रनियापुर दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा पर्ने सुन्दर गाउँ हो। यही गाउँमा छ चित्रबहादुर विश्वकर्माको घर।
हामी पुग्दा चित्रबहादुर बेल्चाले गिटी-बालुवा उठाउँदै सानो ठेलागाडामा भरिरहेका थिए। नजिकै डोजरले नाला खनिरहेको थियो। माटोमा नमिसियोस् भनेर उनी गिटी-बालुवा सार्दै थिए।
उनका छोरा अशोकले गिटी-बालुवा भरिएको गाडा गुडाउँदै अलि पर पुर्याएर घोप्ट्याए। त्यही बेला चित्रबहादुरकी श्रीमती, ५० वर्षीया तारादेवी घाँसको भारी बोकेर आइपुगिन्। हरियो घाँस देखेर होला खसीबाख्रा र गोठको दुहुनो भैंसी कराए।
मेहनतले खटिइरहेको विश्वकर्मा परिवारको दैनिकी सहज छैन। तर अचेल उनीहरू सबैको अनुहारमा एउटा सुखद मुस्कान देखिन्छ।
र, यो मुस्कानको कारण अशोक नै हुन्।
१९ वर्षीय अशोकले परिवारलाई मात्र होइन, पूरै गाउँलाई खुसी दिएका छन्। उनी र परिवारलाई बधाइको ओइरो छ। वास्तवमा अशोक अहिले गाउँका 'रोल मोडल' मानिन थालेका छन्।
अशोक हालै एमबिबिएस (चिकित्सा शिक्षामा स्नातक तह) पढ्न भर्ना धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका छन्। उनले पूर्ण सरकारी छात्रवृत्ति पाएका हुन्। उनको पढाइ पुस २५ गतेबाट सुरू हुनेछ।
'आमाबुबाले हामी छोराछोरीलाई पढाउन गरेको मेहनत मैले देखेको छु। उहाँहरूको पसिना खेर जान दिने छैन,' अशोकले भने।
गरिब परिवारका अशोकले रनियापुरकै सामुदायिक स्कुलबाट २०७७ सालमा एसइई उत्तीर्ण गरेका हुन्। त्यसपछि घोराहीको भरतपुरस्थित पद्मोदय पब्लिक माध्यमिक विद्यालयबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरे।
उनले कलेजमा निःशुल्क भर्ना पाएका थिए तर परीक्षाको नतिजामा दोस्रो भएपछि १२ कक्षामा शुल्क तिर्नुपर्यो। त्यसमा मामाले सहयोग गरे।
अशोकले डाक्टर बन्ने लक्ष्य राखेरै विज्ञान विषय पढेका हुन्।
'म आफ्नो र आफ्नो परिवारको प्रतिष्ठा बढाउन चाहन्थेँ। डाक्टर बन्ने लक्ष्यका पछाडिको मुख्य कारण यो पनि हो,' उनले भने।
तीन दाजुभाइमध्ये अशोक माइला हुन्। जेठा प्रदीपले स्नातक तहको पढाइ पूरा गरेका छन्। उनी लोकसेवा परीक्षाको तयारीमा जुटेका छन्। कान्छा हिक्मतले पनि अशोकले झैं विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरेका छन्। उनको पनि एमबिबिएस पढ्ने धोको छ।
अशोकले आफ्नो गाउँठाउँका मानिसले उपचारका लागि कष्ट भोग्नुपरेको देखेका छन्। दुर्गम क्षेत्रमा डाक्टर हुँदैनन्। उपलब्ध सीमित स्वास्थ्य सेवा पनि भरपर्दो छैन।
'हाम्रो गाउँमा अहिलेसम्म एक जना पनि डाक्टर छैन। म दुर्गम ठाउँका सर्वसाधारणको सेवामा लाग्न चाहन्छु,' उनी भन्छन्।
अशोकका लागि किताबकापी किन्नबाहेक सबै सुविधा निःशुल्क हुनेछ। तर किताबकापी किन्ने पैसा जुटाउन पनि ऋण नै खोज्नुपर्ने अवस्था रहेको उनले बताए।
पढाइमा सहयोग होस् भनेर हालै मामाले उनलाई एउटा स्मार्ट फोन किनिदिएका छन्।
तुलसीपुर उपमहानगरपालिकामा दुर्गम मानिने रनियापुर गाउँ तुलसीपुर बजारबाट करिब ३० किलोमिटर दक्षिणमा पर्छ। अशोक र उनका दाजुभाइले केही वर्ष मट्टीतेलले बल्ने टुकीको उज्यालोमा पढे। त्यसपछि ब्याट्रीबाट चल्ने बत्ती आयो। घरमा बिजुलीबत्ती पुगेपछि पढाइमा सजिलो भयो तर त्यसको पनि भर थिएन। कुन बेला बत्ती जान्थ्यो, थाहै हुँदैन थियो।
अशोक र उनका दाजुभाइले घरको काम सघाउँदै पढे। बुबाआमा बिहानै काममा निस्किन्थे र अबेर घर फर्किन्थे। दाजुभाइ आलोपालो खाना पकाउँथे र खाएर स्कुल जान्थे। कहिले त स्कुल पुग्न पनि ढिलो हुन्थ्यो। बेलुका पनि दाजुभाइ नै खाना पकाउँथे।
'हामी गाईबस्तु चराउन जाँदा पनि किताब लैजान्थ्यौं,' अशोकले भने।
चित्रबहादुर घर बनाउने मिस्त्री पनि हुन्। उनको जन्मथलो पश्चिम दाङको बाघमारे हो। तारादेवी भने रनियारपुरकै हुन्। बिहेपछि चित्रबहादुर करिब पाँच वर्ष कामका लागि भारत बसेका थिए। कमाएको पैसाले रनियारपुरमै १० कट्ठा जग्गा किने।
देशमा सशस्त्र द्वन्द्व चर्केको समय थियो। तारादेवी माइती परिवारै काठमाडौं बस्न गए। त्यसपछि चित्रबहादुर र तारादेवी त्यही घरमा बस्न थाले।
अंशबन्डा हुँदा तारादेवीले पाँच कट्ठा जमिन पाएकी थिइन्। भाइहरू काठमाडौंमा बस्ने भएकाले उनीहरूको जमिनमा पनि तारादेवीकै परिवारले खेती गरिरहेको छ। उनका भाइहरूले खेतीको आम्दानी माग्दैनन्। आर्थिक समस्या हुँदा सहयोग गर्छन्। भान्जाहरूलाई पढाइ खर्चमा पनि सहयोग गरेको तारादेवीले बताइन्।
चित्रबहादुर र तारादेवी जेठा छोरा सरकारी जागिरे हुने र माइला छोरा डाक्टर बन्ने दिनको प्रतीक्षामा छन्। कान्छा छोराको पनि डाक्टर बन्ने सपना छ।
'छोराहरू ज्ञानी छन्। कुनै काम पनि कहिल्यै नाइँ भन्दैनन्। राम्रै पढे। अब चाँडै जागिरे हुन्छन् भन्ने विश्वास छ,' चित्रबहादुर र तारादेवीले एकै स्वरमा भने, 'छोराहरूको सफलताले हामीलाई पनि ऊर्जा मिल्दो रहेछ।'