, 'त्यतिबेला बसमा चढ्न डर लाग्थ्यो। त्यसैले चौतारा र दुईचार जना मानिसहरू उभिएको ठाउँमा बजाउँथे।'
त्यतिबेला धुनमा धेरै मिठास हुँदैनथ्यो। दु:ख सुखलाई गीत बनाएर व्यक्त गर्न आउँदैनथ्यो। जसोतसो धुन निकाल्ने प्रयास गर्थे। मानिसहरूलाई झर्को लाग्ने भएकाले होला दुई/चार पैसा दिइहाल्थे। त्यसैले आफूलाई खर्च पुग्थ्यो। त्यही रहरले सारंगी बजाइरहन प्रेरणा मिलेको उनी बताउँछन्।
सानैमा सारंगी बजाउन रूचाएको देखेर उनका बुबाले कहिलेकाहीँ कसरी सारंगी धुनमा मिठास थप्ने भनेर सिकाए। त्योबाहेक उनले सारंगी बजाउन कहिले कतै सिकेनन्। जति बजाउँदै गए, त्यति नै धुनमा मिठास थपिँदै गयो।
गाउँ, टोल हुँदै उनी दाङ जिल्लाभर सारंगी बजाउँदै हिँड्न थाले। त्यसपछि छोटो दुरीका बसमा चढेर बजाउन थालेका थिए। बसमा बजाउँदा उनलाई थप सहयोग मिल्यो।
यात्रुहरूले उनको भिडिओ बनाइदिने, सामाजिक सञ्जालमा हालिदिन थाले। दिनहुँ नयाँ-नयाँ व्यक्तिले भिडिओ राखिदिन थालेपछि उनलाई गाउँ आसपासकाले पनि चिन्न थालेको उनी बताउँछन्।
सांस्कृतिक कार्यक्रम, भेला तथा घाम तापेर बसेका मानिसहरूलाई समेत उनले सारंगी बजाएर सुनाउँथे। दुई/चार जना मानिसहरू जम्मा भएका ठाउँमा सारंगीको धुना सुनाइहाल्थे।
८/९ वर्षको हुँदा उनी दाजुहरूसँग काठमाडौं आएका थिए। उनका दाजुहरू काठमाडौंमा बस्थे। दाजुहरूले सांस्कृतिक कार्यक्रम, दोहोरीसाँझमा सारंगी बजाउँथे। विराज भने काठमाडौंका विभिन्न मठमन्दिर, भीडभाड हुने ठाउँ र बसमा सारंगी बजाउन थाले।
काठमाडौं, ललितपुर, भक्तपुरका रूटमा चल्ने बसहरूमा चढेर उनले रमाइलो र विरहका गीत गाए। गीतको बीच बीचमा र्याप पनि गाउँथे उनी। सुन्नेहरूले पनि मन पराए।
सानै उमेरमा उनको कला देखेर यात्रुहरूले उनलाई प्रोत्साहन गरे। दाङमा मात्र होइन, काठमाडौंमा पनि उनले धेरै माया बटुले। यात्रुहरूले कहिले उनीमाथि नराम्रो व्यवहार गरेनन्।
सारंगी बोहेर सबेरै निस्कने उनी गोधूलिमा कोठा फर्किन्थे। उनी दाइहरूसँग बसुन्धारमा बस्थे।
बसमा सारंगी बजाउँदै हिँड्दा कहिलेकाहीँ सहचालकले गरेको व्यवहार सम्झेर अहिले पनि तीतो लाग्ने उनले बताए।
'बस खाली हुँदा पनि सहचालकहरू चढ्न दिँदैनथे। यात्रुहरूले भने कहिले नराम्रो व्यवहार गरेनन्,' उनले भने। कसैकसैले त सारंगी नबजाऊ पनि भनेका थिए।
सारंगीसँगै उनले गाएका गीत ध्यान दिएर सुन्ने यात्रुहरू पनि हुन्थे। 'सारंगीसँग अझै जोडिँदै गएँ, नबजाम् जस्तो लागेन,' उनले भने। उनले दुई/तीन वर्ष त्यसरी नै सार्वजनिक सवारी साधनमा सारंगी रेट्दै गीत गाएर हिँडे।
विराज दोहोरी पनि गाउँछन्। उनले विभिन्न कलाकारसँग गाएका दोहोरी युट्युबमा लाखौंले हेरेका छन्। ११ वर्षको हुँदा उनी सारंगी बजाउन साथीहरूसँगै गोपीकृष्ण हलमा पुगेका थिए। सारंगी बजाउँदै गर्दा कलाकार शिशिर भण्डारी त्यहाँ आए। उनले सोधपुछ गरे। बिराजले आफूबारे बताएपछि शिशिरले पढ्न सहयोग गर्ने बताएका थिए।
तर विराजसँगै सारंगी बजाउने उनकै गाउँका साथी पढ्न राजी भए। विराज भने गएनन्। 'कक्षा १० सम्म पढ्न सहयोग गर्ने भन्नुभएको थियो, गइनँ,' उनले भने, 'साथीले भने पढ्यो।'
उनलाई त्यतिबेला पढाइको महत्त्व थाहा भएन। सुनाइदिने र सम्झाइदिने पनि भएनन् सायद। सारंगी बजाएर थोरै भए पनि आम्दानी हुन थालेपछि पढ्नुपर्छ भन्ने कुरा ओझेलमा पर्दै गयो।
'दाइहरूले अवसर नपाएर पढ्नुभएन, मैले अवसर पाएर पनि पढिनँ। अब अहिले आएर पढाइँ सुरू गर्न पनि असजिलो हुने रहेछ,' उनले भने, '१२ वर्ष भइसक्यो सारंगी बजाएरै हिँड्न थालेको, यसमै भिजिसकेँ, यसलाई नै अगाडि बढाउँछु।'