‘देवीराम आरन’ मा देवीराम विश्वकर्माले खलाँती चलाउँदै कोइलाको भुंग्रोमा तातेको फलाममा हतौडा चलाउँछन्। उनको काममा श्रीमती मन्जु विश्वकर्मा सहयोग गर्छिन्।
रूपन्देहीको सैनामैना नगरपालिका–१, वनकट्टाका स्थायी बासिन्दा देवीराम र मन्जुले बुटवलमा आरन चलाएको १५ वर्ष भयो।
यस अवधिमा उनीहरूले कम्तीमा सात ठाउँमा आरन सारिसके। अहिले बुटवल उपमहानगरपालिका–११, देवीनगरमा एउटा छाप्रो बनाएर चलाएका छन्।
‘कोइलाको भुंग्रो बनाएर फलाम तताउनुपर्छ। अलि भिडभाड हुने ठाउँमा यस्तो काम गर्न गाह्रो हुन्छ। एकान्तमा खाली जग्गा चाहिन्छ,’ देवीराम भन्छन्, ‘चिनजानका मान्छेको जग्गा भएकाले आफैले टिन (जस्तापाता) को छाप्रो हालेर आरन चलाएका छौं। यो पनि छोड भनेका दिनमा छाडिदिनुपर्छ।’
उनको पुर्ख्यौली घर बाग्लुङको छिस्ती हो। उनका हजुरबा मनबहादुर गाउँमै आरन चलाउँथे। हजुरबापछि बुवा काजीमानमा सर्यो।
देवीराम हजुरबा र बुवाले आरनमा काम गरेको देखेर हुर्किए। उनी दिउँसो स्कुल जान्थे। बिहानबेलुका र फुर्सदको समयमा आरनकै वरिपरि हुन्थे। सकेको काम पनि सघाउँथे।
खलाँती चलाएर कोइलाको रातो भुंग्रो बनाउन पाउँदा उनलाई खुसी लाग्थ्यो। आरनमा बनेका औजार पुर्याउन हजुरबाको पछि लागेर घरघरमा पुग्थे।
पहाडमा बाली घरे प्रथा थियो। आरनमा वर्षभरि फलामका नयाँ औजार बनाइदिएको र पुराना मर्मत गरिदिएको पारिश्रमिक बापत वर्षमा एकपटक अन्न पाइन्थ्यो। चाडवाड र कुनै खास अवसरमा थोरै तिनो अतिरिक्त अन्न र खानेकुरा दिने चलन थियो। कहिलेकाहीँ पैसा पनि हात पर्थ्यो।
देवीरामले आठ कक्षासम्म पढेर स्कुल छाडे। उनी बुबाका साथ यही परम्परागत पेसामा लागे।
गाउँमा आरन चलाएर पाँच भाइछोराको पालनपोषण गर्न धौधौ भएपछि मनबहादुरले २०५५ सालमा बुटवल आएर आरन चलाउन सुरू गरे।
त्यसअघि देवीराम रोजगारीका लागि मलेसिया गएका थिए। पहिलोपटक घर छोडेर मलेसियाका लागि उड्दा उनी १७ वर्षका थिए। त्यहाँ उनले ६ वर्ष गार्मेन्ट कम्पनीमा काम गरे। त्यसपछि ग्यास उद्योगमा काम गर्न कतार गए।
तीन वर्ष कतारमा काम गरेपछि दुबई (युएईको ठूलो सहर) गएर अर्को तीन वर्ष काम गरे।
यसरी देवीरामले रोजगारीका १२ वर्ष विदेशमा बिताए। स्वदेश फर्केपछि आफ्नै परम्परागत पेसा आरनमा रमाएका छन्। यसमै १५ वर्ष बिताइसके।
पुख्र्यौली पेसाबाट जीविका चलाउन उनलाई सहज भएको छ। यसमा खुसी पनि छन्।
उनले भने, ‘मैले विदेशमा १२ वर्ष बिताएँ। मैले गरेका सबै काम मेरा लागि नयाँ थिए। आरन त मैले जन्मिँदै देखेको हो, मेरो आफ्नो सीप हो। योजस्तो सजिलो अरू केही पनि लागेन।’
