चीनले उच्च हिमाली क्षेत्रमा झन्डै ७० हजार मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको घोषणा गरेपछि त्यसले हिमाली जलवायुमा पार्ने असरबारे विश्वभर बहस सुरू भएको छ।
सगरमाथासहित विश्वकै उच्च हिमाल रहेको तिब्बतीयन क्षेत्रमा बन्न लागेको आयोजनाले भारत र बंगलादेश सबभन्दा धेरै चिन्तित छन्। किनभने, चीनले तिब्बतमा यो आयोजना बनाउन लागेको यार्लुङ स्याङ्पो नदी भारतमा ब्रह्मपुत्र र बंगलादेशमा जमुनाका नामले चिनिन्छ।
तिब्बतबाट तीन हजार किलोमिटर दुरी पार गर्दै यो नदी बंगालको खाडीमा मिसिन्छ। यो नदी किनारामा ११ करोड ४० लाख मानिस बसोबार गर्छन्। आफ्नो सीमा नजिक बन्न लागेको आयोजनामा भविष्यमा भूकम्प लगायतका कुनै घटना भए ठूलो क्षति पुग्ने त्रास भारतलाई छ।
नेपालमा पनि यो चिनियाँ महत्वाकांक्षी योजनाले पार्ने असरबारे लेखाजोखा सुरू भएको छ। यो आयोजनालाई लिएर नेपालमा अहिले मुख्य रूपमा तीन वटा प्रश्न खडा भएका छन्।
पहिलो, यो आयोजनाले नेपाल भएर बग्ने कुनै नदीलाई असर पार्छ कि पार्दैन? यसको पानीको बहाव तल माथि हुन्छ कि हुँदैन?
दोस्रो, यसले नेपालको हिमाली जलवायुमा जोखिम उत्पन्न गराउन सक्छ कि सक्दैन?
तेस्रो, नेपालले चीनसँग पनि विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको तयारी गरिरहेको छ। यस्तोमा तिब्बतीयन क्षेत्रमा बन्ने आयोजनाले नेपालको विद्युत व्यापारमा असर पर्छ कि पर्दैन?
यसबारे हामीले विज्ञहरूसँग कुराकानी गरेर यो ब्रिफिङ तयार पारेका छौं।
नेपाल, चीन, भारत, पाकिस्तान, अफगानिस्तान र म्यानमारसम्म फैलिएको ३५ सय किलोमिटर लामो हिमालयन क्षेत्रलाई 'वाटर टावर अफ एसिया' भनेर चिनिन्छ। यी क्षेत्रमा रहेका हिमालबाट महत्त्वपूर्ण नदीहरू उत्पत्ति हुन्छन्। तिनमा विश्वका झन्डै एक अर्ब ९० करोड मानिस निर्भर छन्।
नेपालको कोशी, गण्डकी र कर्णाली सँगै चीनले अहिले यो परियोजना निर्माण गर्न लागेको ब्रह्मपुत्र पनि यही हिमाली क्षेत्रबाट उन्पत्न हुन्छ। तर ब्रह्मपुत्र र नेपाल भएर बग्ने कोशी, गण्डकी र कर्णालीको पानीढलो (वाटरशेड) एउटै होइन। त्यसैले तिब्तीयन पठार हुँदै भुटानभन्दा पनि पर, म्यानमार नजिक पुगेर ब्रह्मपुत्र भारततर्फ मोडिन्छ। चीनले अहिले विद्युत उत्पादनका लागि 'द ग्रेट बेन्ड' भनेर चिनिने यही मोडिएको ठाउँमा आयोजना निर्माण गर्न लागेको हो।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अध्येता अरूणभक्त श्रेष्ठ चीनले बनाउने बाँधको नेपालसँग कुनै साइनो नभएको बताउँछन्। इसिमोड हिन्दु कुश क्षेत्रको हिमालयको अध्ययन गर्ने संस्था हो।
'ब्रह्मपुत्र नेपालमा आउँदैन। हाम्रा नदी सबै गंगा नदी बेसिनमा पर्छन्,' श्रेष्ठले भने, 'ब्रह्मपुत्र अरूणाचल भएर मात्र बंगालको खाडी आउँछ। त्यो त धेरै नै टाढा छ। त्यसको अपस्ट्रिम हिमालय क्षेत्रमा छ। नदी बेसिन फरक भएकाले प्रत्यक्ष प्रभाव पर्दैन। तर अरू प्रभावबारे अहिले नै अध्ययन नगरी समग्रतामा भन्न सकिँदैन।'
नेपालमा तिब्बत भएर आउने अरूण, तामाकोशी, सुनकोशी, त्रिशुली, भोटेकोशी, हुम्ला कर्णाली नदी पनि गंगा बेसिनमै भएकाले प्रत्यक्ष सम्बन्ध नरहेको श्रेष्ठले उल्लेख गरे। नेपाल र ब्रह्मपुत्रको बेसिनबारे खासै अध्ययन नभएको उनले बताए।
मध्यपश्चिम विश्वविद्यालयका डिन एवं जलवायु सम्बन्धी अध्येता सुदीप ठकुरी पनि ब्रह्मपुत्रमा बन्ने आयोजनाले नेपालको पानीलाई कुनै असर नपार्ने बताउँछन्। उच्च हिमाली क्षेत्रमा पार्ने प्रभावबारे भने अध्ययन नै गर्नुपर्ने उनको पनि निष्कर्ष छ।
'प्रत्यक्ष प्रभाव हामीलाई पर्छ जस्तो देखिँदैन,' ठकुरीले भने, 'तर ठूला बाँधहरू बन्दा सुक्ष्म जलवायु स्थितिमा प्रभाव पर्छ।'
