काठमाडौं उपत्यकाका केही स्थानमा साढे तीन बजेतिर बर्खा बिर्साउने गरी मुसलधारे वर्षा भयो।
अहिले केही मत्थरजस्तो देखिए पनि आकाश कालोनीलो भएर आएको छ। डरलाग्दो गरी आकाश गर्जिरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यतिबेला पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय छ। हिउँददेखि प्रि–मनसुनसम्मै सक्रिय रहने यो पानी पार्ने प्रणाली अघिल्लो हप्तादेखि नै सक्रिय थियो। साथै यो मौसममा स्थानीय वायु पनि सक्रिय हुने गर्छ।
बंगालको खाडी हुँदै जलवाष्पयुक्त वायु नेपालतर्फ आइरहेकाले काठमाडौंसहित देशैभर पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी पारिरहेको प्रणाली पूर्वतिर सरिरहेको छ। पूर्वतिर सर्ने क्रममा रहेकाले काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा रोकिएजस्तो भएको हो।
पछिल्लो तीन घन्टा यता अर्घाखाँची, गुल्मी, प्यूठान, बर्दिया, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायत विभिन्न जिल्लामा वर्षा भएरहेको छ। कर्णाली प्रदेशमा भने न्यून वर्षा भइरहेको छ।
बिहीबार कोशी प्रदेशको पहाडी र तराई क्षेत्रका एक–दुई ठाउँमा मध्यमदेखि भारी पानी पर्ने आकलन गरिएको छ।
देशैभरि पहाडी क्षेत्रका केही ठाउँहरूमा र बाँकी भू–भागका थोरै ठाउँहरूमा पानी पर्ने सम्भावना रहेकाले बालीनाली भित्र्याउने काम नगर्न मौसम विभागले भनेको थियो।
जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरिकै मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरोलगायत बाली अर्को हप्तामात्रै भित्र्याउन भनेको छ।
नेपालको आकाशमा सक्रिय रहेको प्रणाली वैशाख ६ गतेसम्म देशभर फैलिएर जाने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
प्रि–मनसुन याममा अहिले उल्लेख्य वर्षा भइरहेको छ। आउँदो मनसुन याममा पनि औसतभन्दा बढी नै वर्षा हुन सक्ने अनुमान गरिएको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
पछिल्लो एक घन्टामा काभ्रेपलाञ्चोकको मण्डनमा २० मिलिमिटर वर्षा भएको छ।
ललितपुरको खुमलटारमा ९, खोटाङको दूधकोशीमा ९.८, ओखलढुंगामा ८, दोलखाको जिरीमा १८ मिलिमिटर वर्षा भएको छ।
गत २४ घन्टामा वर्षा मापन भएका १८१ केन्द्रमध्ये सबैभन्दा बढी झापाको अनारमनी बिर्ता केन्द्रमा ७६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
