मकवानपुरको हेटौंडाका सञ्जय बोगटी ललितपुरको गाबहालमा बस्दै आएका थिए। उनी हालै डेरा सरेर मंगलबजारनजिकै खपिन्छेँ टोलको एउटा घरमा बस्न थाले।
चैत १६ गते उनीहरू गाबहालबाट खपिन्छेँ टोलमा सरेका थिए। ‘हामी १६ गते आइपुग्यौं, त्यसदिन त अबेर रातिसम्मै सामानहरू ओसार्यौं,’ बोगटीले भने।
पेसाले बोगटी प्लमर हुन्।
उनी डेरा सरेर आएको घरको भुइँ तलामा पानी संकलन गर्ने पुरानो ट्यांकी छ। करिब चार फिट गहिरो ट्याङ्की स्ल्याबले ढाकिएको थियो।
पहिले डेरा गरी बसेको गाबहालमा पानीको समस्या थियो। त्यस्तो समस्या झेल्नु नपरोस् भनेर उनले पानी ट्यांकी सफा गरी पानी भरेर राख्ने तयारी गरेका थिए।
ट्याङ्कीबाट किराहरू बाहिर आइरहन्थ्यो, त्यसैले पनि सफा गर्नुपर्ने थियो। बोगटी दम्पत्तिले ट्याङ्ककी सफा गर्न थाले।
गत शुक्रबार बिहान ९ बजेतिर ट्यांकी सफा गर्ने भनेर बोगटी तल झरे। त्यसदिन पनि किराहरू बाहिर आइरहेको देखे।
‘हामी आउँदा यो घरको शौचालय जाम थियो। त्यही गन्हाएको हो कि भन्ठान्यौं। भुइँ तलामा किराहरू आइरहेको थियो,’ बोगटीले भने, ‘कडा गन्ध आएपछि मुसा मरेर गन्हाएको हो कि जस्तो लागेको थियो।’
उनले मोबाइलको लाइट बालेर ट्यांकीको स्ल्याब झिके।
‘टर्च बालेर हेर्दै थिएँ, ह्वास्सै गन्ध आयो। पानी ट्याङ्कीलाई फोहोर राख्ने ठाउँ बनाएका रहेछन् कि भन्ने पनि लाग्यो,’ उनले भने, ‘तर ट्याङ्कीभित्र त मानिसको खुट्टा पो देखियो। म आत्तिएँ।’
ट्याङ्कीभित्र मानिसको खुट्टा देखेपछि उनी हत्तपत्त बाहिर निस्किए र घरबेटीलाई फोन गरेर बोलाए। केहीबेरमै घरबेटी आए र प्रहरीलाई खबर गरे।
ट्यांकीभित्र कपडाले छोपेको अवस्थामा शव थियो। शवमाथि दुई वटा इट्टा राखिएको थियो।
जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको अनुसन्धान गरिरहेको छ।
प्रहरीले शुक्रबार नै शव मुचुल्का गरी पोष्टमर्टमको लागि पाटन अस्पतालमा पठाएको थियो। परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार शव अन्दाजी ११/१२ वर्षीया दुर्गा बोहराको हो।
बझाङ घर भई त्यही टोलको मन्दिरनजिकै बस्दै आएकी बोहराको शव ट्याङ्कीभित्र फेला परेको थियो। शव सडिगलिसकेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
शव भेटिएको घरमा यसअघि डेरा गरी दुर्गा बोहराकै परिवार बसेका थिए। तर केही समयअघि उनीहरू त्यस घर छाडेर नजिकै अर्को घरमा डेरा सरेका थिए।
‘यो घटना जेलिएको छ, पोष्टमर्टम पनि भयो होला। रिपोर्ट आएपछि थप खुल्न सक्छ,’ एसएसपी अधिकारीले भने।
दुर्गा चैत ११ गतेदेखि नै परिवारको सम्पर्कमा थिइनन्। उनी पहिले पनि घर छाडेर हिँड्ने गरेकी थिइन्। त्यही भएर परिवारले पनि खास्सै वास्ता गर्न छाडेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको भनाइ छ।
प्रहरीले शव दुर्गाकै भएको बताए पनि उनका बाबु-आमा विश्वस्त हुन सकेका छैनन्। डिएनए टेष्ट गर्न उनीहरूको माग छ।
‘त्यस ठाउँमा हराएको बालिका त्यही एक जना हो। शव फेला परेको पनि त्यही हुलियाकै छ। सडिगलिसकेको भएर परिवारले आशंका व्यक्त गर्नुभएको छ। यस घटनामा धेरै कुरा खुल्न बाँकी नै छन्। अनुसनाधान गरिरहेका छौं,’ उनले भने।
प्रहरीले अहिले तीन जना नाबालकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। तीनै जना ती बालिकाका साथीहरू हुन्। उनीहरूसँग प्रहरीले सोधपुछ गरिरहेको छ। तर उनीहरूबाट कुनै क्लु फेला पर्न सकेको छैन।
‘पहिले पनि हराएको भनेर निवेदन परेको थियो। अहिले पनि उनका साथीहरूसँग सोधपुछ गरिरहेका छौं। तर उनीहरूले पनि हामी सँगै हिँड्ने मात्रै हो घटनाबारे थाहा छैन भनेका छन्,’ एसएसपी अधिकारीले भने।
कोठामा बस्दै आएका सञ्जय बोगटीले बालिकाको स्कुलको आइडी कार्ड घरमा फेला परेको बताए।
उनको परिवार त्यहाँ सर्नुअघि चैत ८ गते घर हेर्न पुगेका थिए। सञ्जयको परिवार त्यसदिन घरबेटीसँग कुराकानी गरी निस्किएको थियो।
चैत १३ गते सञ्जयकी आमा घर हेर्न भनेर घरबेटीले दिएको चाबी लिएर त्यहाँ पुगेकी थिइन्। तर आमाले घरको चाबी खोल्न खोज्दा नखुलेको उनले बताए।
त्यसपछि आमाले सञ्जयलाई फोन गरेर ताला लगाएको र चाबीले नखुलेको जानकारी गराएका थिए। चैत १५ गते भने घरबेटी पुगेर ताला फुटाएका थिए। त्यस्तै १६ गते भने सञ्जयको परिवार त्यहाँ बस्न पुगेका थिए।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार बोहराको घाँटीमा डोरी पनि भेटिएको थियो। त्यसैले कसेर मारेको हो कि भन्ने प्रहरीको आशंका छ। पोष्टमर्टम रिपोर्ट नआइसकेको हुँदा यसबारे यकिन नभएको ती अधिकारीले बताए।
प्रहरीले घटनाबारे विभिन्न व्यक्तिहरूमाथि सोधपुछ गरिरहेको छ।