अमेरिकामा टिकटक प्रतिबन्धित हुने भए उक्त सामाजिक सञ्जाल चीनले इलन मस्कलाई बेच्न सक्नेछ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको कानून अनुसार चिनियाँ कम्पनी बाइटडान्सले कुनै अमेरिकीलाई नबेचे अमेरिकामा टिकटक प्रतिबन्ध हुनेछ। अमेरिकामा १७ करोडभन्दा बढी टिकटक प्रयोगकर्ता छन्।
टिकटकले भेला पारेको अमेरिकीबारे सूचनामा चीनको कम्युनिष्ट पार्टीको पहुँच हुने भएकाले अमेरिकामा चिनियाँ स्वामित्वमा टिकटक सञ्चालन हुन दिनु राष्ट्रिय सुरक्षाका लागि खतरा हुने बाइडेनको जिकिर छ।
त्यस कानूनका विरूद्ध टिकटकले अमेरिकी सर्वोच्च अदालतमा हालेको निवेदन हाल विचाराधीन छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सो मुद्दाको सुनुवाइ जनवरी २० मा आफ्नो कार्यकाल सुरू भएपछि मात्रै गर्न अदालतमा निवेदन दिएका थिए।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले पनि अमेरिकामा टिकटक कुनै अमेरिकीलाई नबेचे प्रतिबन्ध लाउने धम्की दिएका थिए। तर गत निर्वाचनमा प्रचारका लागि टिकटकको प्रयोग प्रभावकारी भएपछि हाल उनी प्रतिबन्ध लगाउन नहुने पक्षमा छन्।
सर्वोच्च अदालतमा हालेको निवेदनमा उनले आफ्नो सौदावाजीमा अपार निपुणताको हवाला दिँदै आफू संसारको सबभन्दा प्रभावशाली सामाजिक सञ्जाल प्रयोगकर्ता पनि भएकाले आफूले त्यसबारे चीनसँग सौदा गर्ने भएकाले सुनुवाइ रोक्न आग्रह गरेका थिए।
तर अदालतले उनको आग्रह अस्वीकार गरेर भर्खरै सुनुवाइ थालेको छ। टिकटकको पक्षमा वकालत गर्ने वकिलहरूले टिकटकमा प्रतिबन्ध लगाउनु अमेरिकी संविधानको पहिलो संशोधनले दिएको अभिव्यक्ति स्वतन्त्रताको खिलाफ हुने जिकिर गरेका छन्। तर सुनुवाइका क्रममा न्यायाधीशहरूले पहिलो संशोधनले दिएको अभिव्यक्ति स्वतन्त्रता विदेशीका हकमा लागु नहुने भनेर जोड दिएका छन्।
त्यसैले सर्वोच्च अदालतका नौ न्यायाधीशमध्ये प्रधानन्यायाधीशसहित छ जना रिपब्लिकन पार्टीले नियुक्त गरेका भए पनि बाइडेनले ल्याएको कानूनविरूद्ध अदालतले फैसला नगर्ने अपेक्षा गरिएको छ।
त्यस्तो फैसला आएमा मस्कलाई अमेरिकामा टिकटक सञ्चालन गर्न दिनेबारे चिनियाँ सरकारले छलफल थालेको भनेर ब्लुमबर्गले लेखेको छ।
टेस्लाका मालिक मस्कले पहिले ट्विटर भनिने सामाजिक सञ्जाल एक्स पनि किनेका छन्। ट्रम्पलाई चुनाव जिताउन उनले २५ करोड डलरभन्दा बढी खर्च गरेका थिए भने आफ्नो सामाजिक सञ्जाल एक्सलाई पनि ट्रम्पको समर्थनमा परिचालन गरेका थिए।
चुनावपछि पनि दिनको करिब दुई हजार डलर खर्च गरेर मस्क ट्रम्पको फ्लोरिडास्थित मर-आ-लागो रिसोर्टमा ट्रम्पसँगै बसिरहेका छन्। मस्कको गुण तिर्न ट्रम्पले उनलाई सरकारको प्रभावकारिता बढाउने निकायको प्रमुखमा नियुक्त गरिसकेका छन् भने ट्रम्पले मन्त्री चयन गर्नेदेखि लिएर विदेशी सरकार प्रमुखहरूसँगको छलफलमा पनि मस्क सहभागी भइरहेका छन्।
चीनसँगको व्यापार घाटा कम गर्नका लागि ट्रम्पले चिनियाँ वस्तुमा ६० प्रतिशत भन्सार लगाउने धम्की दिँदै आएका छन्। मस्कको टेस्ला कम्पनीको सबभन्दा ठूलो कारखाना चीनमा भएको र सो कम्पनीको व्यापार चीनमा निर्भर भएकाले उनले ट्रम्पलाई चिनियाँ उत्पादनमाथि धेरै भन्सार लगाउनबाट रोक्ने छन् भन्ने चीनको आशा छ।
यस्तोमा मस्कलाई टिकटकको अमेरिकी व्यापार पनि बेचे उनले चीनलाई धेरै नोक्सान हुनबाट रोक्न थप प्रयास गर्नेछन् भन्ने चीनको ठम्याइ हुनसक्छ।
त्यस्तै टिकटकजस्तो धेरै लोकप्रिय सामाजिक सञ्जाल किनेमा मस्कले एक्ससँग सहकार्य गरेर हाल घाटामा रहेको एक्सको समेत व्यापार बढाउन सक्छन्। अर्कोतर्फ टिकटक समेत किनेपछि उनको अमेरिकामा प्रभाव अझ विस्तार हुने भएकाले पनि उनी टिकटक किन्न इच्छुक हुनसक्छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)