दुई/तीन महिनाअघिको कुरा हो!
काठमाडौं- १ (नाम परिवर्तन) सामाजिक सञ्जालमा आफ्ना गोप्य तस्बिर पठाएर पैसा मागिररहेको गुनासो लिएर साइबर ब्युरो आएकी थिइन्।
उनलाई फेसबुकमा आफ्ना गोप्य तस्बिरहरू पठाउँदै पैसा मागेपछि काठमाडौं-१ ब्युरो पुगिन्। आफूले मागेजति पैसा नदिएमा भिडिओ/ फोटो सार्वजनिक गर्ने धम्की दिएपछि उनी प्रहरीको आइपुगेको साइबर ब्युरोकी प्रहरी वरिष्ठ नायब निरीक्षक सावित्री कार्कीले जानकारी दिइन्।
उनका अनुसार काठमाडौं १ ले ब्युरोमा उजुरी दिएपछि प्रहरीले यस घटनामा अनुसन्धान थाल्यो। अनुसन्धानको क्रममा उनलाई फेक एकाउन्टबाट पैसा माग्ने उनकै प्रेमी भएको तथ्य फेला पर्यो।
'उनीहरू लिभिङमा बस्दै आएका रहेछन्, प्रेमिका जागिरेसँगै आर्थिक पक्ष बलियो भएकाले प्रेमीले नक्कली एकाउन्ट बनाएर धम्की दिँदै पैसा लिने गरेको प्रहरी अनुसन्धानमा खुल्यो,' कार्कीले भनिन्, 'प्रेमीले भने जागिरहरू केही नगर्ने उनकै कमाइमा रमाइरहेको रहेछ।'
एकअर्काको प्रेम-प्रेमिका भएरै विश्वास गर्दा पनि काठमाडौं-१ ले मानसिक तानव झेल्नुपर्यो। पछि प्रेमीलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही गर्यो। त्यसपछि उनीहरू छुट्टिए कि के भयो भन्नेकुरा प्रहरीलाई थाहा भएन।
काठमाडौं-२ (नाम परिवर्तन) बालकको नामबाट स्कुलको ग्रुपमा आफ्नै आमाकी गोप्य तस्बिरहरू छताछुल्ल भयो। त्यो कुरा बालकले पनि शिक्षकहरूले भनेपछि थाहा पाए।
शिक्षकहरूले त्यस्तो प्रश्न गर्नसाथ आफ्नो कारण आमाको बेइज्जत भएको भन्दै ती बालक स्कूल छोडेर भागे। घर पनि गएनन्। साँझसम्म घर नगएपछि काठमाडौं-२ की आमा छोरालाई खोज्दै स्कुल पुगिन्।
'छोराको नामबाट स्कुलमा आफ्ना गोप्य तस्बिर छताछुल्ल भएको थाहा पाएर छोरा स्कुल छोडेर हिँडेको जानकारी पाएपछि ब्युरोमा रूँदै आइपुगेकी थिइन्,' कार्की भन्छिन्- 'अनुसन्धानको क्रममा ती तस्बिर छोराले नभई उनकै श्रीमानले पठाएको पायौं।'
उनका अनुसार श्रीमतीबाट छुटकारा पाउन त्यस्तो हर्कत गरेको प्रहरी अनुसन्धानमा खुल्यो।
काठमाडौं- ३ (नाम परिवर्तन) काठमाडौंको एक क्याफेमा चिया खान पसेकी थिइन्। त्यही बेला मोबाइल चार्ज गर्न रेष्टुरेन्टका कर्मचारीलाई फोन दिइन्।
चिया खाएर निस्किनेबित्तिकै उनको फेसबुक ह्याक भएको भन्दै ब्युरो आइपुगेकी थिइन्। उक्त घटनामा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताइन्।
त्यस्तै, एक युवती आफ्नो आइडी पासपोर्ट कतै सेयर नगरिकिन आफ्नो गोप्य फोटोहरू अन्जान व्यक्तिले पठाएर धम्की दिएको भन्दै साइबर व्युरोमा आइपुगेकी थिइन्।
'अनुसन्धानको क्रममा ती युवतीको फेसबुक ह्याक गरेर पूर्वप्रेमीसँगको च्याटबाट तस्बिरहरू निकालेर ह्याकरले धम्की दिएको देखियो,' उनले भनिन्, 'यस्ता केस दिनहुँ आइरहेका हुन्छन्। त्यसैले यसबारे अब हामी सजग हुनुपर्छ।'
उनले यी केसहरू बिहीबार भ्वाइस अफ चिल्ड्रेन र आइवर्ट नेपालले संयुक्त रूपमा गरेको 'अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि संचारकर्मीको भूमिका' भन्ने कार्यक्रममा भनेकी हुन्।
उनले डिजिटल प्रयोग बढेसँगै महिला र बालबालिकामाथि हुने अपराधका घटनाहरू पनि बढेको बताइन्।
यसमा प्रहरीले अपराधिक क्रियाकलाप गर्ने व्यक्तिलाई कारबाही गरेसँगै प्रयोगकर्ताहरू पनि सचेत हुनुपर्ने उनको भनाइ छ।