विदेशी भूमिमा देवीरामले अनेक कठिनाइ र अपमान भोगे। हातमा अलिअलि पैसा भए पनि मनमा सन्तोष भएन। घरमा आमाबुवा र छोराछोरी बिरामी हुँदा भेट्न आउन त पाएनन् नै, धित मरून्जेल फोनमा कुरा गर्न पनि समय मिलेन।
उनी भन्छन्, ‘अर्काको काममा आफ्नो समय हुँदैन। यहाँ मेरो आफ्नै काम छ, आफ्नै समय छ। आफूखुसी काम गर्न पाउँछु। कसैको डर छैन। काम गर्दागर्दै अल्छी लाग्यो भने घर गएर सुत्छु। आरन बन्द गरेर चाडपर्व मनाउँछु।’
देवीराम र मन्जु सैनामैनामै बस्छन्। हरेक दिन बिहान आठ बजे घरबाट हिँड्छन्। दिनभरि आरनमा काम गर्छन् र साँझ घर पुग्छन्। बिहानको खाना आरनमै खान्छन्। बेलुका छोराछोरीका साथ घरमै खान्छन्।
उनीहरूले आफ्नो आरनको व्यावसायिक नाम ‘देवीराम आरन’ राखेका छन्।
मन्जु आरनको टहरमा बिहानको खाना बनाउँछिन्। खाना खाएपछि आरनको काम सघाउँछिन्। उनी खलाँती चलाउँछिन्, फलाम तताउन र पिट्न पनि सहयोग गर्छिन्।
उनीहरू आरनको कमाइले सन्तुष्ट छन्। चाडपर्व र कुलपूजाका समयमा निकै राम्रो कमाइ हुन्छ। बाबुबाजेका पालको जस्तो बालीमा काम गर्नु पर्दैन। काम सक्नासाथ नगदमै पारिश्रमिक प्राप्त हुन्छ।
‘विदेशमा दुःख गरेर हुने जति कमाइ आफ्नै ठाउँ सजिलै गरी हुन्छ,’ देवीराम भन्छन्, ‘मार हान्ने र बलि चढाउने दसैं र कुलपूजाको समयमा दिनमै १०–१२ हजार (रुपैयाँ) आम्दानी हुन्छ। अरू समयमा पनि कम्तीमा चार हजार त भइहाल्छ।’
देवीरामका अनुसार कोइला, फलाम, काठ इत्यादिको खर्च कटाएर उक्त आम्दानीको कम्तीमा आधा बचत हुन्छ।
‘एक क्विन्टल कोइला किन्न २२ सय रुपैयाँ लाग्छ। धेरै काम हुँदा दिनमै एक क्विन्टल सकिन्छ। फलाम र काठ पनि किन्नुपर्छ,’ उनी भन्छन्, ‘हरेक दिन सैनामैनाबाट बस चढेर आउजाउ गर्छौं। सबै खर्च कटाएर दिनमा तीन हजार (रुपैयाँ) सम्म बचत हुन्छ।’
उनका अनुसार दैनिक हुने यो बचत औसत हो। चाडपर्व, कुलपूजा र खेतीको मुख्य समयमा बढी आम्दानी हुन्छ।
देवीराम आरनमा खुर्पा, हँसिया, खुडा, दाउ, कोदालो, कुटो, तरबार, खुकुरी, फाली, फरुवा, बसिला, करौंती, छिनो, बन्चरो, चिम्टा लगायत अनेक घरेलु हतियार र केही कृषि औजार बनाउँछन्। पुराना हतियार मर्मत गर्छन्, धार लगाउँछन्।
देवीरामले सामान र काम अनुसारको दाम राखेका छन्।
‘एक दिनमा १२ वटासम्म हँसिया बनाउँछु। घाँस काट्ने एउटा राम्रो हँसियालाई ८ सय रुपैयाँ पर्छ। बिँडमात्र बनाउन १५० रुपैयाँ लिन्छु,’ उनले भाउको बेलिविस्तार लगाए, ‘नयाँ दाउको साइजअनुसार पाँच सयदेखि १२ सय रुपैयाँसम्म लिन्छु। पुरानो हतियार अर्जापेको (धार लगाएको) १५० रुपैयाँसम्म लिन्छु।’
