फागुन १३ गते बिहान रूसी फौजमा कार्यरत तिर्खबहादुर बुढाथोकीले (तिलक) ले श्रीमती सुनितालाई सामाजिक सञ्जालमा सम्पर्क गरेका थिए।
बिहान साढे ७ बजेतिर तिलकले सामाजिक सञ्जालमार्फत् सम्पर्क गर्दा सुनिता कोठामै थिइन्। सुनिता पेशाले स्वास्थ्यकर्मी हुन्। उनी लुंगीमा अनमी छिन्।
श्रीमानले उनलाई आफूहरू अगाडि बढ्न थालेको बताएका थिए। सम्भवतः उनले आफू युद्धग्रस्त क्षेत्र जान थालेको बताएका थिए।
फौजी कुराहरू सुनिताले बुझिनन्।
‘आज हामीलाई केही अगाडि लैजाने भन्ने छ, हामी अगाडि जाँदैछौं। यहाँ मुस्किलले नेट चलिरहेको छ। थप अगाडि बढेँ भने नेट नचल्न सक्छ। नआत्तिनु भनेर सम्झाउनु भएको थियो,’ सुनिताले भनिन् ‘अब यहाँ थप बस्न मन छैन। म छिट्टै नेपाल आउँछु भन्नुभएको थियो, तर कहिलै नआउने गरी अस्ताउनु भएको खबर आउँदा पत्याउनै गाह्रो भइरहेको छ।’
४४ वर्षीय श्रीमान् तिलकले त्यो दिन गरेको ‘अब छिट्टै आउँछु’ भन्ने बाचा पूरा गर्न सकेनन्। आए पनि संवाद हुनेछैन। श्रीमान् पार्थिव शरीर हेर्ने कष्ट उनले उठाउनुपर्नेछ।
जुन उनले कहिल्यै कल्पना गरेकी थिइनन्। उनका श्रीमान् तिलकले आफूसँगै फौजी रहेका नेपाली देश फर्कनका लागि मस्को पुगिसकेको बताएका थिए।
उनले पनि आफू मस्को फर्कने तयारीमा रहेको बताइरहँदा श्रीमती सुनिताको हृदयमा आशा सञ्चार भएको थियो। उनले रूस–युक्रेन युद्ध र त्यसको भुंग्रोमा नेपाली परिरहेको सुनेकी थिइन्।
त्यो डढेलो आफ्नै आगनमा आउला र सपना खाक तुल्याउला भनेर कसरी सोचून्!
‘उहाँहरू अगाडि बढिरहँदा ड्रोनबाट हमला भएछ! उहाँसहित अर्का एक जना रसियन व्यक्तिको घटनास्थलमै मृत्यु भएछ! थप दुई जना घाइते भएकाछौं भनेर उहाँसँगै रहनुभएका एकजना साथीले खबर गर्नुभएको हो,’ उनले भनिन्।
उनले त्यो क्षण आफूलाई सम्हाल्न सकिनन्। सारा सपना टुटेजस्तो, अगाडिको जीवन अन्धकार भएजस्तो, बाटै टुंगिएजस्तो केके भयो, उनी अहिले सम्झिन पनि सक्दिनन्।
अहिले पनि उनलाई श्रीमान् फर्किएर आउनुहोला कि नलाग्ने पनि होइन। र त भन्छिन्, ‘उहाँ कहिलै नआउने गरी अस्ताइ सक्नुभयो भन्ने खबर पाए पनि मलाई भने अझै विश्वास गर्न कठिन भइरहेको छ। उहाँले छिट्टै घर आउँछु भन्ने बाचा गरेर बीचमै छोडी जानुभयो भन्ने लाग्दैन।’
तिकलका भान्जा हिमाल रोकाले पनि यो खबर प्राप्त गरेका छन्। युक्रेनका तर्फबाट ड्रोन हमला हुँदा मामा र एक जना रसियन सेनाको सँगै मृत्य भएको जानकारी उनले पनि म्यासेन्जरमार्फत् नै प्राप्त गरेका छन्।
‘हामीले पनि आँखाले देखेको घटना हैन,’ रोकाले भने, ‘सँगै काम गर्ने साथीहरूले भनेको कुरा पक्कै पनि साँचो होला भन्ने हो। हिजो मात्रै दुई वटा शव घटनास्थलबाट झिकेको भन्ने उताबाट खबर पाएका छौं।’
शव फेला पारेपछि निकालेर पोष्टमर्टमका लागि लगिएको भन्ने सूचना सँगै बस्ने साथीले दिएका छन्।
यसैलाई सत्य मानेर उनीहरू अन्त्येष्टि कर्म सुरू गरिरहेका छन्। बुढाथोकी परिवार सोमबारदेखि नै कोरा बसिसकेको छ।
