लोकतान्त्रिक सहर त्यो हो, जहाँ सडकभन्दा चौडा फुटपाथ हुन्छ। जहाँ गाडीभन्दा बढी पैदलयात्रुलाई महत्त्व दिइन्छ। जहाँ सडक विस्तार वा अरू कुनै किसिमको अतिक्रमणबाट फुटपाथ मुक्त रहन्छ।
एउटा भनाइ नै छ — सहरको फुटपाथ लोकतन्त्रको मानक हो।
काठमाडौंको कुरा गर्ने हो भने केही अघिसम्म यहाँको फुटपाथ साह्रै दरिद्र थियो। छकुने ब्लक छापिएका हुन्थे। टुटेफुटेका ब्लकले हिँड्न त गाह्रो हुन्थ्यो नै, सहरी सौन्दर्य पनि बिगार्थ्यो। अपांगतामैत्री त परै जावस्, ब्लकहरू पछ्याउँदै हिँड्दा कुन खाल्डोमा परिने हो टुंगो हुन्थेन।
त्यसमाथि फुटपाथकै बीचमा ठडिएका पोल, भुइँसम्म लत्रिएका तार र ढक्कन उघारेरै राखिएका मंगालले दुर्घटनालाई दिनदहाडै निम्तो दिइरहेका हुन्थे। बर्खामा त्यहीँबाट उर्लिएर निस्कने भेलले पैदलयात्रुसमेत बगाएका घटना काठमाडौं सहरका लागि नौलो थिएन।
अहिले यसमा बदलाव आएको छ।
काठमाडौं उपत्यकामा धमाधम नयाँ फुटपाथ विस्तार हुँदैछ। न्यूरोडदेखि सिंहदरबार आसपास, अनामनगरदेखि पुतलीसडक, तीनकुनेदेखि सिनामंगल र ललितपुरको पुल्चोक, जावलाखेलदेखि सहरका भित्री सडकमा समेत नयाँ फुटपाथ बनेको छ। यी फुटपाथमा छकुने ब्लकको सट्टा इँटा आकारको आयाताकार ब्लक (पेभर्स) बिछ्याइएको छ। रंगीचंगी ती ब्लक झट्ट हेर्दा नै 'आहा' भन्ने खालका छन्। त्यसले सौन्दर्य मात्र बढाएको छैन, पैदलयात्रुको मन पनि जितेको छ।
यस्तो फुटपाथ काठमाडौं उपत्यकामा मात्र सीमित छैन। भरतपुर, वीरगन्ज, विराटनगर, भैरहवा लगायत ठूला सहरका निर्माणाधीन सडकपेटीमा पनि यही रंगीचंगी ब्लक प्रयोग भइरहेका छन्।
काठमाडौं उपत्यका लगायत देशैभरि सौन्दर्य फिँजाउने नयाँ स्वरूपको यो फुटपाथ कहाँबाट थालनी भयो? कसरी भयो? यो स्टोरीमा हामी यसैबारे चर्चा गर्दैछौं।
काठमाडौं उपत्यकामा यो डिजाइनको फुटपाथ भित्र्याउने श्रेय 'एसियन कंक्रिटो' भन्ने कम्पनीलाई जान्छ।
एसियन कंक्रिटोले ललितपुर महानगरका केही मुख्य सडकबाट रंगचंगी आयाताकार पेभर्सयुक्त नयाँ डिजाइनको फुटपाथ थालनी गरेको थियो। यसका लागि महानगरले तोकेको ठाउँमा करिब ४२ लाख रूपैयाँ खर्चेर तीन सय मिटरको नमूना फुटपाथ बनाएको एसियन कंक्रिटोका प्रबन्धक श्याम झा बताउँछन्।
त्यहीँबाट यो डिजाइन काठमाडौं हुँदै देशका अन्य सहरमा फैलिएको उनको भनाइ छ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनसँग यसबारे कुरा गर्दा उनले फुटपाथमा रंगीन ब्लक प्रयोग गर्दाको रोचक प्रसंग सुनाए।
उनी आफ्नो पहिलो कार्यकालको सुरूआतदेखि नै फुटपाथको रंगरोगन बदल्न चाहन्थे। तर भनेजस्तो सामग्री बजारमा सहजै उपलब्ध थिएनन्। छकुने ब्लक आज छाप्यो भोलि उप्कने र ब्लक बिछ्याउन प्रयोग गरिने धुलो पानीले बगाएर भ्वाङ पार्ने समस्याले फुटपाथहरू भग्न हुँदै गएका थिए।
२०७७ सालको कुनै एकदिन एसियन कंक्रिटोका केही प्रतिनिधि ललिपुर महानगरको सम्पर्कमा पुगे। उनीहरूले ब्लक निर्माणमा केही मौलिक र रचनात्मक काम गरिरहेका थिए।
महर्जनले एसियन कंक्रिटोका प्रतिनिधिलाई एउटा प्रस्ताव राखे।
'मैले उहाँहरूलाई राष्ट्रसंघको नेपाल कार्यालय रहेको ठाउँ हरिहरभवन जाने सडकदेखि पुल्चोक क्याम्पस जाने घुम्तीसम्मको भाग देखाएँ र त्यहाँ डेमो (नमूना) फुटपाथ बनाउन भनेँ,' मेयर महर्जनले त्यति बेलाको घटना सम्झे।
महर्जनको प्रस्तावअनुसार एसियन कंक्रिटोले 'डेमो' निर्माण गर्यो।
फुटपाथको नयाँ ढाँचा तयार भएपछि उनले छिमेकी पालिकाका प्रमुख र प्रतिनिधिहरूलाई बोलाएर देखाए।