उनी वर्षमा कम्तीमा पाँच दर्जन खुडा र खुकुरी बनाउँछन्। खुकुरी साढे दुई हजारदेखि साढे पाँच हजारसम्म र एउटा खुडा साढे पाँच हजादेखि १२ हजार रुपैयाँसम्ममा बेच्छन्।
उनी भन्छन्, ‘मैले सबैभन्दा धेरै बनाएर बेच्ने हतियार खुकुरी, खुडा र तरबार हो।’
उनका अनुसार गाउँघरमा हँसिया, बन्चरो, कुटो, कोदालो आवश्यक हुन्छ। सहरी क्षेत्रमा खुकुरी, दाउ, खुडा, तरबार घरमा राख्नेहरू हुन्छन्।
नयाँ फलामको भन्दा गाडीको स्प्रिङ पट्टाबाट बनेका हतियारको माग बढी हुन्छ। स्प्रिङ पट्टाको हतियार बलियो र धारिलो हुन्छ भन्ने विश्वास छ।
उनी भन्छन्, ‘एकैजनाले चारपाँच वटासम्म खुकुरी बनाएर लैजाने पनि छन्। तरबार र खोंडा बनाएर लैजाने धेरै हुन्छन्।’
देवीरामले विदेशमा कमाएको पैसाले सैनामैना र दुम्किबासमा २२ कट्ठा जग्गा किनेका छन्। घरव्यवहारको खर्च आरनको आम्दानीले धानेको छ।
‘हाम्रो परिवार ठूलो छ। बुबाआमा, दाजुभाइ सबै सगोलमा छौं। खर्च पनि ठूलै हुन्छ,’ उनी भन्छन्, ‘बुबाको पनि आरन छ। भाइहरूको जागिर छ, उनीहरू आरन चलाउँदैनन्। परिवार राम्ररी चलेको छ।’
पाँच दाजुभाइमध्ये देवीराम जेठा हुन्। देवीराम र मन्जुका पनि पाँच जना छोराछोरी छन्। जेठी छोरीको बिहे भयो। दुई छोरी र दुई छोरा पढ्दै छन्।
आरन पेसाप्रतिको सामाजिक दृष्टिकोण सुधार हुँदै गएको देवीरामको अनुभव छ तर पढालेखा युवाहरूले वास्ता नगर्दा यो परम्परागत पेसा लोप हुने खतरा बढेको उनले देखेका छन्।
‘धेरै नपढेको भएर होला, मलाई यही काम (आरन) प्यारो लाग्यो। मेरा भाइहरू पढेका छन्, उनीहरू अरू नै काम गर्छन्,’ उनी भन्छन्, ‘गाउँघरमा पनि आधुनिक प्रविधि अएको छ। पुर्ख्यौली पेसाहरू लोप हुँदै छन्। हाम्रो परिवारमा यो पेसामा म नै अन्तिम हुन्छु जस्तो छ।’
आरन पेसा गर्ने देवीराम एक्लै होइनन्, अरू पनि छन् तर सरकारी क्षेत्रबाट सहयोग छैन। उनी भन्छन्, ‘पुर्ख्यौली पेसा गर्नेहरूलाई गाउँपालिका र नगरपालिकाले औजारहरू दिएर सहयोग गरेको समाचार सुन्छु तर मैले अहिलेसम्म केही पनि पाएको छैन।’
सैनामैना नगरपालिकाले नगरभित्र चलेका आरनलाई दाउरा उपलब्ध गराउन सामुदायिक वनसँग सहजीकरण गर्ने गरेको भए पनि बुटवल उपमहानगरपालिकाले कुनै पहल नगरेको उनको भनाइ छ।
आरन पेसा गर्नेलाई सरकारले फलाम काट्ने मेसिन, कोइला फुक्ने इलेक्ट्रिक पंखा, हतौडा, सनासो जस्ता औजार दिनुपर्ने उनको धारणा छ।
यसो भयो भने पेसामा आकर्षण बढ्ने उनको विश्वास छ।