प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि बाघको विषयमा दिएको अभिव्यक्तिको चौतर्फी चर्चा भयो।
'यति सानो देशमा साढे तीन सयभन्दा धेरै बाघ छन्। यो बढी भयो, हामीलाई डेढ सय भए पुग्छ,' उनले भने, 'जति भन्यो त्यति बाघ पाल्न हुँदैन। वनको क्षमता हेरेर पाल्नुपर्छ। मान्छे खुवाएर बाघ पाल्न सकिँदैन, त्यस्तो गल्ती गर्न हुँदैन।'
हुन पनि पछिल्लो समय चितवन र बर्दियामा बाघको आक्रमणबाट मानवीय क्षतिका घटना बढेका छन्। शिकारको खोजीमा बाघ जंगलबाट गाउँ पसेको र गाईवस्तु सँगसँगै मान्छेलाई नै आहारा बनाएका खबर दिनहुँजसो सुनिन थालेका छन्।
त्यसो भए के प्रधानमन्त्री ओलीले भनेजस्तैस हामीकहाँ वनको क्षमताभन्दा बाघको संख्या धेरै भएकै हो त?
हामीले यसबारे चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर र प्रमुख संरक्षण अधिकृत गणेश पन्तसँग विस्तारमा कुराकानी गरेका छौं।
कुँवरका अनुसार पहिले चितवन निकुञ्जमा एउटा भाले बाघले ४०-४५ वर्गकिलोमिटरलाई आफ्नो क्षेत्र कायम गर्ने आकलन गरिन्थ्यो। अहिले यसमा परिवर्तन भएको छ। घाँसे मैदानको व्यवस्थापन र बाघले सिकार गर्ने जनावर वृद्धि भएसँगै बाघ १० वर्गकिलोमिटर क्षेत्रमै सीमित रहेको आकलन छ।
यस हिसाबले चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र गरेर १७० वटाजति बाघ रहनसक्ने कुँवर बताउँछन्। भाले बाघ एउटा क्षेत्रमा एकभन्दा बढी रहँदैन। त्यो ठाउँमा पोथी र डमरूहरू भने रहन सक्छन्।
'एउटा बाघ बराबर १० वर्गकिलोमिटर क्षेत्रको हिसाब गर्दा मध्यवर्ती क्षेत्रलाई छाड्ने हो भने पर्सा-चितवनको कोर क्षेत्रमा डेढ सयभन्दा बढी बाघ रहन सक्छन्,' उनले भने, 'एउटा वयस्क बाघका लागि साताको कम्तिमा एउटा वयस्क जनावर आहारा चाहिन्छ। वर्षमा ५० वटा आहाराका लागि उसको क्षेत्रमा ५ सयजति जनावर हुनुपर्छ। त्यसैले अरू वन्यजन्तुको संख्या कति छ भन्नेले पनि बाघको बासस्थान तय गर्छ।'
बाघको संख्या मान्छेले नभई प्रकृतिले निर्धारण गर्छ भन्ने कुँवरको भनाइ छ।
'तराईका ३६ वटा जिल्लालाई चुरेले छोएको छ। सन् २०२२ को गणनामा देशभर ३५५ वटा बाघ भेटिँदा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १२८ वटा भेटिएका थिए भने पर्सा-चितवनमा १६९ वटा भेटिएका थिए। त्यसैले मेचीदेखि महाकालीसम्मको चुरे संरक्षण गर्ने हो भने नेपालमा ५ हजारभन्दा बढी बाघ सजिलै रहन सक्छन्,' उनले भने।
'उपयुक्त बासस्थान पायो भने बाघ चुरे क्षेत्रको जुनसुकै ठाउँमा पुग्न सक्छ,' उनले अगाडि भने, 'हामीले बारा, रौतहट, सर्लाही, सिराहा हुँदै पूर्वको मेची र पश्चिममा महाकालीसम्म चुरे क्षेत्र संरक्षण गर्यौं, बासस्थान तयार पार्यौं भने पर्सा-चितवनका बाघ त्यता पनि फैलिँदै जान्छन्। त्यसैले बाघको संख्या बढी भयो भन्ने हुँदैन।'
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त पनि पर्सा-चितवन क्षेत्रसँग भारतको वाल्मीकि टाइगर रिजर्भ जोडिएकाले यो क्षेत्रमा २ सयभन्दा बढी बाघ भए पनि समस्या नहुने बताउँछन्।
उनका अनुसार वाल्मीकिमा सन् २००६ मा १० वटा बाघ थिए। सन् २०१० मा ८ वटा, २०१४ मा २८ र २०१८ मा २२ वटा बाघ भेटिएकोमा सन् २०२२ को गणनामा ५४ वटा बाघ भेटिएका थिए। भारत सरकारले वाल्मीकि टाइगर रिजर्भमा बाघ संरक्षणका लागि प्राथमिकताका साथ काम गरिरहेकाले त्यहाँ राम्रो बासस्थान तयार भइरहेको पन्त बताउँछन्।
