जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो। तर सवारी चालक अनुमति पत्र भने थिएन।
त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मंसिर २८ गते बिदा लिएर भक्तपुर आएका थिए दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा निमित्त कार्यालय प्रमुख आचार्य। तर सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै सधैंका लागि अस्ताए उनी।
सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुइँतलामा कोठाभित्र मृत अवस्थामा फेला परेका बाबु कुलप्रसाद र कान्छो छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या अभियोगमा प्रहरीले जेठा छोरा मिलन भन्ने रुपेश आचार्यलाई मंगलबार काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको छ।
सोमबार बिहानसम्म कोठा नखोलेको, परिवारका कोही पनि बाहिर नदेखिएको र मोबाइल समेत सम्पर्क नभएपछि सोमबार बिहान प्रहरीलाई खबर गरी कोठाको ताल्चा फुटाएर भित्र पस्दा बाउ–छोरा छुट्टाछुट्टै कोठामा मृत भेटिएका थिए।
कुलप्रसादको हत्यापछि सिरक ओढाएको र भान्छा कोठामा सुतेका प्रवीणको भने बीभत्स तरिकाले टाउकोमा सिलौटाले प्रहार गरी अनुहारनै चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ।
बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुबा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीय तुलसा आचार्य र घटनापछि दिक्तेलबाट बालकोट आइपुगेका छन्। मृतक कुलप्रसादकी पत्नी रेजिना आचार्य मात्रै होइन्, आचार्यको सिङ्गो परिवार र आफन्तजन सोमबारदेखि नै शोकाकूल बनेका छन्।
मङ्गलबार साँझ पशुपति आर्यघाटमा बाबुछोराको एकैपटक दाहसंस्कार गर्दा परिवार र आफन्तको शोक निकै पीडादायक थियो। ८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ती दिएर कोरा बारेर किरिया बसेपछिको पीडा पनि परिवार र आफन्तका लागि निकै कठिन बनेको देखिन्थ्यो।
घर झगडा कहिल्यै नसुनेको, परिवारभित्र कलह कहिल्यै नरहेको, माया र स्नेहमै अगाडि बढिरहेको अवस्थामा माया गर्ने आफ्नै बाबु र भाइको बीभत्स तरिकाले कसरी हत्या गर्नसक्छ भन्ने प्रश्नले यो परिवारलाई पटकपटक चिमोटिरहेको बताउँछन् मृतक परिवारका आफन्त दीपक पाण्डे।
कान्छो छोराको घरमा बस्दै आएका बुबा खडानन्द र आमा तुलसासँगै थिए गत शनिबार साँझसम्म कुलप्रसाद। साँझ जेठो छोराले मासु बनाएको छु बाबा खाना खान आउनुस् भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामै छाडेर छोराहरूको कोठामा पुगेका थिए उनी। बुबा र दुई भाइ छोराले शनिबार बेलुकाको खानासँगै खाएको तर अचानक राति यस्तो दुःखद घट्ना कसरी भयो? किन भयो? मृतकका परिवारजनले अहिले यही प्रश्न बारम्बार गरिरहेका छन्। रासस