बर्दिया राष्ट्रिय निकुञ्जको एउटा जंगली भाले हात्तीलाई दोस्रो पटक स्याटेलाइट रेडियो कलर जडान गर्ने क्रममा मरेको छ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ खैलारमा हात्ती मरेको हो।
फागुन ३ गते डार्ट गरी लठ्याउँदा मरेको हात्तीमा यसअघि सन् २०१८ मा पनि रेडियो कलर जडान गरिएको थियो। मरेको हात्ती ३० वर्षको थियो भने तौल ६ हजार किलोग्राम थियो।
फागुन ३ गते रेडियो कलर जडान गर्नका लागि डार्ट गरी लठ्याउँदा राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरेनरी प्राविधिक किरण रिजाल पनि थिए। यही काम २४ वर्षदेखि गर्दै आएका रिजाल अनुभवी प्राविधिक मानिन्छन्।
२०६४ यता उनले २७ वटा हात्तीलाई लठ्याउने काम गरेका छन्। २०७१ यता मात्रै चितवन राष्ट्रिय निकुञ्जको चर्चित ‘ध्रुवे हात्ती’ लाई चार पटक लठ्याइँ सकेका छन्।
विभिन्न समयमा उसले रेडियो कलर झार्ने हुँदा निगरानी राखी राख्नका लागि चार पटक लठ्याउँदा उनीसहितको टिम खटिएको थियो।
सोही निकुञ्जकै ‘रोनाल्डो’ माथि पनि तीन पटक लठ्याउने क्रममा रिजाल नै सहभागी थिए। एक पटक बिरामी भएपछि उपचार गर्न र दुई पटक रेडियो कलर जडान गर्दा रोनाल्डोलाई लठ्याइएको उनले बताए।
अहिलेसम्म लठ्याइएकामध्ये चार वटा हात्ती भने विभिन्न कारणले मर्न पुगेको उनले बताए। यसअघि चितवनमा एउटा हात्ती लठ्याएपछि कुलोको डिलमा उँधो मुन्टो लगाउन पुग्दा मरेको थियो।
‘म त्यो रेडियो कलर गर्दा सहभागी थिइनँ,’ रिजालले भने ‘तर अर्को दिन बिहान घटनास्थल पुग्दा त्यो हात्ती उँधो मुन्टो लगाएर कुलोको डिलमा खसेको देखेको थिएँ।’
त्यति ठूलो हात्तीलाई तत्काल उठाउन सक्ने तागत नभएका कारण हात्ती मरेको स्पष्ट थियो।
रिजालले सहभागी भई लठ्याएको मध्य सर्लाहीमा पनि एउटा हात्ती २४ घन्टाभित्रै मरेको थियो।
पोष्टमर्टम गरी हेर्दा त्यो हात्तीको टाउकोमा पहिलै गोली लागेको अवस्था प्रमाणित भएको थियो। त्यसको टाउकोबाट पोष्टमर्टमका क्रममा ५ केजी पिप झरेको रिजालले बताए।
पछिल्लो समय रिजाल सहभागी टिमले लठ्याउने क्रममा बर्दियामा बयष्क हात्ती मरेको छ।
७ वर्ष पहिले सफल रूपमा रेडियो कलर जडान गरिएको त्यो हात्तीलाई यसपटक फेरि रेडियो कलर जडान गर्न लठ्याएको भए पनि त्यो फेरि ब्युँझन र उठ्न सकेन।
पछिल्लो समय बस्तीमा पसेर स्थानीयलाई दुःख दिन लागेको हुँदा फेरि हात्तीलाई निगरानीमा राख्न रेडियो कलर जडान गर्न खोजिएको थियो तर त्यो त्यही क्रममा हात्ती नै मर्न पुग्यो।
रेडियो कलर जडान गर्ने क्रममा बेहोस बनाइएको हात्ती मरेपछि पोष्टमर्टमका लागि चितवन राष्ट्रिय निकुञ्ज पठाइएको थियो।
पोस्टमर्टम रिपोर्टले बेहोस गराउने औषधि दिएपछि बसाइ नमिल्दा फोक्सो र पेटमा धेरै रक्तस्राव भई हात्ती मर्न पुगेको देखाएको छ।
धेरै रक्तस्राब भएपछि फोक्सोमा जम्न पुग्यो र त्यसले अक्सिजनको सन्तुलनमा गडबडी उत्पन्न गर्यो। त्यसपछि हात्ती सास फेर्न नसकेर मरेको रिपोर्टले उल्लेख गरेको छ।
रिजाल भने बर्दियामा रेडियो कलर जडान पूर्व हात्तीलाई बेहोस बनाउने औषधि दिँदा कुनै कमजोरी नभएको बताउँछन्। ‘हामीले अन्तराष्ट्रिय मापदण्डअनुसार नै नर्मल डोज दिएको हो,’ उनले भने, ‘हात्ती मर्नुमा औषधिसँग कुनै सम्बन्ध छैन।’
उनका अनुसार बर्दियाको हात्ती मर्नुको प्रमुख कारण उस्को बसाइले गर्दा भएको हो।