उनका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बेलाबेलामा पासवर्डहरू फेरिरहनुपर्छ। साथै आफू कहाँ जाँदैछु, के गर्दैछु भनेर लाइभ लोकेसन सेयर गर्न हुँदैन।
'हरेक कुरा सामाजिक सञ्जालमा सेयर गरिरहँदा अर्को व्यक्तिले त्यसको फाइदा उठाउने गरेको देखियो,' कार्कीले भनिन्, 'व्यक्तिगत विवरण श्रीमान-श्रीमतीमा पनि कमै सेयर गरेको राम्रो हुन्छ।'
श्रीमान-श्रीमती हुँदा होस् वा प्रेमी-प्रेमिका हुँदा सम्बन्ध बिग्रिएपछि एकअर्काको व्यक्तिगत विवरण तथा गोप्य तस्बिरहरू बाहिर ल्याइदिने गरेका घटना प्रशस्त छन्। त्यसैले यसबारे प्रयोगकर्ता नै सजक हुनुपर्ने उनले जानकारी दिइन्।
एकपल्ट खिचेका तस्बिर तथा सामाजिक सञ्जालमा राखेका फोटोहरू गुगलबाट कहिले पनि हट्दैन। सामाजिक सञ्जालको सञ्चालक टिमसँग एकपल्ट मोबाइलमा भएको सबैकुरा सधैं रहिरहने उनको भनाइ छ।
उक्त कार्यकम्रमा बोल्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले पनि सामाजिक सञ्जालको प्रयोगसँगै दुरूपयोगले घटनाहरू बढ्दै गइरहेको जानकारी दिइन्।
सामाजिक सञ्जालमा हुने घटनाहरू पहिला काठमाडौंको साइबर ब्युरोमा मात्र दर्ता हुन्थ्यो। त्यसकारण टाढा-टाढाका मानिसहरूले गुनासो गर्न थालेपछि ब्युरो र प्रहरी प्रधान कार्यालयलाई आयोगले पटकपटक पत्राचार गर्यो। त्यसपछि ७७ जिल्लाबाट उजुरी दिने व्यवस्था भएको अध्यक्ष पराजुली बताउँछिन्।
'हामीले डिजिटल अपराधका घटनामा कुनै पनि कारबाही अगाडि नबढाए पनि महिलाहरू कहाँ जाने के गर्ने टुङ्गो लगाउन नसकेर आउनुहुन्छ, उहाँहरूको समस्या अनुसार हामी सल्लाह दिन्छौं,' अध्यक्ष पराजुलीले भनिन्, 'त्यसैले सामाजिक सञ्जाल नियन्त्रणका लागि पनि अहिले चर्चामा रहेको सामाजिक सञ्जाल विधेयक सही छ भन्ने लाग्छ।'
उनी सामाजिक सञ्जालमा महिला, बालबालिकामात्र नभई पुरूषहरू पनि पीडित बन्दै गएका छन्। त्यही कारण यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।
पत्रकार महासंघको अध्यक्ष निर्मला शर्माले पनि बौद्धिक वर्ग मानिने महिला पत्रकारहरूसमेत डिजिटल अपराधबाट पीडित भएको गुनासो दिनहुँ बढ्दै गइरहेको छ। पत्रकार महिलामाथि हुने हिंसामा पछिल्लो समय डिजिटल हिंसाले ठूलो क्षेत्र ओगटेको उनी बताउँछिन्।
'पत्रकारबाटै ह्यारेसमेन्ट भएर रूँदै सुनाउन आउनुहुन्छ,' अध्यक्ष शर्माले भनिन्, 'यहाँ कुनै पनि महिला सुरक्षित छैनन्।'
भ्वाइस अफ चिल्डेनका अध्यक्ष कार्यकारी निर्देशक कुष्णकुमार थापाका अनुसार महिला र बालिकामात्र नभई बालकहरू पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भएको दाबी गर्छन्।
पछिल्लो समय केटालाई केटी बनेर र केटीलाई केटा बनेर अनलाइनमा यौन दुर्व्यवहार भइरहेको छ। केहीदिन अघिमात्र डेटिङ एप टेन्डरमा एक युवकलाई युवती बनेर ५ लाख रूपैयाँ लिएको गुनासो आइरहेको थियो। डेटिङ एपमा चिनजान भई पटक/पटक पैसा मागेपछि ठगिएको महसुस गरेर उनी प्रहरीको गएको हामीलाई जानकारी आएको थियो।
'उक्त पैसा माग्ने केटी नभएर केटा नै भएको प्रहरी अनुसन्धानमा खुलेको थियो,' कार्यकारी निर्देशक थापा भन्छन्, 'हामीले केएनएच जर्मनीसँग मिलेर २०२३ मा गरेको अनुसन्धानमा ३८ प्रतिशत बालिका र ३२ प्रतिशत बालकहरू यौन दुर्व्यवहारमा परेका छन्।'
उनका अनुसार बालकहरूलाई यौनजन्य सन्देशहरू पठाउने, अश्लिल फोटो, भिडिओ पठाउने गरेको पाइएको छ।