'यसले पर्सा-चितवनमा रहेका बाघहरूलाई पनि आउजाउ गर्न सुविधा हुनेछ,' उनले भने, 'मुख्य कुरा व्यवस्थापन हो। मान्छेहरू एउटा कोठामा कति जना बस्न सक्छन्? कहिले एक जनालाई पनि नपुग्न सक्छ, कहिले ४-५ जना पनि बस्छन्। प्रकृतिमा पनि त्यस्तै हो। भारतमा निकै सानो क्षेत्रमा बाघ रहेको देखिन्छ भने रूसमा एउटै बाघले २०० वर्गकिलोमिटर क्षेत्र ओगटेको देखिन्छ।'
सन् २०१० मा रूसमा भएको विश्व बाघ सम्मेलनमा नेपाल सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने घोषणा गरेको थियो। त्यति बेला यहाँ १२१ वटा बाघ थिए। यो घोषणा कार्यान्वयन गर्न विदेशी निकायहरूले सहयोग गरे। लक्ष्यभन्दा बढी प्रगति भयो। यसैलाई हेरेर कतिपयले विदेशीका लागि बाघ पालेको आरोप पनि लगाउँछन्। बाघको आक्रमण रोक्न बाघ नै मास्नुपर्छ भनी तर्क गर्नेहरू पनि भेटिन्छन्।
यसमा कुँवरको भनाइ छ, 'गाडी दुर्घटनामा दर्जनौं मान्छेको मृत्यु हुन्छ, तर गाडी गुडाउनै छाडिन्छ त? जहाज दुर्घटना भएर सयौंको ज्यान जान्छ, के हामीले जहाज उडाउनै बन्द गरेका छौं? मुख्य कुरा, दुर्घटना कसरी रोक्ने भन्ने हो।'
'नेपालमा बाघको कारण मृत्यु हुनेको संख्या दुर्घटनाबाट मृत्यु हुनेको तुलनामा एक प्रतिशत पनि छैन,' उनले भने, 'बाघका कारण मृत्युको घटना पनि अधिकांश मानवीय त्रुटि र कमजोरीले भएका छन्।'
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार बाघको आक्रमणमा परेर नेपालमा पछिल्लो पाँच वर्षयता ६५ जनाको मृत्यु भएको छ।
अब प्रश्न उठ्छ, बाघले कस्तो बेला मान्छेको सिकार गर्छ त?
संरक्षणकर्मीका अनुसार सबै बाघ नरभक्षी हुँदैनन्। बूढो भएर जनावर सिकार गर्न नसक्ने, आफ्नो क्षेत्र कायम गर्न खोज्दा घाइते भएको वा आपसी भिडन्तबाट घाइते बाघले सजिलो सिकार खोज्छ। त्यो अवस्थामा ऊ जंगल बाहिर आउने भएकाले घरपालुवा चौपाया वा मान्छे निसानामा पर्न सक्छन्।
उदाहरणका लागि — केही महिनाअघि मकवानपुरको मनहरीमा भैंसीसँग जुधेर घाइते भएको बाघ जंगलबाट निस्किएको थियो। वन्यजन्तु सिकार गर्न नसक्ने भएपछि ऊ सजिलो सिकार खोज्दै बस्ती पसेको थियो।
केही दिनअघि माडीको बाँदरझुला क्षेत्रबाट उद्धार गरिएको बाघ पनि आफ्नो क्षेत्र कायम गर्न नसकेर गाउँ पसेको भेटिएको थियो।
केही महिनाअघि नारायणघाटस्थित नारायणी नदी किनारमा मान्छेमाथि आक्रमण गर्ने बाघले पनि बाटो बिराएको हुनसक्ने अनुमान छ।
जंगलभित्र आफूलाई असुरक्षित महसुस गर्यो भने पनि बाघले आक्रमण गर्न सक्छ। त्यसबाहेक बाघबाट भएका आक्रमणका घटना मान्छेहरू आफ्नो आवश्यकता पूर्ति गर्न जंगल पस्दा हुने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्त बताउँछन्।
यति हुँदाहुँदै हिंस्रक बाघहरूलाई सिकार गर्ने चलन राणा र राजाकै पालामा चलिआएको थियो। त्यति बेला जनताको गुनासोका आधारमा दुःख दिने बाघ खोजेर सिकार गरिन्थ्यो। बाघको संख्या चाहिनेभन्दा बढी नहोस् भनेर पनि सिकार गर्ने चलन थियो। यस्तो सिकारमा विदेशी भिआइपी पाहुना पनि सहभागी हुन्थे।
लडाइँमा जानुअघि शत्रुपक्षको हत्या गर्न सहज होस् भनेर वन्यजन्तुको सिकार गर्दै बानी पार्ने चलन पनि रहेको संरक्षणकर्मीहरू बताउँछन्।