'यो शैलीको फुटपाथ टिकाउ र पैदलयात्रुलाई सहज हुने सुझाव सबैले दिएपछि हामीले अन्यत्र पनि यही ढाँचामा बनाउन थाल्यौं,' महर्जनले भने।
एसियन कंक्रिटोका प्रबन्धक श्याम झा यो डिजाइनको फुटपाथ लोकप्रिय हुनुमा ललितपुर महानगरको ठूलो हात रहेको बताउँछन्।
'चिरिबाबुजीको कार्यकाल डेढ वर्षजति बाँकी थियो होला। हामीले केही नयाँ डिजाइन देखायौं। उहाँले डिजाइन लिएर त धेरै जना भेट्न आउँछन्, तपाईंहरू फुटपाथको स्वरूप परिवर्तन गर्न सक्नुहुन्छ भने हामी ठाउँ उपलब्ध गराइदिन्छौं, त्यहाँ डेमो बनाएर देखाउनुस् भन्नुभयो,' झाले मेयर महर्जनसँगको कुराकानी सम्झे, 'त्यति बेला फुटपाथमा छकुने ब्लक बिछ्याउने चलन थियो। हामीले त्यसलाई निकालेर रंगीबिरंगी आयाताकार ब्लक बिछ्यायौं। बीचमा दृष्टिविहीनहरूले प्रयोग गर्न मिल्ने आयाताकार टेक्सटायल पनि राख्यौं। यसले फुटपाथलाई अपांगतामैत्री बनायो।'
एसियन कंक्रिटोले बनाएको डिजाइन चित्त बुझेपछि त्यसलाई ललितपुर महानगरले सहरभरि कार्यान्वयनमा ल्यायो।
त्यसैबीच सडक डिभिजन कार्यालय काठमाडौंले पनि २०७८ सालमा तीनकुने क्षेत्रमा फुटपाथ बनाउन सुरू गरेको थियो। उसले पनि छकुने ब्लकको सट्टा आयाताकार पेभर्स नै बिछ्यायो।
सडक डिभिजन काठमाडौंका सूचना अधिकारी महानन्द जोशी ललितपुर महानगरमा रंगीन ब्लक छापेको देखेपछि त्यसैलाई अनुसरण गरेको बताउँछन्।
अब हामी चर्चा गरौं, सडकपेटीमा नयाँ बान्की थप्ने यो पेभर्स एसियन कंक्रिटोले कसरी भित्र्यायो?
एसियन कंक्रिटोका निर्देशक मनिष रूङ्गटा र पूर्वसञ्चालक (हाल दिवंगत भइसकेका) अनिल जटिया ब्लक निर्माणमा नयाँ प्रविधि खोजिरहेका थिए। त्यही क्रममा जर्मनको मासा ग्रुपले निर्माण गरेको पेभर्सबारे उनीहरूले थाहा पाए।
मासाले स्वचालित प्रविधिबाट गुणस्तरीय पेभर्स निर्माण गरिरहेको थियो। उनीहरूले त्यो प्रविधि नेपाल भित्र्याउने निश्चय गरे।
'त्यसका लागि उनीहरूले आफ्नो मापदण्डअनुसार प्लान्ट स्थापना हुनुपर्ने सर्त राखे। त्यसको गुणस्तर आफैले जाँच्ने सर्त पनि राखे,' झाले भने, 'ती सर्त मान्न मञ्जुर गरेपछि र त्यसको विश्वसनीय आधार देखाएपछि बल्ल समझदारीपत्रमा हस्ताक्षर भयो।'
मासा ग्रुपसँग समझदारी गरेपछि उनीहरूले पश्चिम नवलपरासीमा एसियन कंक्रिटोको प्लान्ट स्थापना गरे।
यो प्लान्टले जर्मन प्रविधिमा आधारित रहेर उच्च भारवहन क्षमतायुक्त, बाक्लो, पानी सोस्ने, गुणस्तरीय र रंगीचंगी पेभर्स बनाउन थाल्यो।
विभिन्न डिजाइनका पेभर्स बनाएर उनीहरू स्थानीय तह धाउन थाले। कसैले डिजाइन मन पराए, कहीँ भने नमूना फुटपाथ बनाएर मन जित्नुपर्यो।
'अहिले हामी काठमाडौं, ललितपुरसहित देशका अधिकांश महानगर र ठूला सहर रहेका उपमहानगरसँग सहकार्य गरिरहेका छौं,' झाले भने, 'फुटपाथ रंगीन र आकर्षक मात्र भएर पुग्दैन, सबैको पहुँचमा हुनुपर्छ। हामीकहाँ यसरी सोचिएकै छैन।'
उनका अनुसार डेढ अर्ब रूपैयाँ लागतमा जडान गरिएको प्लान्टले दैनिक पाँच सय टन कर्भ स्टोन, पेभर्स, ब्रिक्स, टेक्सटायल, ब्लक लगायत उत्पादन गर्छ।
अहिले एसियन कंक्रिटोले रूपन्देहीको लुम्बिनी क्षेत्रमा रंगीन ब्लक बिछ्याइरहेको छ। ५० करोड रूपैयाँ ठेक्कामा उसले यो काम गरिरहेको हो। यो सकेलगत्तै अर्को चरण सुरू हुने र त्यसको लागत ३५ करोड हाराहारी रहेको झाले बताए।
काम विस्तार हुँदै जाँदा केही समयअघि मासाका प्रतिनिधि नेपाल आएका थिए। उनीहरूले प्लान्ट अवलोकन गरे।
'जर्मनमा भन्दा फराकिलो बजार र मापदण्ड पूर्ण पालना भएको देखेपछि उहाँहरू खुसी हुनुभयो,' झाले भने।
काठमाडौंमा कुन-कुन निकायले बनाइरहेका छन् त फुटपाथ?
