हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।
बिहीबार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले महाशाखाले जनाएको छ।
कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा मौसम सफा रहनेछ। गण्डकी प्रदेशका केही भूभागमा बदलीको सम्भावना रहेको महाशाखाले बताएको छ।