२०८० पुस २७ गते — मीनपचासको एउटा कठ्यांग्रिँदो दिन।
यही दिन नेपालका चिकित्सकले विदेशी विशेषज्ञहरूको सहायताबिना पहिलोपटक कलेजो प्रत्यारोपण गरेर नवीन इतिहास रचेका थिए।
शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जको आँगनमा फक्रिएको यो इतिहासका अभिन्न नायक हुन्, प्राध्यापक डा. रमेशसिंह भण्डारी।
२०६३ सालदेखि त्यहाँको सर्जिकल ग्यास्ट्रोलोजीमा काम गरिरहेका उनी ग्यास्ट्रो सर्जरीका प्राध्यापक, सर्जिकल ग्यास्ट्रोलोजीका विभागीय प्रमुख र कलेजो प्रत्यारोपणका प्रमुख हुन्।
'कलेजो प्रत्यारोपण जटिल चिकित्सा पद्धति हो। मिर्गौलाजस्तो कलेजो दुइटा हुँदैन। स्वस्थ मानिसको कलेजोको नशा-नशा छुट्टयाएर दुइटा भागमा बाँड्नुपर्छ,' डा. भण्डारीले भने, 'त्यसैले सबभन्दा पहिला त नशा-नशा छुट्टयाउने सीपमै डाक्टरहरू निपुण हुनुपर्छ। यसो गर्दा रक्तस्राव धेरै हुनसक्छ। कलेजो लिने मानिस त्यसै पनि संवेदनशील हुने भइहाल्यो। यस्तो जटिल प्रक्रिया हामी आफैले गर्न सक्नु नेपालको चिकित्सा प्रणालीमा कोशेढुंगा हो।'
यो कोशेढुंगा निर्माण भएको एक वर्ष पूरा भइसकेको छ। अहिलेसम्म शिक्षण अस्पतालले डा. भण्डारीको नेतृत्वमा १६ वटा कलेजो प्रत्यारोपण गरेकोमा सातवटा विदेशी विशेषज्ञबिना भएका छन्। ती सबै बिरामीले नवजीवन पाएका छन्।
यति हुँदाहुँदै डा. भण्डारीको मन उज्यालो छैन।
कलेजो प्रत्यारोपणका लागि आवश्यक विशेषज्ञ, उपकरण र सामर्थ्य हुँदा पनि बिरामीहरूको विश्वास जित्ने गरी सूचना प्रवाह नभएको उनको भनाइ छ।
'हाम्रो नतिजा शतप्रतिशत सफल छ। कलेजो कामै नलाग्ने गरी बिग्रिएर मृत्युको मुखमा पुगिसकेका बिरामीले पनि प्रत्यारोपणपछि पुनर्जीवन पाएका छन्। आ-आफ्नो दैनिकीमा रमाइरहेका छन्। हामीसँग अहिले महिनाकै दुइटा प्रत्यारोपण गर्ने क्षमता छ। तर बिरामी कम आएकाले अपेक्षाअनुसार सेवा दिन पाएका छैनौं,' उनले दुःखमनाउ गरे।
कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी नै कम भएका भए भण्डारीले दु:खमनाउ गर्नुपर्ने कुनै कारण थिएन। उनी खुसी नै हुन्थे। तर तथ्यांकले यस्तो देखाउँदैन।
विभिन्न अस्पतालको तथ्यांक हेर्ने हो भने वर्षको हजारदेखि दुई हजार जना कलेजोसम्बन्धी बिरामी आउँछन्। तीमध्ये १०० देखि १५० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्छ। अधिकांश बिरामी प्रत्यारोपण निम्ति शिक्षण अस्पताल आइपुग्दैनन्। आएका बिरामीसँग कलेजो दिने दाता हुँदैन। दाता भएकाहरू नाताभित्र पर्दैनन्। कसैसँग प्रत्यारोपणका लागि पैसा हुँदैन भने केही अवस्थामा दाता र बिरामीको रगत समूह मिल्दैन।
सरकारले क्यान्सर, मेरूदण्ड भाँचिएर शरीर नचल्ने भएका, मिर्गौला प्रत्यारोपण, पक्षघात भएका बिरामीलाई एक लाख रूपैयाँ उपचार सहुलियत दिइरहेको छ। स्थानीय सरकारको सिफारिसमा उपचार र औषधिमा सहयोग पनि पाइन्छ। बागमती लगायत विभिन्न प्रदेश सरकारले ५० हजार रूपैयाँ थप सहयोग गर्छन्। यी रोगका बिरामीले धेरै राहत महसुस गरेका छन्। तर कलेजो प्रत्यारोपण यो सूचीमा पर्दैन।
