चीनले रक्षामन्त्री दोङ जुनमाथि भ्रष्टाचारको अनुसन्धान थालेको चर्चा चलेको भोलिपल्ट एक जना शीर्ष जनरलमाथि पनि छानबिन थालेको समाचार आएको छ।
बेलायती पत्रिका फाइनान्सियल टाइम्सले भूतपूर्व र हालका अमेरिकी अधिकारीको हवाला दिँदै दोङमाथि भ्रष्टाचारको अनुसन्धान सुरू भएको बुधबार खुलासा गरेको थियो।
त्यसको भोलिपल्ट रक्षा मन्त्रालयले विज्ञप्ति निकाल्दै राष्ट्रपति सी चिनफिङले नेतृत्व गरेको शक्तिशाली केन्द्रीय सैन्य आयोगका जनरल मिआओ हुआमाथि नियम र अनुशासनको गम्भीर उल्लंघन गरेको आरोपमा छानबिन थालिएको खुलासा गरेको छ। आयोगको राजनीतिक कार्य विभागका निर्देशक मिआओलाई अनुसन्धान सुरू भएपछि जिम्मेवारीबाट हटाइएको पनि मन्त्रालयले जनाएको छ।
मिआओलाई पछिल्लोपटक सार्वजनिक रूपमा अक्टोबर ७ मा देखिएको थियो भनेर हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले लेखेको छ।
६९ वर्षीय मिआओ १४ वर्षको उमेरमै जनमुक्ति सेनामा भर्ती भएका थिए। सन् २०१५ मा उनी नौसेनाको एड्मिरलमा बढुवा हुँदा सो पदमा पुग्ने सबैभन्दा कम उमेरका सैन्य अधिकारी बनेका थिए। उनी २०१७ देखि केन्द्रीय सैन्य आयोगको राजनीतिक कार्य विभागका निर्देशक थिए।
रक्षामन्त्री दोङमाथि भ्रष्टाचारको अनुसन्धान थालेको चर्चा चलेको भोलिपल्टै शीर्ष जनरल मिआओमाथि पनि छानबिन थालिएपछि यसले चीनको रक्षा क्षेत्रमा तरंग ल्याएको छ। दोङ भ्रष्टाचारको छानबिनमा परेका लगातार तेस्रो चिनियाँ रक्षामन्त्री हुन्।
राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार गरेको आरोपमा अक्टोबरमा २०२३ मा ली शाङ्फुलाई हटाएर डिसेम्बरमा दोङलाई रक्षामन्त्री बनाएका थिए। लीलाई हटाएको कुरा सार्वजनिक हुनुभन्दा अघि उनी हप्तौंसम्म हराएका थिए। त्यतिबेला पनि फाइनान्सियल टाइम्सले उनीमाथि भ्रष्टाचारको अनुसन्धान थालिएको पहिलोपटक खुलासा गरेको थियो।
लीभन्दा अघिका रक्षामन्त्री वेइ फेङ्गहीमाथि पनि पदबाट हटेपछि भ्रष्टाचारको अनुसन्धान गरिएको थियो। दोङ र मिआओमाथि छानबिन सुरू हुनुले सीले जनमुक्ति सेनालाई भ्रष्टाचारमुक्त बनाउने अभियान जारी राखेको देखाउँछ।
गत वर्षको अन्त्यमा लीलाई हटाएको बेलामा नौ जना जनरलहरूमाथि पनि सीले कारबाही गरेका थिए। त्यतिबेला सेनाको रकेट फोर्सका प्रमुख रहेका लीभन्दा अघिका रक्षामन्त्री वेइसहित रकेट फोर्सका अरू वरिष्ठ सैन्य अधिकारी पनि कारबाहीमा परेका थिए।
आणविक हतियारसहित आधुनिक मिसाइलहरूबारे हेर्ने रकेट फोर्स चीनको सबैभन्दा धेरै बजेट हुने सैन्य निकायहरूमध्ये पर्छ। त्यहाँ व्याप्त भ्रष्टाचारले चीनको सैन्य क्षमतामाथि नै गम्भीर असर पार्न थालेपछि सीले रकेट फोर्सका वरिष्ठ अधिकारीलाई कारबाही थालेका थिए।
अमेरिकासँग युद्ध हुँदा प्रयोग गरिने कतिपय मिसाइलमा तरल इन्धनको साटो पानी राखेको र अरू पूर्वाधारमा पनि भ्रष्टाचारका कारण धेरै कमजोरी भेटिएपछि सीले कारबाही सुरू गरेको भनेर पश्चिमा मिडियाले लेखेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)