रसुवाको केरूङ नाकाबाट ३ किलो सुन तस्करी गरेर काठमाडौं ल्याउँदै गर्दा गायब भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै अपहरण तथा शरीर बन्धक कसुरमा चार जनालाई पक्राउ गरेको बतायो।
रसुवाका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, ३८ वर्षीय नुर्पु सिंगी तामाङ, ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र ४८ वर्षीय गोपाल तामाङ पक्राउ परेको प्रहरीको भनाइ छ।
उनीहरूमाथि काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरीबाट असोज ४ गते रसुवाका निमा छिरिङ तामाङ र रामकृष्ण वाइवालाई अपहरण गरी बन्धक बनाएको आरोप रहेको प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।
तामाङ र वाइवालाई ट्याक्सीमा राखेर बूढानीलकण्ठको एक रिसोर्टमा लगेर बन्धक बनाइएको थियो। रातभर त्यहाँ राखेर उनीहरूमाथि उक्त समूहले कुटपिट गरेको प्रहरीको भनाइ छ।
रामकृष्ण वाइवा कन्टेनर चालक हुन्। निमा भने उनका मामाका छोरा पर्छन्। आफूहरूलाई अपहरण गरी कुटपिट गरेको भन्दै उनीहरूले जाहेरी दिएपछि चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि प्रहरीले अनुसन्धान गर्दा अपहरणको कारण सुन रहेको खुल्यो।
केही समयअगाडि रसुवाको केरूङ नाकाबाट तीन किलो सुन तस्करी भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। पक्राउ पर्नेहरू र जाहेरवाला दुवै पक्ष रसुवाकै हुन्। उनीहरूबीच पुरानो चिनजानसमेत रहेको देखिन्छ।
‘रसुवाबाट सुन तस्करी गर्ने समूहले कन्टेनरमा हालेर काठमाडौंमा पठाइदिएका रहेछन्। तीन किलो सुन चीनबाट तस्करी गरी भित्र्याइएको रहेछ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘तर सुन ल्याउँदै गर्दा निमाले राजश्वको टोलीलाई सुराक लगाएको भन्ने कुरा पनि छ।’
काठमाडौं पुग्न लाग्दा निमा सशस्त्र प्रहरी र राजश्वको टोलीसहित बालाजु पुगेका थिए। उनले कन्टेनर कहाँ पुगेको भनेर सोधीखोजी गरिरहेको पनि अनुसन्धानमा देखिएको छ।
‘उनी राजश्वको टोलीसँगै बसिरहेको हुन्छ तर खानीखोलाभन्दा माथि पुगेपछि चार जना आएर लुटपाट गरेको भनिएको छ,’ ती अधिकृतले भने, ‘सुन लुटपाट गरेको भनेपछि राजश्वको टोलीले चालकलाई पक्राउ गर्यो, सुराक दिनेलाई पनि पक्राउ गर्यो र अरू अहिले पक्राउ परेकामध्ये पनि केहीलाई समायो।’
राजश्व अनुसन्धान विभागले सुनको अनुसन्धान गर्न उनीहरूलाई ३१ दिनसम्म नियन्त्रणमा राख्यो। तर सुन फेला परेन। सुन गायब भएपछि उनीहरूलाई हिरासतबाट रिहा गरेको ती प्रहरीले बताए।
तर तिब्बतमा सुन पठाउने एक समूहले एक जना नेपालीलाई ‘धरौटी’को रूपमा नियन्त्रणमा लिएको थियो। जसलाई अझै पनि नछाडिएको ती अधिकृतले बताए।
‘सुन पठाउनका लागि चिनियाँले एक जनालाई धरौटीको रूपमा राख्ने रैछ,’ उनले भने, ‘सुन हराएको हुँदा त्यसलाई बरामद गर्न चार जनाले मिलेर कुटपिट गरे तर फेला परेन।’
तिब्बतमा रहेका एक जना नेपाली भने चिनियाँकै नियन्त्रणमा रहेको ती प्रहरी बताउँछन्।
पक्राउ परेकामध्ये बुद्धिबहादुर सुनको कारोबार गर्ने व्यक्ति रहेको र अन्य भने अपहरणका लागि पुगेकाहरू रहेको खुलेको छ। यस घटनाको थप अनुसन्धानका लागि प्रहरीले चारै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।