जंगलभित्रको कथा
प्रेमप्रसाद अधिकारी घरको बरन्डामा सुतिरहेका थिए।
करिब सय मिटर पर रहेको छिमेकीको गोठबाट आएको ठूलो आवाजले उनी ब्युँझिए।
त्यो आवाजले राप्ती नदी किनारको पूरै बुद्धनगर (साविकको मेघौली-९) गाउँ थर्किएको थियो। प्रेमप्रसादको छिमेकीको गोठमा बाँधिएको भैंसीलाई बाघले आक्रमण गरेछ। आक्रमणमा परेको भैंसीको आवाज पनि बाघकै जस्तो सुनिएको थियो। बाघको गर्जन त सबैको सातो उठाउने भइहाल्यो।
भैंसीको घाँटीमा बाँधिएको दाम्लो छिन्यो। दौडिँदै बारीसम्म आइपुगेको भैंसी बाघको आक्रमणले घाइते भएर लड्यो।
मान्छेहरू डरले घर बाहिर निस्कन सकेका थिएनन्। प्रेमप्रसादलाई भने बरन्डा छाड्न मन लागेन। उनी छिमेकीको गोठतिर हेरेर बसिरहे।
'जंगल जाँदा गैंडा, बँदेलहरू देखेको थिएँ। बाघ देखेको थिइनँ। पहिलोपटक घरकै नजिक देखेँ,' ८४ वर्षीय प्रेमप्रसादले डेढ वर्षअघिको त्यो घटना सुनाउँदै केही दिनअघि हामीसँग भने, 'मलाई नै लिन आएको हो कि झैं लागेको थियो। मैले मनमनै आफ्नो छोरालाई सम्झेँ।'
यति भनेर उनी भावुक भए।
प्रेमप्रसादको माइलो छोरालाई पनि कलिलै उमेरमा बाघले लगेको थियो।
'छोरालाई लैजाने बाघले मलाई पनि लगे हुन्थ्यो भन्ने सोच्थेँ,' उनले अगाडि भने, 'तपाईंलाई पत्यार नलाग्ला, मलाई त्यो दिन बाघ देखेर कत्ति पनि डर लागेन। जहानले भित्र आउनू भनेर कराउँदा पनि आउँदिन भनेर बाहिरै बसिराखेँ।'
घरको अगेना छेउ बसेर यो कथा सुनाइरहँदा प्रेमप्रसादकी ७७ वर्षीया श्रीमती पद्मा सँगै थिइन्।
प्रेमप्रसादलाई चितवन झरेको साल ठ्याक्कै याद छैन। २०२४/२५ सालतिर हुँदो हो। त्यसअघि उनको परिवार पर्वतको खानडाँडामा बस्थ्यो। पहाडको दुःखबाट दिक्क भएका थिए उनी। तराई झरौं भन्दा घरका कोही मान्थेनन्।
एक दिन उनले उपाय निकाले। बाबुले बेलाबखत पैसा सापटी माग्ने एक छिमेकीको घर गए र 'बुबालाई पैसा सापटी चाहिएको छ' भनेर ढाँटे।
कारोबार भइराख्ने आफन्तले सजिलै ६ हजार रूपैयाँ निकालेर दिए।
प्रेम त्यो पैसा लिएर घर फर्किए। न्यानो कपडा लगाए, अनि बाख्रालाई घाँस ल्याउँछु भनेर फुत्त निस्किए।
सानो बुबा धनपति अधिकारी त्यसअघि २०१६ सालतिरै चितवन झरेका थिए। प्रेमप्रसाद उनलाई खोज्दै अहिलेको बुद्धनगर आइपुगे।
बुद्धनगर गाउँमा त्यतिखेर राम्रो चहलपहल थियो। मान्छेहरू घाँसदाउरा काट्न, गाईवस्तु चराउन जंगल जाने मूल बाटो पर्थ्यो। सिँचाइका लागि सरकारी कुलोको सुविधा थियो। खेतीपाती राम्रो हुन्थ्यो। नजिकै रहेको विमानस्थलमा बेलाबेला जहाज पनि आउँथे।
प्रेमप्रसादलाई बुद्धनगरले मोहनी लगायो। उनले १९ सय रूपैयाँमा १३ कट्ठा जमिन किने। अनि यहीँ खेती गरेर बस्न थाले। बिस्तारै श्रीमती र छोराहरूलाई पनि यतै ल्याए। पछि बुद्धनगरको घरमा उनका चार छोरा र एक छोरी जन्मिए।
ती चार छोरामध्ये एक हुन्, निमप्रसाद।
माइला छोरा निमप्रसादको पढाइ अरूको भन्दा राम्रो थियो। अग्लो कदका, हृष्टपुष्ट र बलियो शरीर थियो उनको। तेलौलीमा रहेको जानकी माविमा पढ्ने उनी अतिरिक्त क्रियाकलापमा पनि अगाडि थिए। साथीभाइमाझ प्रिय थिए।
