रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गामका ५६ वर्षीय ओखवीर दमाइ आइतबार बिहान ९ बजेतिर खाना खाएर घरबाट काममा निस्किए। उनी केही समयदेखि झोलुङ्गे पुल निर्माणको काम गर्दै आएका छन्।
उनकी श्रीमती सुबित्रा परियार छोराछोरीलाई खाना खुवाएर झोलुङ्गे पुल निर्माणकै काममा निस्किइन्। श्रीमान् र श्रीमती एकै पुल निर्माणको काममा खटिए पनि भूगोल र जंगलका कारण उनीहरूबीच दिनभरजसो देखादेख हुन्थेन।
सुबित्रा घरदेखि करिब दुई सय मिटरमा रहेको क्षेत्रमा पुलको काम गर्थिन् भने उनका श्रीमान् ओखवीर पारिपट्टी मौला वन क्षेत्रमा काम गर्दै आएका थिए।
ओखवीर सधैंजस्तै आइतबार बिहान पनि झोलुङ्गे पुल निर्माणको काम सुरू गर्दै थिए। बिहान ९:५० बजेको हुँदो हो, ओखवीरको कानमा कोही कराएको आवाज पर्यो।
उनले निरन्तर कोही कराएको सुनेपछि पारितिर हेरे केही भेउ पाएनन्, काममै व्यस्त रहे। पुलको पारितर्फ भागमा उनकी श्रीमतीसहित परिवारका सदस्यहरू काम गर्थे। के भएको हो भनेर सोधिखोजी गर्न उनीसँग मोबाइल फोन पनि थिएन।
पारिबाट निरन्तर रूपमा कोही कराएजस्तो, रोएजस्तो आवाज आइरहेको थियो। यस्तो आवाज आइरहेपछि गरिरहेको काम छाडेर ओखवीरले पारिसम्म आँखा डुलाए। उनले प्रहरीहरू पुल निर्माण भइरहेको ठाउँतिर झर्दै गरेको देखे।
त्यसपछि भने उनी श्रीमतीसहित घरका अरू सदस्यहरू काम गरिरहेको ठाउँमा केही घटना घट्यो कि भनेर चनाखो भए। त्यो बेलासम्म पनि मानिस रोएको आवाज आइरहेको थियो।
केहीबेरमा प्रहरीहरूले पुल निर्माण भएको ठाउँमा खनेजस्तो देखियो। धुमिल दृश्य देखेपछि उनी आत्तिए। पुलका लागि काम भइरहेको पारि जान उनी पहाड उक्लँदै थिए। त्यही क्रममा स्थानीयहरू उनलाई बोलाउन आइपुगे।
स्थानीयहरूले माटोको ढिस्को खसेर पुलको निर्माणाधीन टेवा पर्खाल भत्काएर काम गरिरहेकाहरूलाई पुरेको खबर सुनाएपछि ओखवीर छाँगाबाट खसेजस्तै भए। केहीबेरमा उनी पनि स्थानीयहरूसँगै घटनास्थल पुगे।
घटनास्थलमा श्रीमतीसहित घरका अन्य चार जनाको शव प्रहरीले पहिराबाट निकालेर राखेको थियो। उनकी श्रीमती, माइला र कान्छा भाइको साथै माइला भाइको बुहारीको मृत्यु भइसकेको थियो।
निर्माणाधीन पुलको टेवा पर्खाल भत्किँदा काम गरिरहेकाहरू पाँच जनाको मृत्यु भएको हो।
ओखवीरका दुई श्रीमतीमध्ये कान्छी श्रीमती पर्खाल भत्किँदा पुरिएकी थिइन्। सुबित्रासँग ओखवीरले दश वर्षअघि विवाह गरेका थिए। सुबित्राका तर्फबाट एक छोरी र एक छोरा छन् भने त्यसअघि जेठी श्रीमतीबाट ६ छोरी र एक छोरा छन्। जेठी श्रीमती छुट्टै बस्छिन्।
पुल बनाउने काममा खटिएकै समयमा ढिस्कोले च्यापेर कान्छी श्रीमतीको मृत्यु भएपछि साना छोराछोरीलाई कसरी पाल्ने र के गरी पढाउने भन्ने चिन्ता ओखवीरलाई छ।
पुल निर्माणको काम गर्दागर्दै पुरिएर मृत्यु भएकाहरूको घरमा स-साना बालबच्चा छन्। पुल निर्माणको ठेक्का पाएकाले आफूहरू र बालबालिकालाई राहत दिनुपर्ने उनले बताए।
‘पुल बनाउने काम गरिरहेका मेरो परिवारसहित आफन्तहरूका स-साना बालबच्चा छन्। उनीहरूलाई ठेकेदारदेखि सरकारले सहयोग गर्नुपर्छ,’ प्रहरीको मोबाइलमार्फत् सम्पर्कमा आएका ओखवीरले सेतोपाटीसँग भने।
पुल निर्माणमा ओखवीरकी कान्छी श्रीमती सुवित्रा, माइलो भाइ ४५ वर्षीय दुजमान परियार, कान्छो भाइ ३१ वर्षीय ओम परियार र माइलो भाइकी बुहारी २७ वर्षीया आइती भनिने गुठी परियारको मृत्यु भएको हो।
सोही घटनामा मृत्यु भएका स्थानीय ६६ वर्षीय देविराम परियार भने ओखवीरका भिनाजु हुन्।
एकै घरका चार जनासहित पाँच जनाको मृत्युपछि सुनछहरी गाउँपालिका ३ बाहिरी गाम शोकमा छ।
प्रहरी चौकी गामका प्रहरी सहायक निरीक्षक प्रकाश विष्टले पाँचै जनाको शव पोस्टमर्टमका लागि लगिएको बताए।
छहरी गाउँपालिका ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको खाल्डो खनेर पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को आएर भत्किँदा कामदारहरूको मृत्यु भएको हो।
गाममा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो। झोलुङ्गे पुल निर्माणको काम एलबी एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले लिएको छ।
प्रहरी चौकी गाममा घटनाबारे जानकारीपछि प्रहरी सहायक निरीक्षक विष्टको नेतृत्वमा पाँच जनाको टोली खटिएको थियो।
प्रहरी टोलीले १०:३५ मा एकै घरका चार जनाको शव निकालेको थियो। दिउँसो १ बजेतिर ६६ वर्षीय देविरामको शव निकालिएको थियो। पुल निर्माणमा सात जना खटिएका थिए भने दुई जना बाँचेका छन्।