मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरबाट प्रहरीले २५ जनालाई नियन्त्रणमा लिएको खुलेको छ।
मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रसाईंलाई घरबाट नियन्त्रणमा लिएको थियो।
सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले प्रसाईंको घरबाट तीन वटा ल्यापटप र ९ वटा मोबाइल सेट पनि बरामद गरेको बताए।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोली पनि प्रसाईंको घरमा पुगेको थियो।
प्रसाईंको घरबाट प्रहरीले थप २५ जनालाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
जसमध्ये १५ जनालाई प्रहरीले मंगलबार साँझ नै छाड्ने तयारी गरेको छ। बाँकी १० जनामाथि भने थप अनुसन्धान हुनेछ।
‘नियन्त्रणमा रहेकाहरू आन्दोलन परिचालन समितिका सदस्यहरू छन्, उहाँहरूसँग सोधपुछ गर्ने काम भइरहेको छ,’ उनले भने। प्रसाईंले मंसिर ७ गते काठमाडौंमा आन्दोलन गर्ने तयारी गरेका थिए।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट 'प्रमाण' प्रसाईंले सार्वजनिक गरेका थिए।
प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि सिआइबीले मंगलबार प्रसाईंलाई पक्राउ गरेको थियो।
प्रसाईंमाथि अहिले विद्युतीय इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्ने प्रहरीको भनाइ छ।
उनीमाथि साइबर ब्युरोले अनुसन्धान गर्नेछ।
यो पनि: पटक-पटक साइबर अपराध गरेको पुष्टि भए प्रसाईंलाई हुन सक्छ साढे ७ वर्षसम्म कैद सजाय