रूकुम पूर्वमा दुई जना छिमेकीलाई खुकुरी प्रहार गरी भाग्दै गरेका व्यक्तिको भिरबाट लडेर त्यही खुकुरीले लाग्दा मृत्यु भएको छ।
जिल्लाको भूमे गाउँपालिका – ४ मा मंगलबार दिउँसो सवा ३ बजेतिर ६० वर्षीया ढाँटी बुढा र उनका ८ महिनाका नाति समिर बुढाको खुकुरी प्रहार गरी हत्या भएको थियो।
जिल्ला प्रहरी प्रमुख डिएसपी माधव खरेलका अनुसार उनीहरूको हत्या छिमेकी ५१ वर्षीय चन्द्रसिंह पुनले गरेका थिए।
हजुरआमा र नातिको हत्या गरी पुन भागेको भन्ने खबर पाउनासाथ ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो।
'हत्यामा प्रयोग भएको खुकुरी देखाउँदै एक जना भागेको भन्ने सूचनामा आधारमा हामी झन्डै सत्तरीको हाराहारीमा प्रहरी परिचालन भएका थियौं,' डिएसपी खरेलले भने, 'फरार अभियुक्तको खोजी गर्दै जाने क्रममा उनी पनि खुलखुले खोलामा मृत अवसथमा फेला परेका हुन्।'
खुलखुले खोलामा मृत अवस्थामा फेला परेको पुनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिएको थियो।
डिएसपी खरेलका अनुसार ठूलो संख्यामा प्रहरी परिचालन भएको र आफूलाई खोजी गर्न आएको थाहा पाएपछि पुन भाग्ने क्रममा भिरबाट लडेका थिए। त्यही बेला उनले हत्यामा प्रयोग गरेको खुकुरीले उनको टाउकोमा लागेको थियो।
भिरबाट लडेको र खुकुरीले टाउकोमा गम्भीर चोट लागेको घटनास्थलको प्रकृतिबाट खुल्ने डिएसपी खरेलले बताए।
पुनले नाबालक र उनकी हजुरआमाको हत्या किन गरे भन्नेबारे अनुसन्धान हुन बाँकी रहेको उनले बताए।