भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व बुधबार देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो। परब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ। माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ।

-1740540638.jpg)
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ।
ईशानेश्वर महादेवस्थानमा भक्तजनको भीड
महाशिवरात्रिका अवसरमा लमजुङको प्रमुख शिवालय ईशानेश्वर महादेवस्थानमा भक्तजनको बिहानैदेखि भीड लागेको छ।
सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने ईशानेश्वर महादेवस्थानमा विशेषगरी दूध चढाउन र बत्ती बाल्न भक्तजन आउने गरका छन् । महाशिवरात्रि पर्वका अवसरमा यहाँ दूध चढाउने बत्ती बाल्ने चलन छ ।
पाल्पाको सिद्धबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो
महाशिवरात्री पर्वको अवसरमा पाल्पाको सिद्धबाबा मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लागेको छ। बुटवल नजिकै पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेकोे सिद्धबाबा मन्दिरमा महाशिवरात्रीको दिन हरेक वर्ष विशेष पूजाआजा हुँदै आएको छ।
यस वर्ष पनि बुधवार विहानैदेखि विशेष पूजा अर्चनाको आयोजना गरिएको छ। पश्चिम नेपालकै प्रशिद्ध सिद्धबाबाधाममा बुधवार बिहान तीन बजेदेखि नै दर्शनार्थीहरूको घुँइचो लागेको थियो। मन्दिर व्यवस्थापन समितिले बिहान चारबजेदेखि दर्शनको लागि मन्दिर खुल्ला गरेको थियो।
सोही अनुरूप बिहान आठबजेसम्म १५ हजार बढीले मन्दिरको दर्शन गरिसकेको महाशिवरात्री मेला संयोजक तथा मन्दिर व्यवस्थापन समितिका सदस्य तोया लम्सालले जानकारी दिए। विगतका वर्षहरूको तथ्यांकको आधारमा आज ५० हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजाआजा गर्ने अनुमान गरिएको छ।
मन्दिरमा बिहानैदेखि शिवपूजन, अखण्ड हरी कृतन, रुद्राभिषेक पूजा र विशेष पाठ गरिएको छ। सिद्धबाबा मन्दिरमा लुम्बिनी प्रदेशका जिल्ला मात्र नभई नेपालका विभिन्न जिल्ला र भारतको गोरखपुरबाट समेत भक्तजन आउने गरेका छन्।
सिद्धबाबा मन्दिर विकास समितिले महाशिवरात्रिको अवसरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले जानकारी दिए। मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको सहजताका लागि टोकनको व्यवस्था गरिएको छ। त्यस्तै बुटवलको योगीकुटी, कालिकानगर, अस्पताललाइन, देवीनगर, शान्तिचोक, मिलनचोक, ट्राफिक चोक र गोलपार्कबाट सातवटा बसले मन्दिरमा जान चाहने दर्शनार्थीलाई निशुल्क यातायातको सुविधा दिएका छन्। यातायात सेवा दिनभर उपलब्ध गराइने अध्यक्ष शेरचनले जानकारी दिए। वृद्धवृद्धा, अशक्त, असाहयहरूले भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्नेछन्।
महाशिवरात्रीको दिन अन्य समयभन्दा भक्तजनको भीड बढी हुने भएका कारण प्रहरी चौकी दोभानसँग समन्वय गरी ३० जना सुरक्षाकर्मी, स्थानीय युवा तथा सामाजिक संघ संस्थाबाट १५० बढी स्वयंसेवक र मन्दिरमा जडान गरिएका १८ वटा सिसीटिभी क्यामेराबाट निरन्तर निगरानी भइरहेको अध्यक्ष शेरचनले बताए।
विगतमा भक्तजनहरू २ देखि ३ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेकोमा यसवर्ष ४ वटा लाइनको व्यवस्था गरी १ घण्टाभित्रमै दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए। यहाँ नेपालका विभिन्न जिल्लाहरूसँगै भारतबाट समेत दर्शनार्थी आउने गरेका छन्। सिद्धबाबाको मुख्य मन्दिर पुरानो र खण्डहर अवस्थामा रहेकोले पश्चिम नेपालको पशुपतिका रूपमा विकास गर्ने गरी मुख्य मन्दिरको जीर्णोद्धार गर्न लागिएको अध्यक्ष शेरचनले बताए।
-1740540520.jpeg)
-1740540520.jpeg)
-1740540519.jpeg)
-1740540519.jpeg)
-1740540518.jpeg)
-1740540518.jpeg)