अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहायता रोके पनि इसराइल विरूद्ध इन्टरनेशनल कोर्ट अफ जस्टिसमा (आइसिजे)मा हालेको नरसंहारको (जेनोसाइड) मुद्दा अघि बढाउने दृढता दक्षिण अफ्रिकाले व्यक्त गरेको छ।
ट्रम्पले गत हप्ता इसराइल विरूद्ध हेगमा रहेको आइसिजेमा हालेको मुद्दा र नयाँ जमिन अधिग्रहण कानूनका कारण दक्षिण अफ्रिकालाई अमेरिकाले दिँदै आएको सहायता रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
दक्षिण अफ्रिकाले ल्याएको नयाँ जमिन अधिग्रहण कानूनले सरकारलाई जायज लागे बिना कुनै क्षतिपुर्ति व्यक्तिगत जमिन अधिग्रहण गर्ने अधिकार दिन्छ। दक्षिण अफ्रिकामै समेत विरोध भएको सो कानून अल्प-संख्यक गोराहरूको जमिन हडप्न ल्याइएको आरोप लगाउँदै ट्रम्पले समेत विरोध गरेका छन्।
त्यस्तै अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको इसराइल विरूद्ध गजाका प्यालेस्टिनीको नरसंहार गरेको मुद्दा चलाएकाले पनि ट्रम्प दक्षिण अफ्रिकासँग क्रुद्ध छन्।
तर दक्षिण अफ्रिकाका विदेश मन्त्रीले रोनाल्ड लमोलाले ट्रम्पको धम्कीको बाबजुद दक्षिण अफ्रिकाले सो मुद्दा फिर्ता लिने कुनै सम्भावना नरहेको बताएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
ट्रम्पको कदम पछि दक्षिण अफ्रिकाले अमेरिकाबाट पाइरहेको करिब ४४ करोड डलरको सहायता मात्रै नभएर अमेरिकी बजारमा दक्षिण अफ्रिकी सामानले भन्सार नलगाइ पाउने पहुँच समेत गुम्ने खतरा बढेको छ।
रंगभेदी दक्षिण अफ्रिकी राज्यका विरूद्ध संघर्ष गर्दाताका तत्कालीन सोभियत संघसँग राम्रो सम्बन्ध रहेको सत्तारूढ अफ्रिकन नेशनल कंग्रेसले युक्रेनमाथि रूसले हमला गरेपछि पनि रूससँग सुमधुर सम्बन्ध राखेकाले पनि पछिल्ला वर्षमा अमेरिका र दक्षिण अफ्रिकाको सम्बन्ध तनावपूर्ण छ।
इसराइलले गजामा प्यालेस्टिनीको नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाले आइसिजेमा एक वर्ष अघि मुद्दा चलाएपछि सम्बन्ध झन् बिग्रिएको थियो। दोस्रो विश्व युद्धताका हिटलरको नाजी जर्मनीले दशौं लाख निहत्था यहुदीको नरसंहार गरेजस्तो कुनै जातिको फेरि पनि नरसंहार नहोस् भनेर आइसिजेको स्थापना भएको हो।
हिटलरले गरेको नरसंहारबाट जोगिएका संसारभरिका यहुदीलाई सुरक्षित राख्न बनाइएको देश इसराइलमाथि नै नरसंहार गरेको मुद्दा चलेपछि इसराइल मात्रै नभएर अमेरिका पनि रिसाएको छ।
सो मुद्दामा सुनुवाइ गर्दै आइसिजेले २०२४ जनवरीमा आफ्ना सेनाले गाजामा नरसंहार नगरून् भनेर रोक्न आफ्नो शक्तिले भ्याएसम्म सबै प्रयास गर्न इसराइली सरकारलाई आदेश दिएको थियो।
हमासले २०२३ अक्टोबर ७ मा गरेको आतंककारी हमलाको जबाफमा इसराइलले गजामा आक्रमण गरेर विध्वंश गरेको छ। इसराइलले मारेका ४५ हजार भन्दा बढी प्यालेस्टिनीमा हमासका लडाकु मात्रै नभएर हजारौं महिला र बालबालिका सहित सर्वसाधारण पनि छन्।
हेगमै रहेको इन्टरनेशनल क्रिमिनल कोर्ट (आइसिसी)ले पनि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरूद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ।
गत नोभेम्बरमा युद्ध अपराध र मानवता विरोधी अपराधमा संलग्न रहेको भन्दै नेतन्याहूसँगै पूर्वरक्षामन्त्री याओभ गालान्टका नाममा पनि पक्राउ पुर्जी जारी भएको थियो।
सो अदालतले तत्कालीन हमास प्रमुख इस्माइल हनिये र गजाका तत्कालीन हमास प्रमुख र अक्टोबर ७ को हमलाको प्रमुख योजनाकार याया सिन्वर विरूद्ध पनि छानबिन गरेको थियो। तर उनीहरूलाई इसराइलले मारे पछि पक्राउ पुर्जी जारी गरेको थिएन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)