सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा चलिरहेको 'दोस्रो बृहत् सल्यान महोत्सव' मा माघ २६ गते राति आगलागी भएको सूचना सई गोपाल मल्ललाई १०:५७ बजे आत्तिँदै सुरक्षार्थ खटिएका प्रहरीले दिन्छन्।
त्यो सूचना पाउनासाथ सई मल्ल एक टोलीसहित महोत्सवस्थल पुग्छन्। उनी पुग्दा तीन वटा स्टलहरूमा आगो सल्किएको थियो। न दमकल थियो, न कुनै पानीको जोहो। आगो निभाउन प्रयास गर्नुको साटो स्थानीय रमिते मात्रै बनिरहेका थिए। मोबाइलहरू सोझ्याएर भिडिओ र फोटो खिच्न तल्लीन थिए।
त्यो अवस्था देखेर सई मल्ल कराए।
‘तपाईंहरू यस्तो बेला आगो निभाउन लाग्ने कि भिडिओ मात्रै खिच्ने हो? तपाईंहरूको घरमा जे जति भाँडाकुँडा छन्, जे जति पानी छ, सबै लिएर आउनुहोस्, तर रमिते नबन्नुहोस्।’ सई मल्लको कुराले त्यहाँ रमिता हेरिरहेका केही स्थानीय आ–आफ्नो घरतिर दौडिए। घरमा भएका भाँडा वर्तनमा पानी लिएर आउन थाले। कोही वन जंगलबाट स्याउला लिएर आए। स्याउलाले हिर्काउन थाले। आगो निभाउन स्थानीयले गरेको यो प्रयास भिषण आगोको सामु केबल मजाक जस्तो मात्रै देखिन्थ्यो।
त्यही भएर सई मल्लले उपलब्ध आफ्ना प्रहरी र महोत्सवको सुरक्षार्थ खटिएका अन्यलाई अग्नी रेखा बनाउन लगाए।
त्यसपछि थप पानी कहाँबाट ल्याउन सकिन्छ भनेर मल्लले खोजी गर्न थाले। शारदा नदी केही टाढा थियो। त्यहाँबाट पानी तानेर ल्याउने मोटर वा अन्य कुनै प्रबन्ध मिलाउन सके आगो निभाउन सम्भव हुन्छ भन्ने उनलाई लाग्यो। जेनेटर कहाँ छ भन्ने खोजे गरे। संघसंस्था वा बैंकका दुई वटा जेनेटर रहेको पत्ता लाग्यो। तर, ती ठूला थिए तत्कालै मानिसले घटनास्थलसम्म बोकेर ल्याउन सम्भव थिएन।
विद्युतले बत्ती काटेको हुँदा स्थानीयको घरमा समेत बिजुली थिएन। सई मल्ललाई लाग्यो, कम्तीमा स्थानीयको घरमा मात्रै बिजुली बत्ती भइदिए पनि मोटर चलाएर भए पनि पानी आगो लागेको ठाउँसम्म ल्याउन सकिन्थ्यो। झन्डै १२ बजेतिर मल्लले आफै विद्युत प्राधिकरणमा फोन गरे। विद्युतले बिजुली बत्ती छोड्न मानिरहेको थिएन। उनले विश्वस्त पारे, 'हामीले मेला भित्रका सबै बिजुली बत्तीहरू स्विच निकालिसकेका छौं, त्यहाँभित्र बिजुली प्रवाह हुने छैन। जसरी हुन्छ स्थानीयको घरमा बिजुली बत्ती दिनु पर्यो।'
मेलाभित्रै प्रहरीले तयार पारेको अग्नी रेखाले अर्को क्षेत्रमा आगो फैलिन पाएन। त्यो मौका छोपेर सुरक्षित तर्फका व्यवसायी आ–आफ्ना सामान जोगाउन दौडधुप गर्न थाले। आगो निभाउन सहयोग गर्नुभन्दा पनि उनीहरू धमाधम आफ्ना स्टलहरूबाट सामान निकाल्न लागिपरेका थिए।
स्थाानीयको घरमा बिजुली बत्ती आएपछि घरायसी प्रयोजनका लागि जडित मोटरबाट ट्याङ्कीको पानी निकाल्ने क्रम सुरू भयो। त्यसपछि त्यही पानी स्थानीय र प्रहरी मिलेर ओसार्न थाले। गाग्री, बाल्टी जे फेला पर्छ ती सबैबाट पानी ओसार्दै आगो निभाउन थालियो।