कलेजो प्रत्यारोपण गर्न एकैपटक ३० देखि ३५ लाख रूपैयाँ तिर्नुपर्छ। गरिब मात्र होइन, मध्यम आय भएका बिरामीले समेत यति ठूलो रकम तिरेर उपचार गराउन सक्दैनन्। त्यही भएर अस्पतालको ढोकासम्म पुग्ने बिरामी संख्या कम भएको हुनसक्ने डा. भण्डारीको आकलन छ।
'सरकारले कलेजो प्रत्यारोपणलाई पनि राहत सूचीमा राखेर आर्थिक सहायता प्रबन्ध गर्ने हो भने बिरामीको चाप बढ्न सक्छ,' उनले भने।
यसबाहेक मस्तिष्क मृत्यु भएकाहरूको अंग दान गर्न मिल्ने नियम छ। त्यस्ता बिरामीको कलेजो लिएर प्रत्यारोपण गर्न सकिन्छ। अहिलेसम्म यसको अभ्यास भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रले मात्र गरिरहेको छ। शिक्षण अस्पताल लगायत सबैले यो अभ्यास गर्न पाउने गरी नीतिगत जटिलता फुकाइदिन सरकारसँग आग्रह गरिरहेको भण्डारी बताउँछन्।
त्योभन्दा ठूलो कुरा चाहिँ, शिक्षण अस्पतालमा नेपाली डाक्टरहरूबाटै कलेजो प्रत्यारोपण हुन्छ भन्ने सूचना नै जनमानसमा नपुगेको उनको भनाइ छ।
यहाँ ग्यास्ट्रो सर्जरी समूहमा सात जना शल्यचिकित्सक छन्। कलेजो प्रत्यारोपणमै दुई जना छन्। तर यसबारे धेरै बेखबर छन्।
'मैले जति बिरामीको कलेजो प्रत्यारोपण गरेँ, उहाँहरू सीधै यहाँ आउनुभएको होइन। धेरैजसो बिरामी विदेशमा बढी खर्च लाग्ने भएपछि आखिरमा यहाँ आउनुहुन्छ,' उनले भने, 'कलेजो प्रत्यारोपणलाई यहाँसम्म ल्याइपुर्याउने सपना पूरा गर्न हामीले धेरै दु:ख भोगेका छौं। जुन दिन बिरामीहरू हामीलाई विश्वास गरेर सुरूमै आउन थाल्नुहुन्छ, त्यो दिन बल्ल हामीले गरेको दु:ख सार्थक हुनेछ।'
भण्डारीको मनमा कलेजो प्रत्यारोपणको सपनाले बीउ हालेको करिअरको पूर्वार्द्धमै हो।
त्योभन्दा अगाडि चिकित्सा क्षेत्रसँग उनको नाता कसरी जोडियो, त्यसबारे चर्चा गरौं।
अपी हिमालको स्याँठमा हुर्किएका हुन् भण्डारी। उनको जन्म बैतडीको साबिक रोडीदेवल गाविसमा भएको हो। अहिले उक्त गाविस पञ्चेश्वर गाउँपालिकामा समेटिएर ६ नम्बर वडा बनेको छ।
साढे चार वर्षकै उमेरमा उनी आफ्नो परिवारसहित थातथलो छाडेर काठमाडौं आइपुगे।
'त्यति बेला सुदूरपश्चिम जिल्लामा खासै राम्रो शिक्षादीक्षा थिएन। सक्ने मानिसहरू बाहिरै जाने चलन बसिकेको थियो, त्यही क्रममा म पनि काठमाडौं ल्याइएँ,' उनी सम्झन्छन्।
चिकित्सा क्षेत्रसँग उनको पुस्तैनी नाता छ। उनका पिता 'फार्मासिस्ट' थिए। आफू औषधि उत्पादन गर्ने क्षेत्रमा भएकाले छोरा चिकित्सातर्फ जाओस् भन्ने उनको ध्येय थियो। पढाइमा अब्बल भण्डारीको मथिंगलमा पनि सानैबाट चिकित्सकीय सपनाले पखेटा हाल्न थाल्यो।
उनले थापाथलीको भिएस निकेतनबाट एसएलसी दिए। प्लस-टू वीरेन्द्र सैनिक महाविद्यालयबाट गरे। त्यसपछि आफ्नो सपनाको उडानलाई सार्थकता दिन धरानको बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा एमबिबिएस भर्ना भए। उनी त्यहाँको दोस्रो ब्याचका विद्यार्थी हुन्।