२०४२ सालमा २१ वर्षका निमप्रसाद कक्षा ८ मा पढ्थे। त्यही बेला उनको बिहे निधो भयो।
बिहेको साइत आउन तीन दिन मात्रै बाँकी थियो। बाबु निम्ता र भोजका लागि खसी खोज्न मावली गाउँ नवलपुरतिर गएका थिए। आमा आँगनमा धान सुकाउन मान्द्रो खोल्दै थिइन्। निमप्रसादले विद्यालयको जुनियर रेडक्रस सर्कलका लागि चन्दा उठाउन चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्स जंगल लज जान लागेको आमालाई सुनाए।
'अब तँ बाहिर हिँड्ने समय छैन बाबु। बिहेको दिन नजिक आइसक्यो। यस्तो बेला जंगलतिर जाने कुरा नगर,' आमाले रोक्ने प्रयास गरिन्।
'होइन आमा यो मैले गर्नैपर्ने काम हो। म मात्र होइन, साथीहरू पनि जाँदैछन्। राजेन्द्र र नारायण तयार भइसके होलान्। बिहेका लागि टपरी बुन्न पात चाहिन्छ। म फर्कँदा लिएर आउँछु। घाँस पनि काटेर ल्याउँछु,' निमप्रसादले अनुरोध गरे।
'ठूलो भोज गर्ने होइन, टपरी धेरै चाहिँदैन। पात नजिकै कतै खोजौंला। नजाऊ बाबु तिमी। यो जाने बेला होइन,' आमाले सम्झाउन छाडिनन्।
निमप्रसाद आमाको कुरा सुन्ने मुडमा थिएनन्। पालीमा राखिएको हँसिया र नाम्लो झिकेर 'गएँ है आमा' भन्दै घरबाट निस्किए।
कम्मरसम्म डुबेर राजेन्द्र अर्याल, नारायण अर्याल र निमप्रसाद राप्ती नदी तरे। जंगलको बाटोमा ठाउँठाउँ 'कान्छो भाले' देखि होसियार रहनुहोला भनेर बाघको फोटो टाँसिएको थियो। कान्छो भाले नाम दिइएको भाले बाघले केही दिनअघि माडीमा मान्छे मारेको खबर उनीहरूले थाहा पाएका थिए।
त्यो बाघ यस क्षेत्रमा रहेको शंकामा लजका पाहुनालाई सचेत बनाउन फोटो टाँसिएको थियो।
उनीहरू मनमा केही डर बोक्दै टाइगर टप्स लजमा पुगे। लजका व्यवस्थापक, कर्मचारी र पाहुनाहरूलाई रेडक्रसबारे बुझाए। चन्दाका लागि अनुरोध गरे। त्यसपछि पात टिप्न जंगलतिर पसे।
जंगलमा सालको पात टिपेपछि मुठो पारेर नारायण घरतिर लागे। निमप्रसाद र राजेन्द्र भने एक-एक भारी घाँस काट्ने भनेर रोकिए।
'ओहो कस्तो ढड्डी, कति मौलाएको घाँस हेर त राजेन्द्र,' निमप्रसादले घाँस देखाए।
'एकै ठाउँमा भारी पुग्ने भयो। ल यहीँ काटौं,' राजेन्द्र उत्साहित भए।
एक्ले सिमलको रूखनजिकै राजेन्द्र दक्षिणतिर, निमप्रसाद उत्तरतिर फर्किएर घाँस काट्न थाले। उनीहरूबीचको दुरी ५-७ मिटर थियो। राजेन्द्रले घाँसको एक मुठो बाँधिसकेका थिए। घोप्टो परेर घाँस समाउन खोज्दा एक्कासि ठूलो आवाज उनको कानमा पर्यो। जुरूक्क उठ्दा निमप्रसादलाई बाघले च्याप्पै पारिसकेको थियो।
बाघले घाँटीमा दाह्रा गाडेर निमप्रसादलाई झाडीतिर घिसार्न थाल्यो। उमेरले ३-४ वर्ष कमका राजेन्द्रमा बाघसँग भिड्ने साहस थिएन। उनी ज्यान जोगाउन पछाडि फर्केर दौडिए र भेल्लरको रूखमा चढे।
रूखको टुप्पोमा पुगेपछि उनी चिच्याए। गुहार मागे। तर कसैले उनको आवाज सुनेन।
रूखबाट बाघ घुरेको आवाज सुनिन्थ्यो। तर देखिन्थेन।
बाघले निमप्रसादलाई झाडीभित्र लगेर सिकार बनाइसकेको थियो। डरले थरथर कामेका थिए राजेन्द्र।
