कात्तिक ७ गते बिहान ११ बजेको हुँदो हो- निर्माण व्यवसायी विक्रम लामा लाजिम्पाटको इनोभा अस्पतालको पार्किङमा कार पार्क गरेर निस्कँदै थिए।
कारबाट निस्किएर केही अघि मात्रै बढेका थिए उनीको सामुन्ने एक युवक देखिए।
ती युवकले ज्याकेटको भित्री भागमा लुकाएर राखेको फलामको रड निकाले र विक्रममाथि अन्धाधुन्ध प्रहार गरे।
केहीबेरमा त्यहाँ अर्का युवक पनि आइपुगे। विक्रममाथि फलामको रडले प्रहार गर्न थाले। पार्किङको गेट बाहिर पनि थप दुई युवा उभिइरहेका थिए। भित्र विक्रममाथि दुई युवाले प्रहार गर्न थालेपछि उनीहरू पनि विक्रममाथि नै जाइलागे।
चार जनाले अन्धाधुन्ध प्रहार गरेपछि विक्रम ढले तर उनीहरूले फलामको रड प्रहार गर्न छाडेनन्। पार्किङ भएको ठाउँमा अरू मानिसहरू आएर हल्लाखल्ला गर्न थालेपछि उनीहरू त्यहाँबाट भागेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएका विक्रमलाई तत्काल इनोभा अस्पतालमा प्राथमिक उपचार गरेर ग्रिन सिटी अस्पताल पुर्याइएको थियो। त्यहाँ चार दिनको उपचारपछि उनको होस खुलेको थियो। अस्पतालबाट डिस्चार्ज भए पनि उनको टाउकोमा गम्भीर चोट लागेकाले नियमित फलोअपमा छन्।
घटनाको झन्डै तीन महिनापछि घटनामा संलग्नहरूविरूद्ध मुद्दा दायर भएको छ। सोमबार काठमाडौं अदालतमा घटनामा संलग्न ७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
प्रतिवादीहरूमा नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ४ का अजय लामा, बेलकोटगढीका शैलेन्द्र तामाङ, गोरखाको आरूघाट गाउँपालिका-७ का दीपक बरामु, गोरखाकै गण्डकी गाउँपालिका-४ का निश्चल सुनार, सुनसरीको धरान उपमहानगरपालिका-१३ कि ५० वर्षीया लक्ष्मी राई, धादिङ ज्वालामुखी गाउँपालिका-४ दोभानटारका रमेश सिलवाल र गोरखा आरूघाटकै सिजन अधिकारी छन्।
लक्ष्मी राई, रमेश सिलवाल, दीपक बरामु र अजय लामा फरार छन्। बाँकी तीन जना भने प्रहरीको नियन्त्रणमा छन्। विक्रम लामामाथि आक्रमणको मुख्य योजनाकार लक्ष्मी र रमेश रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
रमेशले चिनजानमा रहेको अजयलाई भनेपछि अजयले आक्रमणको योजना बनाएका थिए। उनले आफ्नो सम्पर्कमा रहेका युवाहरूलाई आफ्नो योजनामा सामेल गराएका थिए।
कसरी आक्रमण गर्ने भन्नेबारे दहचोकको कालु पाण्डे डाँडामा अजय, शैलेन्द्र, दीपक र निश्चल भेटेर योजना बनाएका थिए। योजनाअनुरूप उनीहरूले सुरूवातमा विक्रम लामा कहाँ-कहाँ जान्छन् भन्ने रेकी गरेका थिए।
अजयले एउटा स्कुटर र एउटा मोटरसाइकलको व्यवस्था गरेका थिए।
कात्तिक १६ गते राति १० बजे उनीहरूबीच पुनः कालुपाण्डे डाँडामै भेट भएको थियो। त्यतिबेला अजयले निश्चल, दीपक र शैलेन्द्रलाई मोटरसाइकलमा प्रयोग हुने फलामे सक दिएका थिए।
भोलिपल्ट अजय र शैलेन्द्रले विक्रम लामा चढेको कारलाई सामाखुशीदेखि पिछा गरेका थिए।
विक्रमले इनोभा अस्पतालको पार्किङमा कार पार्क गर्छन् भन्ने उनीहरूले थाहा पाएका थिए। सोहीअनुसार अजयले निश्चल र दीपकलाई पार्किङमा गएर बस्न भनेका थिए।
आक्रमणपछि घटनास्थलबाट भागेकामध्ये निश्चल सुनार कात्तिक ३० गते झापाबाट पक्राउ परेका थिए। उनी बिर्तामोडमा दुर्गा प्रसाईंको घरमा भाडामा बसेका थिए
'अजय र दीपकसँगै म नागढुंगाको बाटो हुँदै झापा पुगेको थियौं। बिर्तामोडमा कोठा खोज्ने क्रममा विर्तामोड नगरपालिका- ७ मा रहेको दुर्गा प्रसाईंको घरको भुइँतलाको फ्लाइट भाडामा लिएर बसेका थियौं। ३० गते पक्राउ गर्न प्रहरी पुग्दा अजय लामा र दिपक बरामु भागे,' निश्चलले बयानमा भनेका छन्।
यो घटनाको मुख्य योजनाकार भनिएको लक्ष्मी विक्रमकै पूर्व भाउजू रहेको खुलेको छ। अर्का प्रतिवादी रमेश सिलवाल लक्ष्मीका श्रीमान् हुन्।
बेलायतमा व्यवसाय गर्ने विक्रमका दाइ दिपेश लामा र लक्ष्मीबीच सन् २०१४ मै बेलायतमा विवाह भएको थियो।
उनीहरूबीच सन् २०२२ मा सम्बन्धविच्छेद भएको थियो। सम्बन्धविच्छेद हुनुमा आफ्नो हात भएको भनेर लक्ष्मीले पटक-पटक ज्यान मार्ने धम्की दिएको विक्रमले प्रहरीसँगको बयानमा भनेका छन्।
'दाइसँग विवाह भए पनि भाउजूको नेपाल आउजाउ बाक्लै हुन्थ्यो। दाइले कमाएको सम्पत्ति हिनामिना भएको थाहा पाएपछि दाइलाई जानकारी गराएको थिएँ। सम्बन्धबिच्छेद भएपछि मैले गर्दा लक्ष्मीको घरबार बिग्रिएको भनेर धाक धम्कीसमेत आएको थियो,' घाइते लामाले बयानमा भनेका छन्।
यसअघि गत वर्षको असोजमा टिकाराम भण्डारीले सिआइबीमा फोन गरेर विक्रम लामाले सुन तस्करी गर्छ भन्ने झुटो सूचना दिएको र त्यसको एक महिनापछि लागु औषध नियन्त्रण ब्युरोलाई पनि फोन गरेर विक्रम लागु औषध कारोबार गर्छ भन्ने भ्रामक सूचना दिएको अभियोगपत्रमा उल्लेख छ।
विक्रमकै हत्या योजना बनाउन लक्ष्मी बेलायतबाट काठमाडौं आएकी थिइन्।
काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटलमा बसेर उनीहरूले आक्रमणको योजना बनाएका थिए।