एमबिबिएसपछि उनले दुई वर्ष मेडिकल अधिकृतका रूपमा काठमाडौं मेडिकल कलेज (केएमसी) को बालरोग विभाग अर्थात् पेडियाट्रिक्स फाँटमा काम गरे। त्यहाँ काम गर्दा उनलाई बालरोग विशेषज्ञ बन्छु भन्ने लागेको थियो। धरान फर्केर आफू पढेको संस्थामा काम गर्दा पनि उनले बालरोग विभाग नै रोजे।
तर यहाँ उनको करिअरले अचानक नयाँ मोड लियो।
उनले पोस्ट ग्र्याजुएट (पिजी) का लागि प्रवेश परीक्षा दिँदा बालरोग विशेषज्ञको पढाइमा जान पाएनन्। उनी मेरिट सूचीमा तल परे। बालरोग पढ्न दुइटा मात्र सिट थियो, जुन मेरिट सूचीमा अगाडि भएका विद्यार्थीले लिइहाले।
उनलाई साथीहरूले सुझाए, 'हेर्दै फुर्तिलो र ऊर्जा भरिएको तिमीजस्तो मान्छे त सर्जन पो बन्नुपर्छ!'
साथीहरूले बाटो त देखाए, तर उनी तयार भइसकेका थिएनन्। दुई वर्ष बालरोग क्षेत्रमा काम गरेकाले हृदय कताकता त्यतै डोहोरिन चाहन्थ्यो।
आखिरमा साथीहरूले सुझाएजस्तै उनको पाइला सर्जरीतिर मोडियो, त्रिवि शिक्षण अस्पतालमै।
उनले जनरल सर्जरीतर्फ पिजी पढे। त्यसपछि शिक्षण अस्पतालमै सेवा सुरू गरे।
उनले सुरूआतमै ग्यास्ट्रो (पेटसम्बन्धी) सर्जरीमा काम थालेका हुन्। काम गर्दै जाँदा उनलाई थप विशेषज्ञता हासिल गर्न अनिवार्य लाग्यो। पेटसम्बन्धी सर्जरीमै अब्बल बन्ने हुटहुटी उनको मनमा जागिसकेको थियो।
पिजी गरेपछि उनी तीन वर्षको 'एमसिएच इन जिआई सर्जरी' मा भर्ना भए। उनले पेटसम्बन्धी सर्जरीअन्तर्गत लिभर (कलेजो) र प्याङ्क्रियाजमा विशेषज्ञता हासिल गर्ने निधो गरेका थिए।
यति मात्र होइन, आफ्नो विशेषज्ञताको दायरा चौडा पार्न उनी अस्ट्रेलियामा रहेको रोयल अस्ट्रालेसन कलेज अफ सर्जनमा पढ्न गए।
हो, ठ्याक्कै त्यही बेला, अस्ट्रेलियामा पढ्न गएका बेला; भण्डारीको रूचि कलेजो प्रत्यारोपणतिर मोडियो।
त्यति बेला अस्ट्रेलियाको मेलबर्नस्थित अस्ट्रिन अस्पतालले कलेजो प्रत्यारोपणमा नयाँ नयाँ मानक स्थापित गरिरहेको थियो। सन् १९९० बाटै त्यहाँ कलेजो प्रत्यारोपण सुरू भइसकेको थियो। उनी जाँदा नै एक हजारभन्दा बढी प्रत्यारोपण भइसकेको थियो।
भण्डारीले थोरै समय भए पनि त्यहाँको कलेजो प्रत्यारोपण समूहसँग काम गर्ने मौका पाए। करिअरमा नयाँ प्रकारको 'एक्सपोजर' भयो।
त्यो एक्सपोजरसहित नेपाल फर्केका डा. भण्डारीलाई यहाँ पनि कलेजो प्रत्यारोपण सुरू गर्ने छटपटीले सताउन थाल्यो। अस्ट्रेलियाले गर्न सकेको छ भने नेपालले किन सक्दैन भन्ने प्रश्नले उनको हुटहुटी झनै बढाउँथ्यो।
तर यो प्रश्नको उत्तर कसैसँग थिएन। कलेजो प्रत्यारोपणमा नेपालको स्रोत, सामर्थ्य, क्षमता र दक्षताको जाँच पनि भएकै थिएन। त्यसैले भण्डारी आफै सम्भावनाको खोजीमा क्रियाशील भए।
