निल (नाम परिवर्तन) दुई/तीन महिनासम्म पढ्नै सकेनन्। उनी काठमाडौं उपत्यकाको एक स्कूलमा कक्षा १० मा पढ्छन्।
उनकै स्कूलको कक्षा ९ मा पढ्ने किशोरीसँग प्रेम सम्बन्धमा थिए। सुरूआती चरणमा प्रेमिकासँग राम्रै थियो। विस्तारै प्रेमिकाले भने अनुसारको गर्न नसक्दा पढाइ बिग्रियो।
किशोरीले भनेजस्तो नगर्दा आफूमाथि बलात्कारको मुद्दा लगाउने भन्दै धम्की दिएको निलले भ्वाइस अफ चिल्ड्रेन (भिओसी) लाई बताएका छन्।
'दुवै जनाको सहमतिमै शारिरिक सम्बन्ध भयो। अहिले पनि प्रेम सम्बन्धमा छौं तर उनले भनेअनुसार नगर्दा बलात्कार मुद्दा हालिदिने भनेर मानिसक यातना दिएको भनेर भिओसीलाई बताएका छन्,' मनोपरामर्शकर्ता कमला सुनारले भनिन्, 'आफ्नो प्रेमबारे परिवारलाई थाहा नभएको आफूलाई सम्हाल्न गाह्रो भएर पढाइमा समेत बिग्रिदै गएको बताएका छन्।'
निलले आफ्नो कुरा भिओसीका कर्मचारीहरूले बनाएको साथीलाई सुनाएका हुन्। भिओसीले काठमाडौं उपत्यकाको विद्यालयहरूमा आफूमाथि भएका हिंसाहरू सेयर गर्न स्कूलकै शिक्षक तथा विद्यार्थीलाई सहयोगीका रूपमा परिचालन गरेको छ।
उनीहरूकै माध्यमबाट यीकुरा भिओसीसम्म आइपुगेको हो। सुनारका अनुसार उनका साथीहरूको माध्यमबाट कुरा आएपछि भिओसीले निलसँग भेटेर कुराकानी गर्यो।
उनले आफ्नो परिचय र परिवारलाई नभन्ने सर्तमा आफ्ना कुरा राखेका हुन्। उनले प्रेमिकाको धम्की र मानसिक यातनाले गर्दा आत्महत्याको प्रयाससमेत गरेको बताएका छन्।
'उनलाई हामीले काउन्सिल गरेर अहिले सामान्य अवस्थामा फर्काएका छौं,' सुनारले भनिन्, 'बालिका जसरी बालकहरू बोल्दैनन्।'
बालकहरू बालिका जसरी आफ्ना कुराहरू खोल्दैनन्।
उनीहरू आफ्ना कुराहरू नखोली सिधै 'एक्सन' लिन्छन्। अर्थात् आफूलाई नै बदलिने गर्छन्। उनीहरू पढाइ, सहर र आफ्ना गतव्य फर्ने गरेको स्वभाव हुने मनोपरामर्शकर्ता सुनारले बताइन्।
त्यस्तै उपत्यकाको १४ वर्षीया प्रितक (नाम परिवर्तन) माथि आफन्तले यौन हिंसा गरेका बताएका छन्। ती बालकमाथि आफन्तले आफ्ना गोप्यअंगहरू छुन लगाउने गरेको बालकले मनोपरामर्शकर्ता सुनारलाई बताएका हुन्।
यो घटना ७/८ महिनाअघिको कुरा हो।
उपत्यकामा एक सरकारी स्कूलमा पढ्ने प्रितक ९ कक्षामा पढ्छन्। उनले आफूलाई कोठासँगै बस्ने पुरूषले आफ्नो गोप्य अंग चलाउन लगाउने र छुन लगाउने गरेको बताएका छन्। उनले ३/४ महिनासम्म आफूलाई त्यस्तो काम गर्न लगाएको भिओसीलाई बताएको छन्।
'उक्त पुरूषले कोठा सरेपछि मात्र आफूले छुट पाएको बताएका छन्,' मनोपरामर्शदाता सुनारले भनिन्, 'त्यसले गर्दा आफ्नो पठाइ बिग्रिएको सुनाएका छन्।'
