काठमाडौंबाट धनुषा जाँदै गरेको रात्रिबसमा एक जना यात्रु मृत फेला परेका छन्।
सोमबार साँझ काठमाडौंबाट छुटेको मधेस प्र ०४-०० ख ०१५७ नम्बरको बसमा भारतका मधुवनी सिम्री टोलका ७० वर्षीय जगदिश यादव मृत फेला परेका हुन्।
बिहानपख पिसाब फेर्नका लागि अन्य यात्रुहरू लालगढ झर्ने क्रममा उनी सीटहरूको बीचको भागमा लडिरहेको अवस्थामा भेटेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।
'उनको आफन्तहरूलाई बोलाइएको छ। उहाँहरू नआएसम्म शवलाई बसमै राखिरहेका छौं,' प्रहरी निरीक्षक यादवले भने, 'यात्रुहरूसँग सोधपुछ गर्ने काम भइरहेको छ।'
उनी धनुषाको जटही भन्ने ठाउँमा जान लागेको भन्ने सुनिएको छ। के कारणले मृत्यु भएको भन्नेकुरा पोस्टमर्टम पछि मात्र थाहा हुने उनी बताउँछन्।