'अस्ट्रेलियाबाट फर्केपछि दुई-तीन वर्ष मैले नेपालमा कलेजो प्रत्यारोपण गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गरेँ,' उनले भने, 'यसबाट के निष्कर्षमा पुगेँ भने कलेजो प्रत्यारोपणका लागि सहयोगी वातावरण नभए पनि प्रयास छाड्नु हुँदैन, एक्लै भए पनि लाग्नुपर्छ।'
यस्तो निष्कर्षमा पुगेपछि उनले अस्ट्रेलियाको अस्ट्रिन अस्पतालका प्राध्यापक तथा चिकित्सकहरूलाई इमेल पठाए।
'म नेपालमा कलेजो प्रत्यारोपण सुरू गर्न चाहन्छु। त्यसका लागि यहाँ विशेषज्ञताको अभाव छ। एक वर्षका लागि तालिमको प्रबन्ध मिलाइदिनू,' उनले यस्तै व्यहोराको इमेल पठाए।
अस्ट्रिन अस्पतालले यसलाई सकारात्मक रूपमा मात्र लिएन, भण्डारीलाई तालिममा बोलायो पनि।
उनी फेरि अस्ट्रेलिया गए। त्यो कलेजो प्रत्यारोपणमा विशेषज्ञता हासिल गर्ने उनको सपनाको उडान थियो।
उनी एक वर्ष त्यहाँ बस्दा नै ७५ भन्दा बढी कलेजो प्रत्यारोपण गरियो। त्यस क्रममा कतिपय प्रत्यारोपणमा संलग्न भएर आफूलाई प्रशिक्षित तुल्याए।
२०७१ पुसमा नेपाल फर्कँदा उनीसँग कलेजो प्रत्यारोपणबारे आवश्यक ज्ञान, सीप, दक्षता र अनुभव थियो। तैपनि एक्लो प्रयासले सुरू गर्न सम्भव थिएन। त्यसका लागि 'टिम स्पिरिट' को खाँचो पर्थ्यो।
'हुन त म नेपाल फर्केलगत्तै कलेजो प्रत्यारोपण सुरू गरिहाल्न चाहन्थेँ। मैले कलेज र आफ्नो संकायमा कुरा राखेँ। समूह बनाउन आग्रह गरेँ। तर धेरै कमले मात्र मेरो प्रस्ताव सकारात्मक रूपमा लिनुभयो। धेरैको मनोभाव कलेजो प्रत्यारोपण खर्चिलो छ, यहाँ सम्भव हुँदैन भन्ने नै थियो,' भण्डारी सम्झन्छन्।
यसको सम्भाव्यताबारे अध्ययन नगरेकाले यस्तो भाव व्यक्त गर्नु अनौठो थिएन। यसबाट हतोत्साही हुने उनलाई सुविधा पनि थिएन। कलेजो प्रत्यारोपण सुरू गर्न उनले केही बाटो हिँडी नै सकेका थिए। त्यसैले निराश नभई उनी समूह बनाउनतिर लागे। कसैलाई एनेस्थेसिया पढ्न लगाए। कसैलाई हेपाटोलोजीको तालिमतिर पठाए।
'डेढ-दुई वर्षको अन्तरालमा मैले विभिन्न देशमा तालिमहरू मिलाएँ। केही साथी भारत जानुभयो। कति अस्ट्रेलिया जानुभयो। कोही अमेरिका पनि जानुभयो। मेरो सम्पर्क जहाँ जहाँ थियो, त्यहाँ त्यहाँ तालिमका लागि जाने वातावरण बन्यो,' उनले समूह निर्माण गर्दाको क्षण सम्झिए।
उनले समूह त निर्माण गरे, तर समूहले मात्र सेवा सुरू हुँदैनथ्यो। यन्त्र, उपकरण लगायत सामग्रीको खाँचो पर्थ्यो।
तिनताक टिचिङमा यथेष्ट अपरेसन थिएटर (ओटी) नभएको होइन। तर कलेजो प्रत्यारोपणका लागि विशेष किसिमको ओटीको जरूरत पर्छ। छुट्टै सघन उपचार कक्ष (आइसियू), रेडियोलोजीका सामग्री पनि चाहिन्छन्। ती सामग्री जोरजाम गर्न १२-१३ करोड लाग्ने भयो।
एउटै सेवाका लागि यति रकम जुटाउने सामर्थ्य शिक्षण अस्पतालसँग थिएन।
त्यसपछि उनी बजेट माग्न मन्त्रालय धाउन थाले। प्रशासनिक निकायका माथिल्ला मानिसहरूका दैलो दैलो चहारे।
नियत सफा राखेर हिँडे बाटाका अवरोध आफै हट्दै जाँदा रहेछन्, उनले यो सत्य त्यति बेलै गहिरोसँग महसुस गरे!