यसरी बालकहरूमाथि पनि विभिन्न प्रकारमा हिंसा हुने गरेका छन्। घरभित्र परिवारमा बसेका बालकहरूले पनि हिंसा भोगिरहेका छन्।
घरभित्र परिवारसँग बसेका बालकमाथि यौन हिंसा, मानसिक र डिजिटल हिंसा भोग्ने गरेको देखिएको छ। भने घरबाहिर बस्नेहरू भने धेरैजसो यौनहिंसा भोग्ने गरेको उनी बताउँछिन्।
'सडक बालकहरूमाथि धेरै यौन हिंसा हुने गरेको देखिएको छ,' उनले भनिन्, 'सडकबाट उद्धार गरिएको अधिकांश बालकहरूले यौनहिंसा भोगेको भेटिएको छ।'
८/९ महिनाअगाडि सितु (नाम परिवर्तन) लाई काठमाडौंको सडकबाट उद्धार गरिएको थियो। उनीमाथि सोधपुछ गर्ने क्रममा आफूमाथि पटक पटक यौन हिंसामा परेको बताएका छन्।
परिवार विहिन भएपछि आफन्तकोबाट भागेर काठमाडौं आएका सितु तीन/चार महिना सडकमै बिताएका थिए। त्यहाँबस्दा विदेशी पर्यटक तथा नेपाली पुरूषहरूले आफ्ना गोप्य अंग छुन, खान लगाउने गरेको बताएका छन्।
'उनीहरूले भनेअनुसार नगर्दा कुटपिट गर्ने गरेको बालकहरू बताउँछन्,' मनोपरामर्शकर्ता सुनार भन्छिन्, 'खान दिने भनेर पनि आफूलाई त्यस्तो काम गर्ने गरेका छन्।'
सडकमा भेटिएका धेरैजसो बालकहरूले आफूलाई ठूला व्यक्तिले गोप्य अंग छुन लगाउनेजस्तो गरेको भिओसीलाई बताउने गरेका छन्।
'अस्वीकार गर्दा कुटपिट गर्ने गरेकाले बालकहरू चुपचाप सहिरहन्छन्,' मनोपरामर्शकर्ता सुनारले भनिन्, 'सडकबाट उद्धार गरिएका अधिकांश बालकहरूले यस्ता हिंसा भोगेका हुन्छन्।'
भिओसीले लामो समयदेखि सडक बालबालिकाको उद्धारसँगै उनीहरूको हकअधिकारका लागि आवाज उठाउँदै आएको छ। उद्धार गरिएकामध्ये तीन वर्षयता १ सय २३ जना बालबालिकाको केसमा काम गरिरहेको उनले जानकारी दिइन्।
उनका अनुसार हाल ७६ बालिका र ४७ जना बालक छन्। सडक तथा विभिन्न हिंसामा परेका बालबालिका हुन्।
यीमध्ये २० जना बालकहरूलाई सडकबाट उद्धार गरिएको हो। सडकबाट उद्धार गरिएका हरेक बालकहरूले यौन हिंसा भोगेको भिओसीको दावि छ।
बालकहरूमाथि हुने हिंसाको बारेमा भिओसीले पटक-पटक सरकारलाई ध्यानाकर्षण गराउँदै आएको उनी बताउँछिन्।
'बालिकासँगै बालकमाथि हुने घटनामा पनि सरकारले ध्यान दिएर अगाडि बढ्नुपर्छ। बालिकासँगै बालकहरूको पनि मानसिकता परिवर्तन गर्दै लैजानु पर्छ,' उनले भनिन्।
केन्द्रीय प्रहरी कार्यालयको तथ्यांकअनुसार २०८०/८१ मा बालबिज्याई (बालबालिकाले गरेको अपराध) ३ हजार ८ वटा उजुरी छ।
त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १ हजार १६१ वटा बालबालिकासम्बन्धी जाहेरी परेको छ। भने २०७७/०७८ मा १ हजार २४९ वटा, २०७६/ ०७७ मा ६३७ वटा बालबालिका सम्बन्धी अपराधका उजुरी छन्।
