दक्षिण कोरियामा विमानस्थलभित्रै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।
स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो।
दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४७ पुगेको दक्षिण कोरियाको समाचार संस्था योनहाप न्युजले जनाएको छ।
दुई जनालाई भने जिवितै उद्धार गरिएको छ।
मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो। पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो। केहीबेरमै विमानस्थल धुवाँको मुस्लोले ढाकेको योनहाप न्युजले जनाएको छ।
जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए। दुर्घटनामा जहाज पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने बताइएको छ।
विमानस्थलका अधिकारीहरूले जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताएका छन्।