उनको भेट अहिले नेपाली कांग्रेसका महामन्त्री रहेका गगन थापासँग भयो। तिनताक उनी स्वास्थ्यमन्त्री थिए।
थापासँग उनको पुरानै चिनजान थियो। उनी संस्था र नीतिगत सुधारका बाटा खोजिरहेका थिए। मन्त्रालयले देखिने काम गरोस् भन्ने थापाको ध्याउन्न थियो।
'हामीले त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरू गर्न लागेको, त्यसका लागि आवश्यक पर्ने तालिम म आफैले लिइसकेको छु। सेवा सुरू गर्न यन्त्र, उपकरण लगायतको खाँचो छ, त्यसका लागि बजेट चाहियो,' भण्डारीले मुख फोरेर थापासँग भने।
मन्त्रालयबाट सहयोग हुने हो भने सरकारी अस्पतालमै कलेजो प्रत्यारोपण सुरू हुने र लाखौं मानिसले पुनर्जीवन पाउने प्रस्तावना नै तयार पारेर उनले थापालाई बुझाएका थिए।
भण्डारीको प्रस्तावले थापालाई प्रभावित तुल्यायो।
'मेरो प्रस्ताव सुन्नेबित्तिकै उहाँले आवश्यक बजेट व्यवस्था गरिदिने बताउनुभयो,' उनले भने।
नभन्दै मन्त्रालयले शिक्षण अस्पताललाई १५ करोड रूपैयाँ दियो। त्यसमध्ये ११ करोड कलेजो प्रत्यारोपणका लागि थियो भने बाँकी रकम मिर्गौला प्रत्यारोपणमा उपकरण थप्न दिइएको थियो।
बजेटको प्रबन्ध भएपछि भण्डारीले चैनको सास फेरे।
सपनाले साकार रूप लिन लागेको भन्दै उनको मुहारको रोगन पनि बदलियो।
'बजेट व्यवस्था भएपछि मानिसहरूले चासो देखाउन थाले। अस्पतालले पनि गरी खान्छ कि क्या हो जस्तो ठान्न थाले,' डा. भण्डारीले पुलकित हुँदै सुनाए, 'त्यो बेला पनि हतोत्साही बनाउन खोज्नेहरू त छँदै थिए, तथापि अस्पतालको वातावरण परिवर्तन हुँदै गयो।'
बजेट प्रबन्ध भएपछि उनीहरूले सर्जिकल, एनेस्थेसिया, आइसियू र रेडियोलोजीका सामग्री खरिद प्रक्रिया अघि बढाए। ठेक्का प्रक्रियाका कारण झन्डै एक वर्ष लाग्यो।
यसरी समूह निर्माण, बजेट लगायत प्रबन्ध मिलाएर अस्पताललाई कलेजो प्रत्यारोपण निम्ति तयार बनाउन झन्डै तीन वर्ष लागेको भण्डारी बताउँछन्।
उनीहरूले २०७५ सालसम्ममा यी चरण पारेका थिए। तर अप्ठ्यारो अझै सकिएको थिएन।
सारा तयारीपछि सेवा सञ्चालनको अनुमति लिनुपर्ने भयो। स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागबाट यस्तो अनुमति पाइन्थ्यो। सरकारी निकायको पट्यारलाग्दो कार्यशैलीले समय गुज्रँदा गुज्रँदा बल्ल एक वर्षपछि त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपणको अनुमति पायो। त्यति बेला गुणराज लोहनी स्वास्थ्य सेवा विभागका महानिर्देशक थिए।
यति भएपछि प्रत्यारोपण सुरू भइहाल्ला भन्ठानेका भण्डारीको बाटोमा अर्को संकट तगारो बनेर आइपुग्यो।
'समूह, सामग्री सबै तयारी अवस्थामा थियो। तर हामीलाई बिरामी पाउनै मुस्किल भयो,' डा. भण्डारीले भने, 'बिरामी त्यसै तयार हुने अवस्था थिएन। त्यसका लागि विश्वासको खाँचो थियो। त्यो छिट्टै कसरी आर्जन हुन्थ्यो र!'
