'रेस्टलेस लेग्स सिन्ड्रोम' भनेको एक किसिमको न्युरोजिकल समस्या हो। जसमा बिरामीले खुट्टामा असहज भएको महसुस गर्छ। त्यो महसुस गरेपछि असहजता हटाउनलाई उसले खुट्टाहरू चलाउन थाल्छ। यसलाई हामीले 'रेस्टलेस लेग्स सिन्ड्रोम' भन्छौं।
यदि बिरामी बसेको अवस्थामा अथवा सुतेको अवस्थामा अथवा राति निदाइरहेको अवस्थामा उसलाई खुट्टामा अलि असहज भएको जस्तो हुन्छ। त्यसले गर्दा उसले खुट्टा चलाउन थाल्छ। पलङमा सुत्दाखेरी खुट्टा बाहिर निकाल्ने अथवा खुट्टा माथि उचाल्ने अथवा खुट्टाहरू चलाइराख्ने खालको समस्या हुन्छ। यो भनेको फुर्सदको समयमा या आराम गरिरहेको अवस्थामा खुट्टाहरूमा केही असहज महसुस हुन्छ र त्यो असहज हटाउनलाई खुट्टा चलाउने हो।
खुट्टा चलाइरहँदा के हुन्छ भने निन्द्रा टुट्छ अथवा राति उठ्नुपर्ने हुन्छ। जसले गर्दा मानसिक चञ्चलता बढी हुने, निद्रा अपुरो हुने हुन्छ। निद्रा नभएपछि उसले आफ्नो दैनिक काम गर्न नसक्ने र धेरैजसो थकाइ महसुस हुने हुन्छ। यस्ता किसिमका रोग अहिले देखिँदै गएका छन्। जसलाई हामीले रेस्टलेस लेग्स सिन्ड्रोम भनेर भन्छौं। यो रोग पुरूषभन्दा महिलामा धेरै भएको देखिन्छ।
यो रोगका केही कारण यसप्रकार छन्:
-यो रोग वंशानुगत कारणले समेत हुन्छ।
-शरीरमा आइरनको कमीले देखिन्छ।
-गर्भावस्थामा हुने हार्मोनको परिवर्तनले हुन्छ।
-दिमागमा एक किसिमको डोपामिन नामको रसायको असन्तुलन।
- किड्नी, मधुमेह लगायतका दीर्घ रोग
-डिप्रेसन, एलर्जी लगायतका औषधीको असर
उपचार कसरी?
यसको उपचारका लागि कतिपय घरेलु उपाय हुनसक्छ। यसको लागि हामीले दैनिकी परिवर्तन गर्न सकिन्छ। जस्तो नियमित व्यायाम गर्ने, धुम्रपान, मद्यपान नगर्ने गर्दा केही सहज हुनसक्छ। त्यस्तै प्रशस्त मात्रामा खुट्टाको मसाज गर्ने अनि निद्रामा नियमितता जरूरी छ। यो समस्या कुनै रोगका कारण देखिने भएकाले त्यसको आधारमा औषधि लिनुपर्छ। त्यसका लागि चिकित्सकको परामर्श जरूरी छ। त्यस्तै आइरनको अभावले हो भने त्यसको औषधि खानुपर्छ।
'रेस्टलेस लेग्स सिन्ड्रोम' को समस्या धेरै बढिरहेको छ। विश्वमा यसको अनुसन्धान पनि उत्तिकै मात्रामा भइरहेको छ। 'रेस्टलेस लेग्स सिन्ड्रोम' को समस्या आरामको अवस्थामा देखिन्छ। यही रोग लाग्यो भनेर बिरामी आउँदैनन्। तर राति सुतिरहेको बेलामा खुट्टामा असजिलो महसुस हुन्छ अनि बिउँझिन्छु, कहिलेकाहीँ खुट्टामा केही बाँध्न पर्ने हुन्छ भन्ने जस्ता समस्या बताउँछन्। बिरामी साँझपख आरामले बसिरहेको हुन्छ तर त्यो बेला खुट्टामा केही बजेजस्तो,दुखेजस्तो हुने हुन्छ। जसले गर्दा बिरामीले थाहा नपाइकन खुट्टा हल्लाइरहन्छ। कुर्सीमा बसेको बेलामा समेत यस्तो हुन्छ अर्थात् थाहा नपाइकन हल्लाइरहेको हुन्छ।
('रेस्टलेस लेग्स सिन्ड्रोम' को समस्या र यसको उपचारबारे हामीले वीर अस्पताल र नेपाल कार्डियो गल्फुटारमा कार्यरत अर्थोपेडिक तथा ट्रमा सर्जन डा. ज्ञानेन्द्र शाहसँग भिडिओ कुराकानी गरेका छौं)