मेलामा डेढ सय बढी स्टलहरू राखिएका थिए। अधिकांश सबै कपडा, लत्ता लगायत जुत्ता चप्पलले भरिभराउ रहेको हुँदा छिट्टै आगो फैलियो।
मल्लका अनुसार उनी पुग्दा जम्मा तीन वटा स्टलहरुमा आगो सल्किएको थियो, यदि त्यहाँ तत्कालै दमकल उपलब्ध हुन्थ्यो भने थप अरू तीन वटाभन्दा बढी स्टलहरूमा आगो फैलिन पाउने थिएन।
‘यदि समयमै दमकल आएको हुन्थ्यो भने बढीमा छ वटाभन्दा बढी स्टलहरू जल्न पाउने थिएनन् भन्ने मलाई लाग्छ,’ उनले भने, ‘यहाँ त यस्तो अवस्था रहेछ कि जिल्लाभर एउटै दमकल पनि रहेन छ।’
दमकल नभएकै कारण ठूलो माल सामान जलेर नष्ट भएको तथा आफैले पानी बोकेर जोखिम मोलेर आगो निभाउन तथा अग्नी रेखा निर्माण गर्नुपरेको उनले बताए।
जिल्ला प्रहरी प्रमुख डिएसपी केशव न्यौपानेले दमकल नहुँदा समयमै आगो निभाउन नसकिएको र त्यसबाट ठूलो धनमाल जलेर नष्ट भएको बताए।
उनका अनुसार झन्डै चार करोड बढीको सरसामान जलेर नष्ट भएको छ। मानवीय त्रुटिका कारण आगलागी भएको आशंका गरिए पनि अझै मेलामा आगलागीको कारण यही भन्ने पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको उनले बताए।
मेला महोत्सवको सुरक्षार्थ प्रहरी र मेला आयोजकका आफ्नै गार्डहरू रहे पनि उनीहरू रातिमा कोही भित्र नबस्ने हुँदा विद्युत सर्ट भई आगलागी भएको अनुमान प्रहरीको छ।
यत्रो ठूलो मेला महोत्सव सञ्चालन गर्दा सञ्चालकले एउटा पनि सिसिटिभी जडान नगर्नुले पनि घटना अनुसन्धान गर्न कठिन भएको प्रहरी बताउँछ।
बाँके कोहलपुरका मेलाका व्यवस्थापक नारायण भट्टराईले मेला महोत्सवमा केही आर्जन गरौंला भनेर जिल्ला बाहिरबाट आएका व्यापारी आगलागीबाट सामान जलेर नष्ट भएपछि ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको हुँदा राज्यले राहत दिनुपर्ने बताए।
‘हामीमाथि ठूलो बज्रपात पर्यो,’ उनले भने, ‘त्यत्रो आगो लाग्दा एउटै दमकलको अनुहार हामीले देख्न पाएनौं। यो राज्यलाई हामीले कर तिर्ने मात्रै होइन होला। विपद पर्दा त्यो अनुरूपको सेवा सुविधा पाउनु पर्छ भन्ने हाम्रो माग हो।’
शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले मंगलबार बिहान विपद व्यवस्थापन समितिको बैठक बसेको र त्यो बैठकले आगलागीबाट व्यापारीले ठूलो क्षति बेहोर्नु परेको हुँदा गृह मन्त्रालयमा क्षतिपूर्तिका लागि पत्राचार गर्ने निर्णय गरेको बताए।
मेयर भण्डारीले शारदा नगरपालिकाले लिँदै आएको आन्तरिक मनोरञ्जन करमा छुट दिने निर्णय गरेको पनि बताए।
श्रीनगरमा माघ १८ गतेदेखि सुरू भएको महोत्सवमा ८ औं दिनका दिन २६ गते मध्यराति आगलागी भएको थियो। जसबाट झन्डै चार करोड बढीको क्षति भएको विवरण प्रहरीले निकालेको भए पनि व्यवसायी त्योभन्दा धेरै नै क्षति भएको दाबी गर्दै आएका छन्।
प्रहरीले संकलन गरेको तथ्यांक अनुसार ५४ जना व्यवसायीका ७७ वटा स्टलहरू आगलागीले पूर्ण रूपमा नष्ट भएका छन्।