रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्यायो। त्यसयता यहाँ प्लास्टिक र काठको गरी दुईवटा डुंगाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ।
पुछिघाटका अधिकांश मानिसहरूको खेतबारी सिन्धुलीको सुनाकोशी गाउँपालिकास्थित चैनपुरमा भएकाले यिनै डुंगाबाटै आउजाउ गरेर कृषिकार्य हुने गरेको छ। स्थानीयको दुःखमा सहारा बनेका डुंगा चालक भने यसबाट आफूहरूले कुनै सहुलियत नपाएको गुनासो गर्छन्। दिनभरि डुंगा तार्ने तर साँझ घर फर्कंदा रित्तो हात हुने भएपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताएको डुंगा चालक हिराबहादुर माझीको गुनासो छ।
‘दिनभर डुंगा तार्दा कसैले दया लागेर चिया खाऊ भनेर दिएको २०/५० भन्दाबाहेक अरू कुनै आम्दानी हुँदैन। जिल्ला प्रशासनले पनि पैसा लिन मिल्दैन भनेको छ न त हाम्रो जीविकोपार्जनका लागि कुनै निर्णय गरिएको छ। यस्तो अवस्थामा आफ्नो घरपरिवार कसरी चलाउनु?’
पुछिघाटको पुलभन्दा करिब दुई किलोमिटरभन्दा माथिको नदी क्षेत्रमा यी डुंगा चलाउने गरिन्छन्। अर्का डुंगा चालक साइते माझी पनि आफ्नो पारिश्रमिकका बारेमा कुनै निर्णय नहुँदा समस्या भएको बताउँछन्।
‘कहीँ कतैबाट कुनै किसिमको सेवासुविधा नपाएपछि हामीले गाउँमा पालो लगाएर डुंगा तार्ने व्यवस्था गरेका छौं तर त्यो पनि खासै प्रभाकारी भइराखेको छैन,’ उनले भने।
यसरी डुंगा तार्ने चालकलाई राज्यबाट कुनै सेवासुविधा नहुँदा मन लगाएर निश्चित समयमा काम नहुँदा बालबालिका तथा शिक्षकहरूलाई विद्यालय जानआउन समस्या भइरहेको स्थानीय शिक्षक इन्द्रबहादुर श्रेष्ठले बताए। ‘पालिकाले वा जिल्ला प्रशासनको विपद् व्यवस्थापन समितिले समस्या समाधान गरिदिनुपर्यो। चालकलाई तलब दिनुपर्यो नभए डुंगा तर्नेसँग निश्चित रकम उठाउन पाउने व्यवस्था गर्नुपर्यो। नत्र डुंगा बन्द हुने अवस्था आउँछ,’ उनले भने।
यहाँको डुंगाबाट सुनकोशी नदी तरेर खाडाँदेवी गाउँपालिका–४ का करिब २६ जना विद्यार्थी र शिक्षक सुनकोशी गाउँपालिकाको खाल्टेमा रहेको श्री दीर्घ प्रदीप माध्यामिक विद्यालयमा अध्ययन अध्यापन गर्न र पचासभन्दा बढी कृषकहरू दैनिकजसो वारपार गर्छन्। माझीलाई सन्तुष्ट पार्न नसक्दा समस्या भइरहेको स्थानीय विन्दा नेपालीले बताए।
स्थानीय विद्यार्थी विना माझीले विद्यार्थीले तालिमसमेत नदिएका डुंगा चालकसँग जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा अलिपर रहेको भत्केको झोलुंगे पुलमा झुन्डिएर थप जोखिमको सामना गर्दै दैनिकजसो आउजाउ गरिरहनुपरेको गुनासो गरे। लामो समयसम्म कुर्दा पनि डुंगा चालक नआउने भएपछि विद्यालयमा ढिला पुग्नुपर्ने र शिक्षकहरूको गाली खानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।