काठमाडौंमा जग्गा व्यवसायी विक्रम लामामाथि कुटपिट गरेको घटनामा प्रहरीले ज्यानमार्ने उद्योग र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ।
कात्तिक ११ गते लाजिम्पाटको इनोभा अस्पतालको पार्किङमा लामामाथि कुटपिट भएको थियो।
नुवाकोटको ककनी गाउँपालिका ६ घर भई टोखा नगरपालिका ३ बस्ने ३५ वर्षीय लामा जग्गा व्यवसायी हुन्।
उनको ज्यान मार्ने उद्देश्यले चार जनाले रडले शरीरका विभिन्न भागमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए। उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
तर अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथिको कुटपिटलाई संगठित अपराधकै शैलीमा भएको निष्कर्ष निकालेको हो।
गत शुक्रबार प्रहरीले सिन्धुलीका टीका भण्डारीलाई पक्राउ गरेको थियो। उनी कुनै समय गण्डकी प्रदेश सभाका सांसद राजीव गुरूङ अर्थात मनाङेका सहयोगीसमेत थिए।
यसअघि नै प्रहरीले मार्सल भनिने शैलेन्द्र तामाङ र निश्चल सुनारलाई पक्राउ गरेको छ। उनीहरूमाथि म्याद थप भई अनुसन्धान भइरहेको छ।
प्रहरीले मनाङेका सहयोगी टीकाको संलग्नताबारे खुलाएको भए पनि अहिलेसम्म मनाङेसम्मको कनेक्सन भने भेटिएको छैन।
आइतबार म्याद थप गर्नका लागि सरकारी वकिल कार्यालय काठमाडौंमा टिकालाई पेस गरिएको थियो। तर उनको भूमिकाबारे प्रष्टसँग नदेखिएको भन्दै सरकारी वकिलले म्याद थप गर्न मिल्ने/नमिल्नेबारे चासो व्यक्त गरेका थिए।
पछि अनुसन्धान अधिकारीले उनको भूमिका र कनेक्सन खुलाएपछि भने म्याद थप भएको हो।
यो घटनामा अहिलेसम्म मुख्य व्यक्ति लक्ष्मी राई देखिएकी छन्। उनी विक्रमकी आफन्त थिइन्। पारिवारिक सम्बन्ध बिग्रिएपछि विक्रमका दाइ र लक्ष्मीको सम्बन्धबिच्छेद भएको एक प्रहरी अधिकारीले बताए।
त्यही विषयलाई लिएर विक्रममाथि कुटपिट गर्न लक्ष्मीले मान्छे परिचालन गरी कुटपिट गर्न लगाएको प्रहरीको भनाइ छ। यही घटनामा मध्यस्थकर्ताको रूपमा टीका देखिएको प्रहरी परिसर स्रोतले बतायो।
‘टीकाको सिधै भूमिका देखिन्न तर उनी बीचमा बसेर काम गरेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो।
एक वर्षअघि पनि विक्रमलाई फसाउने प्रयास भइसकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। विक्रमलाई लागुऔषधको मुद्दामा फसाउने उनीहरूको तयारी थियो।
लामाको गाडीमा लागुऔषध हालेर प्रहरीबाट पक्राउ गर्न लगाउने उनीहरूको योजना बनेको अहिले प्रहरीको अनुसन्धानबाट देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।
‘लागुऔषध मुद्दामा फसाउन खोजेको भन्ने थाहा पाएपछि विक्रमले यसबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा खबर गरेका रहेछन्,’ ती अधिकृतले भने, ‘त्यतिबेला सागर कठायत भन्ने व्यक्ति पक्राउ परेका थिए। उनलाई टीकाले परिचालन गरेका हुन्।’
सागर कठायतलाई त्यतिबेला सिआइबीले अभद्र व्यवहारको मुद्दा चलाएर छाडिएको थियो।
परिसरले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ। प्रमुख अभियुक्त भनिएकी लक्ष्मी भने बेलायतको लन्डनमा रहेको प्रहरीको भनाइ छ।