यति मात्र होइन, जति नै ठूलो केन्द्र, अत्याधुनिक उपकरण भए पनि कलेजो प्रत्यारोपण गर्दा अभ्यस्त चिकित्सकहरूको निगरानी र सहयोग चाहिन्छ। भण्डारीले अस्ट्रेलियन विज्ञहरू बोलाउने सोच बनाएका थिए। तर यसमा पनि कठिनाइ देखियो। आर्थिक र समयका हिसाबले पनि अपायक पर्थ्यो।
त्यसपछि उनको आँखा भारतमा गयो। तर भारतका विज्ञ ल्याउन त्यति सजिलो थिएन। किनभने, उनीहरूसँग भण्डारीको चिनजान र सम्पर्क थिएन।
उनी सम्पर्क पहिल्याउँदै भारत गए। त्यहाँ साथीको वृत्त तयार पारे। सुरूमा उनलाई एपोलोले सहयोग गरेको थियो। पछि गुडगाउँमा रहेको फोर्टिस अस्पतालले विशेषज्ञ उपलब्ध गराएर सहयोग गर्यो।
आखिरमा २०७६ जेठमा भण्डारीको सपनाले पहिलोपटक मूर्तरूप पायो।
त्यति बेला ५८ वर्षका पदमबहादुर मल्ल भण्डारीको सम्पर्कमा आएका थिए। उनको कलेजो बिग्रिएर कामै नलाग्ने भइसकेको थियो। उपचारका लागि अनेक ठाउँ चहारिसकेका उनी भारत गएर प्रत्यारोपण गर्ने योजनामा थिए। तर आर्थिक अवस्था बाधक भइदियो। हार मान्नु भएर त्रिवि शिक्षण अस्पताल पुगेका उनीहरू भण्डारीको वचनले आश्वस्त भए।
'यहाँ आएपछि मैले उहाँहरूलाई निकै सम्झाइबुझाइ गरेँ। शिक्षण अस्पतालमा पहिलोपटक गर्न लागेका छौं, तर अस्पतालमा पहिलोपटक भए पनि बाहिर गएर अनुभवन बटुलिसकेका हिसाबले हामी नयाँ छैनौं। फेरि बाहिरका विशेषज्ञ चिकित्सक पनि टिममा हुनुहुन्छ। यति भनेपछि उहाँहरू आश्वस्त हुनुभयो,' उनले त्यो दिन सम्झँदै भने।
२०७६ जेठ १७ गते उनको सपनाको 'ब्रेक थ्रू' भयो।
शल्यक्रिया अवधिभर बिरामीका आफन्तको मुटु जुन गतिमा धड्किइरहेको थियो, त्योभन्दा बढी नै धड्किइरहेको थियो भण्डारीको मुटु पनि।
झन्डै १७-१८ घन्टापछि शल्यक्रिया सफलतापूर्वक सकियो। भण्डारीले लामो सास फेरे। वास्तवमा त्यो उनको सपनाको निःस्वास थियो।
त्यस दिन शिक्षण अस्पतालको चिकित्सा इतिहासमा नयाँ सफलता कोरियो। त्यसैले उनको मनमा पहारिलो घाम लाग्ने नै भयो।
तर यतिले मात्र ढुक्क हुने अवस्था थिएन। खासमा त्यो जहाजको उडान मात्र थियो, सुरक्षित अवतरण हुन्छ कि हुँदैन, या बीचमै दुर्घटनाको नियति भोग्नुपर्ने हो कि भन्ने डरले फणा उठाइरहेकै थियो। प्रत्यारोपित बिरामीको अवस्था के कसो हुने हो, डा. भण्डारी यही चिन्तामा थिए।
भगवानले हात थामेझैं भयो। उनको मिहिनेत र निरन्तर साधनाले मनभित्रको भय चिरिछाड्यो।
बीस दिनपछि प्रत्यारोपित पदमबहादुर मल्ल र डा. रमेशसिंह भण्डारी अस्पतालबाट हँसमुख अनुहार बोकेर फर्किए। फर्किंदा उनीहरूको अनुहारमा नवजीवनको आभा थियो।
