बाराको सिमरा विमानस्थलमा कार्यरत प्रहरी कार्यालय सहयोगी राजकुमार रूम्बाको हत्या भएको एक सातापछि आरोपितहरू पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ।
पुस ६ गते बिहान सवा ९ बजे जितपुर सिमरा उपमहानगरपालिका-११ स्थित बकुलियादेखि रमौली लोसन्डा जाने सडकमा एउटा कार भेटिएको थियो। कारभित्र रूम्बा मृत भेटिएका थिए।
उनको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जितपुर सिमरा-१९ का २७ वर्षीय पुरूषोत्तम कुमार दास, २० वर्षीय इन्द्रजित कुमार चौहान र श्रीकान्त तिवारी छन्।
पुरूषोत्तम जय माँ इन्जिनियरिङ वर्कसपका सञ्चालक हुन्। श्रीकान्त राष्ट्रिय अनुसन्धान कार्यालय बारामा दरबन्दी भई विमानस्थल कार्यालय सिमरामै कार्यरत विभागका अनुसन्धान अधिकृत हुन्।
कार्यालयका एसपी महेन्द्र खड्काका अनुसार यस घटनामा मुख्य आरोपी पुरूषोत्तम र सहयोगीका रूपमा इन्द्रजित देखिएका छन्।
बागमती प्रदेश ०१-०२८ घ ७६१६ नम्बरको कार श्रीकान्तको हो। त्यही कारभित्र रूम्बा मृत भेटिएका थिए। त्यसकै आधारमा मृतक परिवारले उनीविरूद्ध पनि किटानी जाहेरी दिएका हुन्।
प्रहरीलाई पुस ६ गते बिहान एउटा कारका चालक बेहोस अवस्थामा छ भनेर सूचना आएको थियो।
उक्त सूचनापछि जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराबाट टोली खटियो। अनुसन्धानको टोलीले हेर्दा घटना शंकास्पद देखिएको थियो। चालक रूम्बा थिए जो बेहोस नभई मृत थिए।
उनको टाउकोमा चोट समेत देखिएको थियो। चोट कुनै पेस्तोलबाट गोली प्रहार गरिएको जस्तो देखिन्थ्यो। तर टाउकोको पछाडिबाट गोली छेडिएको भने थिएन। त्यसैले गोली प्रहार नै भएको हो कि होइन भन्नेबारे पनि प्रहरीले यकिन गर्न खोजेको थियो।
मुचुल्का गरेर प्रहरीले रूम्बाको शव पोस्टमर्टमका लागि कोशी प्रादेशिक अस्पतालमा पठायो। त्यतिन्जेल प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो।
पोस्टमर्टम रिपोर्टमा पनि मृतकको टाउकोबाट एउटा गोली फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
रिपोर्टमा टाउकोमा गोलीबाट लागेको चोटका कारण मृत्यु भएको उल्लेख थियो।
गोली प्रहार गरी हत्या भएको पुष्टि भएसँगै प्रहरी थप अनुसन्धान थालेको थियो। त्यसैबीच प्रहरीले इन्द्रजित र पुरूषोत्तमलाई पक्राउ गरेको थियो।
इन्द्रजितले नै रूम्बालाई गाडी रिजर्भका लागि मगाएको खुलेको थियो। पुस ५ गते साँझ इन्द्रजितले उनलाई फोन गरेको प्रहरीको अनुसन्धानमा देखिन्छ।
फोन गरेपछि रूम्बाले राति करिब साढे ९ बजेतिर सदरमुकाम जाने भन्दै अधिकृत श्रीकान्तसँग गाडी लिएर गएका थिए।
'रूम्बाले पहिले पनि गाडी लिने गरेका थिए। गाडी लिएर गएपछि इन्द्रजित र पुरूषोत्तम पनि सँगै कारमै थिए। उनीहरू दुई जना साथी पनि हुन्,' एसपी खड्काले भने, 'सँगै जाँदै गर्दा बीच बाटोमा पिसाब फेर्नुपर्यो भनेर रोक्न लगाएको देखिन्छ।'
यसरी कार रोक्न लगाएपछि पुरूषोत्तमले पछाडिबाट गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी खड्काले बताए।
गोली प्रहार गरेर भागेका उनीहरूले पेस्तोल पनि खसालेको बयान दिएका छन्। उक्त पेस्तोल अहिले फेला पारेको छैन।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याको दुइटा कारण हुनसक्ने विश्लेषण गरेको छ। मृतक र पुरूषोत्तमबीचको पुरानो रिसइबी र लुटपाटको योजना समेत हुनसक्ने प्रहरीको भनाइ छ।
'दुई जनाबीच एक पटक पहिल्यै झगडा भएको भनेर पुरूषोत्तमले स्वीकार गरेका छन्,' एसपी खड्काले भने, 'लेनदेनको विषय भनेका छन्। तर कति रकमबारे हो भनेर भनेका छैनन्। अरू कारण केही छन् कि भनेर पनि अनुसन्धान हुँदैछ।'
पुरूषोत्तमको ऋण भएको खुलेको छ। घटनास्थलमा नभेटिएको मृतक रूम्बाको सुनको सिक्री र पर्स प्रहरीले पुरूषोत्तमको गोजीमा फेला पारेको थियो।
प्रहरीले यससँगै अन्य कारणबारे पनि अनुसन्धान गरिरहेको छ।