अचेल भने निकुञ्जले समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिएर थुन्ने गरेको छ। अहिले पनि ७ वटा बाघ चितवनको कसरा, देवनगर र सौराहामा थुनेर राखिएका छन्। चितवनबाट नियन्त्रणमा लिइएका दुइटा बाघ पर्साको थुनामा छन्। यसरी थुनिएका बाघलाई इकोलोजिकल डेथ (मृत सरह) मानिन्छ।
कुराकानीकै क्रममा हामीले 'जंगलमा बाघ नै नभए के हुन्छ?' भन्ने प्रश्न पनि गरेका थियौं।
जबाफमा कुँवरले काठमाडौंको बागमती नदीको प्रसंग झिके र भने, 'बागमती अतिक्रमणले बर्खामा काठमाडौंको हालत के भयो, हामी सबैले देख्यौं। गाडी गुड्ने सडकमा डुंगा चलाउनुपर्ने अवस्था आयो। प्रकृतिमाथि मानवीय हस्तक्षेप बढ्दै गए यस्ता विपत्ति बढ्दै जान्छन्। बाघको कुरा यसैसँग जोडिन्छ।'
उनका अनुसार चुरे र आसपासको क्षेत्र सन्तुलित छ कि छैन भन्ने बाघको उपस्थितिले निर्धारण गर्छ।
उनले यसलाई थप व्याख्या गर्दै भने, 'चितवन निकुञ्जको कोर क्षेत्रभन्दा बाहिरका खोला-नदीको चौडाइ निरन्तर बढिरहेको छ। यसले बाढी र पहिरो बर्सेनि बढ्दै छ। दक्षिणतर्फ माडीको मगुई खोलालाई नै हेरौं, त्यहाँको चौडाइ र बाढी दुवै बढेको छ। उत्तरमा पम्फा खोला र कर्रा खोलाको अवस्था पनि उस्तै छ। यी ठाउँमा बाढीपहिरोले जमिन मरूभूमि बन्ने अवस्था आउँदैछ। तर निकुञ्जको कोर क्षेत्रका खोलाहरू हेर्ने हो भने तल्लो तटीय क्षेत्रमा पनि खासै असर परेको देखिँदैन। निकुञ्जको चुरे क्षेत्र संरक्षण हुनुमा यहाँका बाघहरूको ठूलो भूमिका छ। बाघ कम भएका उत्तर र दक्षिणतिर विनाश बढी भएका छन्।'
त्यसैले बाघलाई पर्यटक आकर्षित गर्ने जनावरका रूपमा मात्र बुझ्नु गलत भएको कुँवर बताउँछन्।
'अस्ट्रेलियामा बाघ पाइँदैन। कंगारू त्यहाँको महत्त्वपूर्ण जनावर हो। नेपालमा सालको जंगल छ, अस्ट्रेलियामा मसलाको जंगल छ। हामीले बाघको बासस्थान सपार्नतिर नलागेर कंगारूतिर ध्यान दिने र सतिसाललाई छाडेर मसला रोप्नेतिर लाग्नु हुँदैन। अस्ट्रेलियाले कंगारूका लागि काम गर्ने हो, हामीले बाघका लागि,' उनले भने।
आगामी दिनमा वन्यजन्तु र मानव दुवै सुरक्षित हुने गरी व्यवस्थापनका काम गर्नुपर्ने कुँवर र पन्त दुवैको सुझाव छ।
निकुञ्जको कोर-क्षेत्रलाई वन्यजन्तुको निम्ति र मध्यवर्ती क्षेत्रलाई मान्छेको आवश्यकता पूर्तिमा प्रयोग गर्ने हो भने दुवैको हित हुने पन्त बताउँछन्।
'अहिले वन्यजन्तु र मानवको द्वन्द्व नियन्त्रण गर्न भनेर वन क्षेत्रलाई तारबारले घेर्ने गरिएको छ। तर मलाई त मान्छेको बस्ती घेर्नुपर्छ जस्तो लाग्छ,' पन्तले भने, 'अधिकांश घटना मान्छेहरू वनभित्र जाँदा भएका छन्। यसलाई कम गर्न सचेतना कार्यक्रम बढाउने, जंगलमा आश्रितहरूलाई वैकल्पिक व्यवस्था गर्नतिर लाग्नुपर्छ।'
कुँवर पनि बाघको संख्या घटाउनतिर भन्दा बाँकी रहेको वन क्षेत्र संरक्षण गर्दै वन्यजन्तुलाई बस्तीमा निस्कन नदिने र मान्छेलाई संरक्षित क्षेत्रमा जान नपर्ने अवस्था सिर्जना गर्नतिर सरकार लाग्नुपर्ने बताउँछन्।
'हाम्रा पुर्खाहरू सहअस्तित्व कायम गरेर संघर्ष गर्दै बाँच्दै आएका हुन्। गाउँघरतिर खेतीबाली जोगाउन, आफू पनि जोगिन बान्दो, पर्खाल लगाउने चलन थियो। अहिले पनि हामी घरको ढोकामा ताला लगाउँछौं। सुरक्षाका लागि कम्पाउन्ड बनाउँछौं,' कुँवरले भने, 'जंगल छेउमा बस्नेहरू अझ बढी सचेत हुनुपर्छ। आफू सचेत भएपछि अरूले क्षति गर्न पाउँदैन।'
***