तिलकका बुवा ओमबहादुर बुढाथोकी किरिया बसेका छन्। तिलककी जागिरे श्रीमती अनीता पनि घर आइपुगेकी छन्।तिलक दम्पतीका १४ वर्षीय छोरा आयुस र ७ वर्षीया छोरी आयुसा दुवै बुटवलमा अध्ययनरत छन्।
‘मेरी दिदी बुटवलमा हुनुहुन्छ,’ अनिताले भनिन्, ‘त्यहाँ पढाइ राम्रो होला भनेर नानी बाबुलाई उतै पढ्न पठाएका थियौं।’
बुवाको मृत्युको खबर छोरा छोरीलाई सुनाउन मुस्किल परिरहेको उनले बताइन्।
अनिताले घरको आर्थिक अवस्था मध्यम खालको भएको सुनाइन्। उनका अनुसार परिवारमा चुह्लो बाल्न समस्या छैन। छोराछोरी सुविस्ताले पढिरहेका छन्।
श्रीमान् यसरी विदेश जानुपर्ने र रूसी फौजमै भर्ती हुनुपर्ने खालको नरहेको उनको दाबी छ।
‘सुलीचौरमा घर बनाएको जग्गा ससुराबुवाले जोडेको हुँदा आफैले किन्नु परेन। यहीँ मिहिनेत गर्दा खानलगाउन कुनै समस्या छैन,’ उनले भनिन् ‘उहाँले मलाई भन्नु भएन। तर आज सम्झँदा मलाई उहाँको व्यक्तिगत ऋण थियो कि भन्ने लाग्न थालेको छ।’
रूस जाँदा १५ लाख जति खर्च लागेको कुरा तिलकले श्रीमतीलाई बताएका थिए। तीन दाजुभाइ मध्ये उनी परिवारका कान्छा छोरा हुन्। जेठा दाङको भालुबाङमा बस्छन्। उनी जेसिबी अप्रेटरको काम गर्छन्। माइला पनि विदेशमै छन् ।
तिलक नेपाली सेनाका पूर्व जागिरे हुन्। तत्कालीन माओवादी र सरकारबीचको सशस्त्र संघर्ष बढ्दै गएर संकटकालमा परिणत भएको थियो। त्यतिबेला ज्यान उच्च जोखिममा परेको महसुस गरेर उनले जागिर छाडेका थिए। त्यसपछि उनी घरमै थिए।
सशस्त्र संघर्षकालमा सुरक्षाकर्मी भएकै कारण माओवादी पक्षबाट आफू र घर–परिवारलेसमेत सास्ती खेप्नुपरेको भन्दै उनी नेकपा (एमाले) भएका थिए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तिलक नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले पाँच बर्ष जनप्रतिनिधि भई काम गरेका थिए ।
तिलकलाई वडाध्यक्ष दोहोरिन मन थियो। पार्टीले उनको इच्छाशक्ति बुझेर दोहोर्याएर टिकट दिएको पनि थियो।
यसपालि भने उनी पराजित भए। उनी माओवादी केन्द्रका देवीलाल रोका मगरसँग पराजित भए। रोकामगरको ५३२ मत आउँदा उनको ४३८ मात्रै आयो।
सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरका अनुसार तिलकले सुलिचौर बजारमा दुई वर्ष पहिले चारतले पक्की घर बनाएका थिए।
‘निर्वाचनमा पराजित भएपछि उहाँले मलाई अलिकति ऋण लाग्या छ। यहाँ बसेर त्यो कर्जा कसरी तिर्ने चिन्ता लाग्छ भन्ने कुरा गर्नु भएको थियो,’ अध्यक्ष मगरले भने, ‘उहाँ सुटुक्क बिदेश जानु भए छ। धेरैपछि मात्रै मैले उहाँ रूसी फौजी बनेको भन्ने कुरा सुनेको थिए।’
अहिले तिलकको मृत्युको खबर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती हुँदा आफू आश्चर्यमा परेको अध्यक्ष पुनले बताए।
दोस्रो पटक दोहोरिन खोज्दा वडाध्यक्षमा पराजित भएपछि तिलक २०८० असोजमा गाँउघर र आफन्तलाई समेत थाहा नदिई रूस पुगेर त्यहाँको फौजमा भएको कुरा आफूले धेरैपछि थाहा पाएको उनको भाइ नाता पर्ने दुर्गा बुढाथोकीले बताए।
‘मैले पनि भाइ विदेश गएको पाँच–छ महिनापछि मात्रै थाहा पाएको हुँ,’ उनले भने ‘यतिखेर भाइको मृत्युको खबरले हाम्रो घर–परिवार मात्रै हैन पूरै गाँउ शोकमा डुबेको छ।