जनकपुरमा एक एक पुरूषको हत्या भएको छ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा पहिचान नखुलेको अन्दाजी ६० वर्षीय पुरुषको गएराति हत्या भएको प्रहरीले जनाएको छ।
शवको प्रकृति हेर्दा टाउकोमा इट्टा प्रहार गरी उनको हत्या भएको देखिएको धनुषाका एसपी भुवनेश्वर तिवारीले बताए।
‘उनी मागेर खाने व्यक्ति हुन्। मन्दिर छेउमै राति आएर सुत्ने गर्थे। बाहिरबाट अर्को व्यक्ति आएर उनी सुत्ने ठाउँमै रक्सी र चुरोट खाएछन्। त्यसै क्रममा झगडा हुँदा उनको हत्या भएको हाम्रो अनुमान छ। राति होहल्ला भएको स्थानीयले पनि सुनेका थिए। घटनास्थलमा रक्सीको बेतल, चुरोट, चप्पलहरु फेला परेको छ,’ एसपी तिवारीले भने।
सामान्य होहल्ला भएको भन्दै स्थानीय भने घरबाट ननिस्किएको उनले बताए।
एसपी तिवारीका अनुसार मन्दिर परिसरमा विहान योग गर्न जाँदा स्थानीयले शव देखेका थिए। अहिले कुकुर सहितको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।