पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भूभागमा वर्षा भएको छ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार पछिल्लो चौबीस घन्टामा डडेलधुराको साहुखर्कमा १६.४, डडेलधुरामै ९ मिलिमिटर वर्षा भएको छ। दिपायलमा ५.६, मिलिमिटर वर्षा भएको छ।
पछिल्लो तीन घन्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशमा बदली भए पनि उल्लेख्य वर्षा नभएको उनले बताए।
पछिल्लो तीन घन्टामा चितवनको झुवानीमा ३.२ मिलिमिटर वर्षा भएको अर्यालले बताए।
सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्ला हिमपातको सम्भावना रहेको छ। बाँकी स्थानमा पनि चिसो बढेको उनले बताए।
जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टा सुदूरपश्चिम कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू तथा बागमती प्रदेश र मधेश प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको थियो।
त्यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरू साथै बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको प्रक्षेपण गरेको थियो।
साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन भनेको थियो।