बालकहरू पीडकसँगै पीडित पनि रहेको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ।
बालबालिका बलात्कार, बलात्कार करणी, अप्राकृतिक मैथुन, बालयौनदुरूपयोग, अपहरण शारिर बन्धक, मानवबेचबिखन गरी जबरजस्ती करणी, सार्वजनिक स्थलमा हुने महिला बालबालिकाविरूद्धको यौनजन्य, मानवबेचबिखन तथा ओसारपसार, बलात्कार गरी हत्या, दाइजोका कारण हत्या, घरेलुहिंसाको कारण, अवैध गर्भपतन, एसिड प्रहार लगायतका घटनामा जाहेरी परेको प्रहरी कार्यालयले बताएको छ।
भौतिक रूपमा मात्र नभई अनलाइन गेमिङबाटसमेत यौन हिंसा र मानसिक यातना दिने गरेको पाइएको प्रहरीले बताएको छ।
'बालबिज्याईमा पनि बालिकामात्र हुँदैनन्, बालक पनि हुन्छन्,' केन्द्रीय प्रहरी कार्यालयका एक प्रहरीले भने, 'पीडितमा बालकभन्दा बालिका धेरै हुन्छन् तर बालकहरू पनि पीडित छन्।'
उनका अनुसार बालकहरू सानैदेखि उच्च नैतिक बल भएका हुन्छन् भन्ने मान्यता कारणले पनि केही बोल्दैनन्। उनीहरूमाथि हुने भौतिक तथा मानसिक हिंसा नहुँने भन्ने हुँदैन।
अनलाइनमा भने फेसबुक, भाइवर, इमो, यूट्युव, ह्वाटसप, ट्विटर (एक्स), इन्स्ट्रग्राम, बेवसाइट हकिङ, टिकटक र इमेल, इसेवाबाट हिंसामा परेको भन्दै चालु आर्थिक वर्षमा १३४ बालकहरूको निवेदन परेको छ भने १५१ जना बालिका छन्।
अघिल्लो वर्षमा २५३ जना बालकले आफूमाथि हिंसा भएको भन्दै साइबर ब्युरोमा निवेदन दिएका छन्। भने ३८२ जना बालिका छन्।
त्यस्तै २०७९/ ८० मा ४६ बालक र १३० बालिकाले साइबर ब्युरोमा निवेदन दिएको साइबर ब्युरोमा निवेदन परेको छ।
राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार संख्यागत हेर्ने हो भने बालकभन्दा बालिकामाथि नै हिंसा हुने गरेको छ। तर थोरै संख्यामा छन्। ७५ प्रतिशत बालिकामाथि हिंसा हुँदा २५ प्रतिशत बालक हुन्छन्।
'बालकहरूमाथि हिंसा हुँदै हुँदैन भन्ने हुँदैन, हुन्छन्। तर कम देखिन्छ,' चन्दले भने, 'हाम्रो कानुनी प्रावधान भएअनुसार बालक/बालिका दुवैको क्षेत्रमा काम गर्दै जानुपर्छ। बालबालिका दुवैका लागि कानुन एउटै छ।'
बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ बालबालिका विरूद्धको कसूर अनुसार कानुनी कारबाही गर्ने प्रावधान छ। सोहीअनुसार कानुनी प्रक्रिया अगाडि बढ्छ।
'कानुनी कारबाहीमा बालक र बालिका दुवैको हकमा एउटै छ। सोहीअनुसार गर्छौं,' उनले भने, 'बालकहरू पीडित भन्दा पनि पीडक धेरै हुनेभएकाले बालिका बढी प्राथामिकतामा परेका हुन् तर दुवैका लागि कानुन छ।'