‘हात्तीको बसाइ एकदमै महत्वपूर्ण हुन्छ, लठ्याइएपछि हात्ती कसरी बस्छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण विषय हुन्छ,’ रिजालले भने, ‘बदियाको यो हात्ती बस्दा पेटले फोक्सो थिचिएका कारण मर्न पुगेको हो। उसले पछाडिका दुई वटै खुट्टा पछाडि फकाइदिएको भए कुनै समस्या हुँदैन थियो। तर उसले दुई वटै खुट्टा अगाडि फकाइ बसेको हुँदा पेटले फोक्सोलाई थिचेपछि मृत्यु हुन पुगेको हो।’
पछाडिको दुवै खुट्टा पेटको मुनि लिएर बसेका कारण पेटले डायफारामलाई थिचेको हुँदा फोक्सोमा असर पर्न गई हात्ती मरेको उनले बताए। हात्तीको फोक्सोको भाग ठूलो र केही कमजोर हुने हुँदा पेटले त्यसमा थिचिन पुगेपछि अत्याधिक रक्तश्राव भइ मरेको उनको भनाइ छ।
‘पछाडिको दुई खुट्टा अगाडि ल्याएर बसे पनि हात्तीले अगाडिका दुई खुट्टा उठेका हुनाले त्यति प्रभाव नपर्ला कि भन्ने हामीलाई आशा थियो तर पेटको भार खेप्न नसकेर फोक्सोमा असर पुगेपछि हात्ती मर्न पुग्यो,’ उनले भने, ‘हात्ती ठूलो जनावर भएको हुँदा बेहोस बनाउँदा यो एकदमै समस्या छ। ऊ कसरी बस्छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ।’
बर्दियामा मरेको हात्तीलाई पटक पटक डार्ट गरिएको र गलत औषधि दिएको भन्ने हल्लामा सत्यता नरहेको उनले बताए।
‘डार्ट गरेपछि त्यसको अक्सिजनको लेबल, स्वासप्रश्वासको गति के छ भनेर हामीले हातले छामेर मात्रै हेर्ने हो। अहिलेसम्म हामीसँग त्यस्तो मेसिन वा उपकरण छैन,’ उनले भने, ‘बेहोस बनाएको समयमा हामीले हातले छामेर त्यसको स्वासप्रश्वासको गति गन्ने हो, तर पेटले फोक्सो थिचेपछि त्यस्को स्वासप्रश्वासको गति घट्दै जान्छ त्यस्तो बेला ठ्याक्कै मेसिनले रिडिङ गर्थ्यो भने ठ्याक्कै हामी उठाइ हाल्थ्यौं र कुनै समस्या हुने थिएन। बर्दियामा त्यही भएको हो।’
हात्ती बेहोस भएको बेलामा पनि हातले छामेर मिनेट गणना गर्दा धेरै समस्याहरू हुने उनले बताए। बसाइ निमिल्दा पेटले फोक्सोलाई थिचेर अक्सिजनको लेबल घट्दै गएको थाहा पाउना साथ हात्तीलाई उठाउन सकिने हुँदा समस्या नमित्तने उनको भनाइ छ।
मरेको हात्तीको शरीरको विभिन्न भागमा गाँठा गुठी वा गिर्खाहरू रहेको भन्ने कुरा पनि पोष्टमर्टममा उल्लेख छ, डार्ट गर्नु भन्दा पहिला त्यस्ता कुरा हेरिँदैन भन्ने प्रश्नमा रिजालले भने, ‘रातिको समयमा आक्कल झुक्कल देखिने जंगली हात्तीलाई भेट्न तथा डार्ट गर्नै मुस्किल हुन्छ। सुरक्षाको लागि धेरै सावधानी अपनाउनु पर्ने हुँदा उसको नजिक जाने वा नजिकबाट निगरानी गर्ने कुरा गाह्रो काम हो।’
प्राय हात्तीहरूको गाँठागुठी हुने र त्यो टाढाबाट नियाल्दा थाहा पनि नहुने उनले जानकारी दिए।
‘हामी हात्ती आउँदा बस्तीमा आएको बेलामा घरको छेल परेर घरको टप कुरेर आउने बाटो हेरेर मात्रै टिमले सुरक्षित भई डार्ट गर्ने हो,’ उनले भने, ‘त्यसरी काम गर्नु पर्ने भएको हुँदा हेर्दा देखिए पनि धेरै कुराहरू जंगली हात्तीको नजिकबाट पहिचान गर्न गाह्रो कुरा हो।’
राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. अमिर सडौलाले पनि बर्दियाको हात्ती मर्नुको कारण उस्को बसाइको पोजिसन नै भएको बताए।
‘हात्ती एउटा ठूलो जनावर हो र हात्ती र अन्य जनावरको फोक्सोको बनावटमा फरक छ,’ उनले भने, ‘अन्य जनावरमा फोक्सोको बाहिर प्रोटेक्टिभ लेयर हुन्छ, तर हात्तीमा त्यस्तो कभर हुँदैन। त्यही भएर त्यो हात्तीको पेटको तर्फबाट फोक्सोमा धक्का पुगेर मर्न पुगेको हो।’
त्यो समयमा बर्दिया, चितवन र मोरङमा रेडियो कलर गर्ने काम भएको तथा सबै काम आफूहरूकै प्रत्यक्ष सम्पर्कमा भएको उनले बताए।
‘म त्यो बेला मोरङ गएको थिएँ। तर बर्दियामा कलरको काम गर्नु पूर्व म सँगको नियमित फोन सम्पर्क र सल्लाहमा भएको हो,’ उनले भने।