केही बेरपछि जब बाघको चहलपहलको आवाज सुनिन छाड्यो, राजेन्द्र रूखबाट ओर्लिए। सास फेर्दा पनि बाघले सुन्ने हो कि, गन्ध थाहा पाएर आफूतिर आउने हो कि भन्ने डर थियो। उनी कुलेलाम ठोकेर राप्ती नदीको किनारमा पुगे।
त्यहाँ गस्तीमा हिँडेका सैनिकहरू भेटिए। उनीहरूले राजेन्द्रलाई च्याप्पै समाए। अनुमतिबिना कोही पनि निकुञ्ज प्रवेश गर्न नपाइने अहिलेकै जस्तो चलन त्यतिखेर पनि थियो। सैनिकले राजेन्द्रमाथि केरकार सुरू गरिहाले।
उनले घटनाको वृत्तान्त सुनाएपछि गस्तीको टोलीले उनलाई बीचमा राखेर घटनास्थल लग्यो।
त्यहाँ भुइँमा हँसिया ठाडो अवस्थामा थियो। नजिकै घाँसको मुठा, रगत बगेको, बालुवामा खुट्टा लतारिएको डोब देखिन्थ्यो। निमप्रसादको शरीर बाघले केही पर काँसघारीमा लगेर लुकाएको रहेछ।
अपराह्न प्रेमप्रसाद घर आइपुग्दा आँगनमा धान सुकाइएको थियो। श्रीमती खेतमा आलु खन्न गएकी थिइन्। उनले श्रीमतीलाई बोलाए। निमप्रसादको विषयमा सोधीखोजी गरे। श्रीमतीले उनी रेडक्रसको काम छ भनेर टाइगर टप्सतिर गएको सुनाइन्।
अधिकारी दम्पती छोराको बाटो हेर्दै बसिरहेका थिए। गाउँमा हल्लाखल्ला हुन थाल्यो। मान्छेहरू राप्तीपारि गैंडाले मान्छेलाई हान्यो रे भनेर कराइरहेका थिए। जंगलको छेउमा बेलाबेला यस्ता घटना भइरहन्थे। अप्रिय भए पनि यहाँका बासिन्दाका लागि यस्ता घटना नौला थिएनन्।
यो हल्लाले अधिकारी दम्पतीको तनाव भने बढायो। उनीहरूले भगवानलाई सम्झिए।
प्रार्थना गरे, 'हे भगवान गैंडाले हानेको मान्छे हाम्रो छोरो नभइदेओस्।'
राजेन्द्र गाउँमा आएर घटनाबारे सुनाएपछि सहयोग माग्न टाइगर टप्स लजतिर लागिसकेका थिए। एक जना छिमेकीले प्रेमप्रसादलाई समातेर घरदेखि पर लगे। कानमा मुख जोडेर केही भनेका मात्र थिए, प्रेमप्रसाद भुइँमा लम्पसार भए।
बाघले छोरोलाई खाएको खबर उनका लागि पत्याउन नसकिने सत्य थियो।
उता राजेन्द्रले टाइगर टप्स पुगेर निमप्रसादलाई बाघले आक्रमण गरेको घटना सुनाए। टाइगर टप्सका कर्मचारीले यो खबर चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीसमक्ष पुर्याइदिए। खबर पाएपछि सैनिक, निकुञ्जका कर्मचारी, टाइगर टप्सका प्राविधिकहरू घटनास्थल जान तयार भए। अनि राजेन्द्रलाई पनि लिएर हात्तीमा चढी जंगलभित्र पसे।
९-१० वटा हात्तीले बाघ भएको सम्भावित स्थान घेरा हाले। घेरामा सेतो कपडाको लक्ष्मण रेखा बनाइयो।
राति करिब ८ बजेतिर त्यो बाघ कान्छो भाले नै रहेको पहिचान भयो। बाघको नजिकै निमप्रसादको शव पनि भेटियो। नरभक्षी पहिचान भएपछि बाघलाई गोली हानेर मारिएको राजेन्द्र बताउँछन्।
'त्यो निकै खतरनाक बाघ थियो। त्यसलाई छाडियो भने फेरि मान्छे मार्छ भन्ठानेर होला मार्ने निर्णय गरेछन्। मरेको बाघलाई हात्तीमा राखेर कसरातिर लगे,' राजेन्द्रले भने, 'भोलिपल्ट गोरखापत्र दैनिकमा बाघको फोटोसहित १६८ किलोको बाघ भनेर समाचार आयो। पछिसम्म पनि गाइनेहरू गीत गाउँदा कान्छो भाले भनेर गाउँथे।'
आज पनि प्रेमप्रसादलाई राप्तीपारि हेर्दा माइलो छोराको याद आउँछ। आँखाहरू रसाउन थाल्छन्।
***