मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज हेटौंडाको मूल ढोकाअगाडि एउटा पहेँलो रङको गाडी रोकिएको छ।
छेउमा एउटा 'पोर्टेबल' आल्मुनियम भर्याङ पनि छ। गाडीमाथि केही युवा चढेका छन्, अरू दुई जना युवा भने अस्पतालको छतमा पुगिसके।
छतमाथि चढेका ती युवाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लेखिएको अस्पतालको बोर्डमा सेतो रङ पोते। केही छिनमै युवाले हेटौंडा अस्पताल लेखिएको ब्यानर निकालेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लेखिएको बोर्डमाथि राखे।
यसरी गाडीसहित आएका युवाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम मेटेर हेटौंडा अस्पताल लेख्न खोजेका थिए।
अहिले यो भिडिओ सामाजिक सञ्जालमा देख्न सकिन्छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम फेर्ने युवा को हुन्, तिनको पहिचान भइसकेको छैन।
तर सामाजिक सञ्जालमा भने नेताहरूको नामबाट सरकारी संस्थाहरूको नामकरण गरिएकोप्रति युवाहरूले नरूचाएको भनेर प्रचार र बहस भइरहेको छ। सत्यतथ्य नबुझी राजसंस्था समर्थकहरूले त नेताहरूप्रतिको जनआक्रोश यसरी प्रकट हुन थालेकोसमेत दाबी गरेका छन्।
सामाजिक सञ्जालमा भिडिओ छ्याप्छ्याप्ती भएपछि हामीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत अमरसिंह अधिकारीलाई यसबारे सोधेका छौं।
उनले घटना चैत ३१ गतेको भएको सुनाए। त्यस दिन १० जनाको संख्यामा आएका युवाले अस्पतालको नाम मेट्न खोजेका थिए।
गाडी, भर्याङ, रङ र ब्यानरसहित आएका ती युवा अस्पतालको छतमा चढेर ब्यानर बदल्न थालेपछि अस्पतालको कर्मचारी अलमलमा परेको उनको भनाइ छ।
उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम फेर्ने कोसिस मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमसँग भन्दा पनि पहिलेकै असन्तुष्टिसँग जोडिएको बताए।
उनका अनुसार २०७६ असोजमा बागमती प्रदेश सभाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन जारी गर्यो। असोज २ गते राजपत्रमा प्रकाशित भयो।
ऐनअनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनिसकेको छ। पदाधिकारी नियुक्त भइसकेका छन्। डा. प्रदीप ज्ञवाली त्यसका उपकुलपति छन्।
उक्त ऐनले प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न र गुणस्तरीय एवम् सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन एउटा अस्पताल स्थापना गर्ने भनेको थियो।
ऐनको दफा १५ (२) मा हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल बनाउने प्रावधान थियो।
‘यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानुनबमोजिम स्थापना भई सञ्चालन भइरहेको हेटौंडा अस्पताल उपदफा (१) अनुसार स्थापना भएको अस्पताल मानिनेछ,’ प्रदेश सभाले पारित गरी जारी भएको ऐनको दफा १५ (२) मा उल्लेख छ।
यसरी हेटौंडा जिल्ला अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिएपछि सुरूदेखि नै एउटा पक्ष असन्तुष्ट थियो।
त्यसमा नेकपा (एमाले) बाहेक सबै दल विपक्षमा थिए। त्यसबेला प्रदेश सभामा नेकपा मात्रैको झन्डै दुई तिहाइ थियो। तर नेकपा विघटन भएपछि एमालेबाहेक अरू दलले हेटौंडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानअन्तर्गत राख्न नहुने भन्दै विरोध गर्न थालेका थिए।