कलेजो प्रत्यारोपण खर्चिलो मात्र छैन, जटिल पनि छ। सद्दे मानिसको कलेजोलाई शल्यक्रियामार्फत् रेशा-रेशा छुट्टयाएर बिरामीको शरीरमा प्रत्यारोपण गर्नुपर्ने दुरूह विधा हो यो।
नेपालमा २०७३ मंसिर २२ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो। दक्षिण कोरियाका अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सकको सहायतामा भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यसको सूत्रपात गरेको थियो। तिनताक पाँच जना अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठसहितको समूहले १० घन्टा लगाएर पहिलो प्रत्यारोपण गरेको थियो।
त्यसैलाई निरन्तरता दिँदै शिक्षण अस्पताल महाराजगन्जले पनि कलेजो प्रत्यारोपण अघि बढायो, फोर्टिस अस्पतालको विशेषज्ञ सहयोगमा।
छवटा प्रत्यारोपण विदेशी विशेषज्ञको सहयोगमा गरेपछि डा. भण्डारीले सातौं प्रत्यारोपण आफ्नै अगुवाइमा गर्ने निधो गरे।
प्रत्यारोपणमा सफलता पनि हात लाग्यो। बिरामीले स्वास्थ्य लाभ गरिरहेका थिए। तर अफसोस! त्यही बेला कोभिड महामारीले मुलुक आक्रान्त भयो। मानिसहरू विश्वव्यापी भाइरसको चपेटमा परेका बेला भण्डारीले देखेको सपनामा पनि संक्रमण हुने नै भयो।
भर्खर कलेजो प्रत्यारोपित बिरामी कोभिड संक्रणममा परे।
उसै त कमजोर शरीर, त्यसमाथि कोभिड थपिएपछि उनी उम्कनै सकेनन्।
अन्ततः बिरामीको मृत्यु भयो।
यसबाट सचेत हुँदै डा. भण्डारीले आठौं, नवौं र दसौं प्रत्यारोपणमा फेरि विदेशी विशेषज्ञको सहायता लिए।
'बिरामीहरू यहाँ आउन नहिच्किचाऊन् भनेर हामीले त्यसपछिका केसमा विदेशी विशेषज्ञकै सहायता लियौं,' उनले भने।
एघारौं प्रत्यारोपणमा भने डा. भण्डारीले फेरि विदेशी सहायताबिना आफै गर्न कम्मर कसे।
यसपालि उनी पूर्ण रूपमा सफल भए। र, विदेशी चिकित्सकको सहायताबिना कलेजो प्रत्यारोपणमा सफलता हात पारेर नेपालको चिकित्सा प्रणालीमा नयाँ कोशेढुंगा थपे।
त्यो २०८० पुस २७ गते, अर्थात् मीनपचासको कठ्यांग्रिँदो दिन थियो।
त्यसयता डा. भण्डारी नेतृत्वको समूहले थप पाँचवटा सफल प्रत्यारोपण गरिसकेको छ।
'स्रोत र सामर्थ्य मात्र होइन, हामीकहाँ दक्ष विशेषज्ञहरू पनि थपिँदै गएका छन्,' उनले भने, 'आगामी दुई-तीन वर्षभित्र वार्षिक २० जना बिरामीको कलेजो प्रत्यारोपण गर्ने मेरो लक्ष्य हो।'
'आगामी १० वर्षभित्र यसलाई दोब्बर बनाउन सकेको दिन मेरो सपनाले छुट्टै उचाइ लिनेछ,' डा. रमेशसिंह भण्डारीले भने।
***