काठमाडौं महानगरभित्र करिब १ हजार ३ सय किलोमिटर सडक छ। ८ मिटरभन्दा कम चौडा सडक महानगरको स्वामित्वमा पर्छ। त्यसबाहेकका सडक संघ र प्रदेशको क्षेत्राधिकारमा पर्छन्।
काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले जसको स्वामित्व भए पनि फुटपाथ प्राथमिकतामा रहेको बताए।
'अहिले हामीले स्वामित्वभन्दा पैदलयात्रुको आवश्यकतालाई ध्यानमा राखेका छौं,' उनले भने, 'पैदलयात्रुको सुगमता हेरेर फुटपाथमा रंगीन पेभर्स र कर्भ स्टोन प्रयोग गरिरहेका छौं। केही डिजाइन काठमाडौंका मौलिक हुन् भने केही अरू पालिकाको नमूना अनुसरण गरेका छौं।'
काठमाडौं महानगरले १७ खण्डमा फुटपाथ बनाइरहेको छ। महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यका अनुसार लैनचौरदेखि नारायणगोपाल चोक, प्रदर्शनीमार्ग, त्रिपुरेश्वरदेखि कलंकी, नयाँ बजार जग्गा एकीकरण आयोजना र बालुवाटार क्षेत्रमा फुटपाथ निर्माणाधीन छ।
त्यस्तै, तीनकुनेदेखि गौशाला, नयाँबानेश्वरदेखि पुरानो बानेश्वर, थापाथलीदेखि कालिमाटी, बागबजारदेखि सिनामंगल, लैनचौरदेखि बालाजु, नक्साल भगवतीबहालदेखि नागपोखरीसम्म पनि महानगरले फुटपाथ बनाइरहेको छ। जडिबुटीदेखि पुरानो सिनामंगल, माइतीघर मण्डलदेखि तीनकुने र बालाजुदेखि विशालनगरसम्म पनि फुटपाथ निर्माणाधीन छ।
शाक्यका अनुसार काठमाडौं महानगरभित्र १ अर्ब २५ करोड ४७ लाख ६१ हजार रूपैयाँ लागतमा फुटपाथ निर्माण भइरहेको छ। महानगरले अहिलेसम्म ४३ किलोमिटर नयाँ फुटपाथ बनाइसकेको छ। यी सबै फुटपाथ बहुरंगी पेभर्स प्रयोग गरी बनाइएका हुन्।
काठमाडौंभित्र फुटपाथ बनाउनेमा महानगर मात्र छैन। सडक डिभिजन काठमाडौंले पनि बनाएको छ। सडक डिभिजनले यसबीच साढे ९ किलोमिटर फुटपाथ बनाएको त्यहाँका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।
नयाँ बानेश्वर-शंखमूल, बागमती करिडोर, दरबारमार्ग, पुतलीसडक, तीनकुने-कोटेश्वर, तिलगंगा-गौशाला, धुम्बाराही-गोल्फुटार, ताहाचल-छाउनी, बानेश्वर-तीनकुने लगायत ठाउँमा सडक डिभिजन काठमाडौंले फुटपाथ बनाएको हो।
ललितपुर महानगरले पनि सात किलोमिटर नयाँ फुटपाथ बनाएको छ। ठाउँ-ठाउँमा पेटी बनाउने काम जारी रहेकाले तथ्यांक अझै बढ्ने ललितपुरका मेयर महर्जनले बताए।
उनका अनुसार ललितपुर महानगरले नयाँ फुटपाथ बनाउन अहिलेसम्म करिब ७ करोड रूपैयाँ खर्च गरेको छ।