अहिले एमाले र माओवादी केन्द्र गठबन्धनमा हुँदा नेपाली कांग्रेस, एकीकृत समाजवादीले विरोध जनाउँदै गाभ्न हुँदैन भन्ने, एमाले र कांग्रेस सत्तामा हुँदा माओवादी केन्द्र, एकीकृत समाजवादी मुखर ढंगले विरोध गरिरहेकै छन्।
राजनीतिक दलबीच असहमति बढ्दै गएपछि २०७८ चैत २४ गते एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका बेला मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा जिल्ला अस्पताल अलग गर्नुपर्छ भनेर अध्यादेश जारी गरे। त्यस अध्यादेशविरूद्ध प्रतिष्ठान अदालत पुग्यो।
२०७९ वैशाख २८ गते अदालतले अन्तरिम आदेश जारी गर्दै अध्यादेश कार्यान्वयन नगर्न भन्यो।
‘त्यतिञ्जेलसम्म विद्यार्थी भर्नालगायत एउटा कोर्समा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बढिसकेकाले त्यसलाई नरोक्ने गरी अन्तरिम आदेश जारी भयो,’ प्रमुख कार्यकारी अधिकृत अमरसिंह अधिकारीले भने।
कार्यान्वयनमा ब्रेक लागेपछि अध्यादेश त्यसै निष्क्रिय भएको अधिकारीले बताए।
त्यसपछि २०८० जेठ १ गते बागमती प्रदेश सभाले पुरानै (२०७६ असोजमा जारी भएको) ऐन सक्रिय गराएको उनले बताए।
त्यसपछि पनि असन्तुष्ट पक्ष सक्रिय नै रहेको अधिकारीले बताए।
हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णयविरूद्ध अधिवक्ता केशव गौतमले सर्वोच्च अदालतमा रिट हालेको र उक्त मुद्दा विचाराधीन रहेको असन्तुष्ट पक्षले बताएका छन्।
उनीहरूले हेटौंडा अस्पतालको अस्तित्व नै संकटमा पार्न खोजिएको दाबी गरेका छन्।
‘यो संस्थालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कब्जामा लिएर यसको जग्गा, जमिन, मेसिन, उपकरण र बैंक ब्यालेन्स उपयोग गर्ने, बेचविखन गर्न सक्ने अधिकार पनि आफ्नो बनाएको छ। यो प्रतिष्ठानले बेवारिसे, गरिब, निमुखा, लोपउन्मुख लगायत समुदायलाई दिने निःशुल्क औषधी, उपचार र चेकजाँच दिने छैन। त्यो सबै प्रतिष्ठानमा गएपछि खारेजी हुनेछ र एकदिन यो प्रतिष्ठान नोक्सानमा गयो भने यसले हेटौंडा अस्पतालबाट लिएको जग्गा, जमिन, मेसिन, उपकरण व्यक्तिसरह बेचबिखन गरेर आफ्नो घाटा पूर्ति गर्न सक्छ र बन्द पनि गर्न पनि सक्छ,’ असन्तुष्ट पक्षले तर्क गर्दै आएको छ।
उनीहरूले हेटौंडा अस्पताल बचाउ तथा सुधार समितिसमेत बनाएका छन्। यसैबाट विरोधका गतिविधि गर्दै आएका छन्।
यही समूहले चैत ३१ गते नाम फेर्ने गतिविधि गरेको प्रतिष्ठानको दाबी छ। यसमा कुनचाहिँ राजनीतिक पार्टी संलग्न छ भनेर प्रतिष्ठानले यकिनसाथ भन्न नसक्ने पनि अमरसिंह अधिकारीले बताए।
मकवानपुरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड मेटेर हेटौंडा अस्पताल राख्नेहरूलाई प्रहरीले पनि खोजी थालेको बताएको छ।
यस घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय हेटौंडाका एसपी एसपी खड्काले बताए।
‘त्यसमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ। हामी खोजिरहेका छौं,’ उनले सेतोपाटीसँग भने।
हेर्नुहोस् हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने कुरालाई असहमति जनाउँदै आएकाहरूको विज्ञप्ति:
