सौराहास्थित बाघमारा चौरमा शनिबार दिउँसो हात्तीहरूको भोज चलिरहेको थियो। पर्यटन व्यवसायीहरूले पालेका हात्तीहरू लामबद्ध भएर भोजका लागि राखिएका विभिन्न खानेकुरा खाइरहेका थिए।
हात्ती महोत्सव हेर्न पुगेका सयौं दर्शकहरू हात्तीलाई खाना खुवाउन, फोटो खिच्न खिचाउन व्यस्त थिए। मेरो ध्यान भने चञ्चलकलीतिर थियो। ३५ वटा हात्तीको बीचतिर थिई ऊ।
चञ्चलकली त्यही हात्ती हो जसको २०७९ चैत २१ गते रातको समयमा आफ्नै घरमा बसिरहेको बेलामा सुँड काटिएको थियो। हात्तीसारमा बाँधेको अवस्थामा सुँड काटिएपछि चञ्चलकलीले धेरै दिनसम्म पानीसमेत खान सकेकी थिइन। पशु चिकित्सक, वन्यजन्तु प्राविधिकहरूले रेक्टल विधि (मलद्वारबाट पाइप छिराएर पानी शरीरमा पानी पुर्याउने) बाट पानी दिएर उसको जीवन बचाएका थिए। काटिएको तीन दिनपछि पहिलो पटक सुतेकी थिई। ४ दिनपछि सुँडबाट पानी खान थालेकी थिई।
४८ वर्षे चञ्चलकली शनिबारको भोज कार्यक्रममा अरूभन्दा फरक देखिएकी थिइन। आफ्नो अगाडि राखिएका खानाहरू मज्जाले खाइरहेकी थिइन्। ऊ हृष्टपुष्ट र तन्दुरूस्त थिई।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक अमिर षडौलाले चञ्चलकली पुरानै अवस्थामा फर्किसकेको बताए। केही महिना उसलाई सुँडमार्फत आवश्यक काम गर्न निकै गाह्रो भएको उनले बताए। ‘अहिले ऊ सुँड काटिनुअघि गर्ने सबै काम गर्न सक्ने भएकी छ। हामीले सोचेकोभन्दा बढी प्रगति भएको छ,’ डा.षडौला भन्छन्।
चञ्चलकली सौराहामा रहेका घरपालुवा हात्तीहरूमध्येकै खतरनाक हो। उसको टाउको हल्लाइरहने बानी छ। आफ्नो नजिक कोही आइपुग्यो भने जे भेटायो त्यो टिपेर हान्ने धेरै चञ्चल भएकै कारण उसको नाम चञ्चलकली राखिएको थियो। माउतेबाहेक अरू उसको नजिक पर्न सक्दैनन्। शनिबारको भोजमा भने उसको व्यवहार त्यस्तो थिएन। ऊ खानामै व्यस्त थिई। मान्छेहरूले छुँदा पनि वास्ता गरेकी थिइन।
चैत २१ गते राति करिब ११ बजेतिर हात्तीको सुँड काटिएपछि माउते दीपक मर्दनीयाले हात्तीका मालिक खतिवडालाई फोन गरेका थिए।
स्वास्थ्यकर्मीहरू करिब १२ बजेतिर हात्तीसार पुग्दा हात्ती छटपटाइरहेको थियो। सुँडबाट रगत झरिरहेको थियो। चञ्चलकलीको सुँडको १६ सेन्टिमिटर लम्बाइ र ६४० ग्राम तौल रहेको सुँडको टुप्पो काटिएको थियो।
चञ्चलकलीको सुँड कसले किन काट्यो भन्ने विषयमा चितवन राष्ट्रिय निकुञ्ज र चितवन प्रहरीले अनुसन्धान गरे। तर केही पत्ता लगाउन सकेन।
तस्बिरहरूः