ठकुरीका अनुसार ब्रह्मपुत्रमा ठूलो बाँध बन्यो भने सूर्यको प्रकाशका कारण पानी तातेर जलवायुमा भिन्नता आउन सक्छ। यस्तो अवस्थामा भने क्षेत्रीय रूपमा केही असर पर्न सक्छ। तर अहिले चर्चा भएजस्तै बाँध म्यानमारको सीमानजिक, भुटानभन्दा पनि पर बन्ने भएकाले नेपालको हिमाली क्षेत्रमा कस्तो प्रभाव पर्छ भन्ने आकलन गर्न मुस्किल रहेको उनले बताए।
ठकुरीले पाकिस्तान र अफगानिस्तानमा कृषिका लागि धेरै सिँचाइ आयोजना सञ्चालन गर्दा हरियाली बढेका कारण काराकोरम क्षेत्रमा हिउँ बढेको उदाहरण दिए। चीनले ठूलो बाँध बनाउँदा त्यस वरपर हरियाली बढ्ने अवस्था आए, जलवायुमा आउने भिन्नताले हिमाली क्षेत्रमा केही असर भने पर्न सक्ने उनले उल्लेख गरे।
जलवायु क्षेत्रमा प्रत्यक्ष प्रभाव नपरे पनि तिब्बतीयन क्षेत्रमा ७० हजार मेगावाटको आयोजना निर्माण गर्न लागेपछि चीनलाई विद्युत निर्यात गरेर आम्दानी गर्ने नेपाली आंकाक्षामा भने प्रश्न खडा भएको छ। केही समयअघि मात्र, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला नेपालको रसुवागढी हुँदै केरूङ जोड्ने प्रसारण लाइन निर्माण अघि बढाउने सम्झौता भएको थियो।
पूर्वजलस्रोत मन्त्री दिपक ज्ञवाली भने नेपालको विद्युत बेचेर धनी बन्ने ऊर्जा नीति नै 'पागलपन' भएको बताउँछन्।
'नेपालको जलस्रोतले ४२ हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ भनिन्छ। चीनले अहिले नै २० लाख मेगावाटको बिजुली उत्पादन गर्छ। भारतले झण्डै ५ लाख मेगावाट विद्युत उत्पादन गर्छ,' ज्ञवालीले भने, 'हाम्रो क्षमता त हात्तीको मुखमा जिरा भयो। हामीले ४२ हजार मेगावाट नै बनाए पनि भारत वा चीनका लागि कति हुन्छ? भारतलाई बिजुली चाहिए त जति पनि आयोजना बनाउँथ्यो नि! नत्र फलानो ठाउँबाट ३ मेगावाट लिन्छु, फलानो ठाउँमा चिनियाँ ठेकेदार भएकाले लिन्न भन्नु नै प्रमाण भएन र उसलाई बिजुली चाहिएको छैन भन्ने! भारत र चीनमा बिजुली बेच्ने नीति नै गलत छ।'
चीनले ब्रह्मपुत्रमा बनाउने आयोजनाका कारण नेपाल मात्र होइन, भारत समेत त्रासमा पर्न आवश्यक नभएको उनले बताए।
उनले थपे, 'भारतीयहरू पनि आत्तिनु पर्ने केही छैन। यो जलविद्युत आयोजना हो, सिँचाइ होइन। जलविद्युत आयोजनाले पानी खपत गर्दैन, बगेर जान्छ। बाँध बन्यो भने झन् फाइदा हुन्छ। किनभने त्यसले पानी जम्मा गर्छ र सुख्खा समयमा धेरै पानी हुन्छ।'
सैद्धान्तिक रूपमा जलविद्युत आयोजनाले पानी नियमन गर्ने भएकाले यसलाई फाइदाका रूपमा हेरिने ज्ञवालीले बताए।
चीनले ब्रह्मपुत्रमा बनाउने आयोजना धेरै पानी जम्मा गरेर बिजुली निकाल्ने जलाशययुक्त नभएर खोलामा पानीको बहावबाट निकाल्ने ‘रन अफ द रिभर’ आयोजना हो। त्यसैले तल्लो तटीय क्षेत्रका देशले विरोध जनाउनु नपर्ने भनेको छ।
तर भारतको जलविद्युत सम्भावनामा ब्रह्मपुत्रको योगदान करिब ४४ प्रतिशत छ। नदीजन्य स्रोतमा झन्डै ३० प्रतिशत छ। यस्तो नदीमा, आफ्नो सीमा नजिकै चीनले त्यति ठूलो आयोजना बनाउने भएपछि भारततर्फ हुने पानीको बहावमा असर पर्न सक्छ। पानीको बहावमा कमी भए भारत र बंगलादेशमा खानेपानी र सिँचाइमा प्रभाव पर्न सक्छ। सिँचाइका कारण खाद्यान्न उत्पादनमा समेत असर पर्न सक्छ।
यसबाहेक चीनले आयोजना बनाउने स्थल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्छ। ठूलो भूकम्प आएका बेला आयोजनाको संरचनामा क्षति भएर भारतमा प्रलयकारी बाढी आउने खतरा हुन्छ।
त्यसैले यसले भारतको भने टाउको दुखाएको छ।
यो पनिः चीनले ब्रह्मपुत्रबाट ७० हजार मेगावाट बिजुली उत्पादन गर्ने, भारतको टाउको दुखाइ