मोरङमा हातखुट्टा बाँधिएको अवस्थामा एक जना महिला अचेत भेटिएकी छन्।
मंगलबार मध्याह्नमा कटहरी गाउँपालिका-२ स्थित बाँसको झ्याङमा एक जना महिला अचेत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
अन्दाजी २२ वर्षीया महिलालाई स्थानीयले हात-खुट्टा बाँधिएको अवस्थामा फेला पारेका थिए। उनको मुखमा पनि पट्टि लगाइएको थियो।
स्थानीयले देखेपछि प्रहरीलाई बोलाइएको थियो। प्रहरीले ती महिलालाई उपचारका लागि कोशी प्रादेशिक अस्पतालमा पठाएको थियो।
डिएसपी जोशीका अनुसार महिलाको कपडाहरू पनि केही च्यातिएका छन्। उनी जहदा गाउँपालिका-३ की स्थानीय हुन्।
घटनास्थल घरदेखि अन्दाजी दुई किलोमिटर टाढा छ।
मंगलबार बिहान झिसमिसेमै उनी घरबाट निस्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनी विवाहित समेत हुन्।
उपचारमा रहेकी महिलाको अवस्था सुधार भइरहेको हुँदा अब घटनाको कारणबारे अनुसन्धान हुने डिएसपी जोशीले बताए।
‘घटनामा सुरूमा हामीले अस्पतालमै पठायौं। अहिले सुधार भइरहेको हुँदा के भएको हो भन्नेबारे बुझ्दैछौं,’ डिएसपी जोशीले भने।