भनिन्छ, सागरसँग मिसिनुअघि नदी डरले काम्छ।
पहाड, जंगल, खोल्साखोल्सी र चट्टानहरूसँग ठोक्किँदै, गड्गडाउँदै अघि बढ्ने नदी जब विशाल सागरको अगाडि पुग्छ, ऊ त्यसैमा हराइएला कि भनेर डराउँछ। तर सागरसँग मिसिनु नदीको नियति हो।
नदीलाई के थाहा छैन भने, सागरसँग मिसिनु भनेको ऊ हराउनु होइन। स्वयं सागर बन्नु हो।
कवि खलिल जिब्रानको कविता 'डर' ले भनेझैं 'उज्ज्वल' सागरसँग मिसिएर हराएनन्। उनी संगीत र संगीतका विविध आयामसँग ठोक्किँदै स्वयं सागर बने।
र, जो उनका डेढ दर्जनभन्दा बढी गीतको गहिराइमा डुबे, उनीहरूका लागि उज्ज्वल र सागर एउटै नाम हो।
'परिवारका मानिस मलाई सागर भनेर चिन्छन्। संगीत, साहित्य र कलासँग जोडिएका मानिस मलाई उज्ज्वल वा उज्ज्वल सागर भनेर बोलाउँछन्,' आफ्नो नामबारे उनले भने, 'मलाई सानैदेखि मनपर्ने नाम चाहिँ उज्ज्वल हो। सन् २०१२ मा फेसबुक खोलेदेखि नै मैले यही नाम प्रयोगमा ल्याएको छु। म संगीत सिर्जनामा लागूँ वा अरू जुनसुकै सिर्जनामा, त्यो यही नामबाट होस् भन्ने मेरो इच्छा थियो।'
आखिर भयो पनि त्यस्तै।
धुन, तिमी खुसी त छौ नि, निःशब्द, सन्नाटा, छाया, दैलो, माइली — यस्ता डेढ दर्जनभन्दा बढी गीत उज्ज्वलकै नामबाट चर्चित छन्।
भक्तपुर अनन्तलिंगेश्वरस्थित उज्ज्वलको 'ओडार स्टुडिओ' नामझैं अँध्यारो थियो।
म आएपछि उनले कोठाको बत्ती बाले र भने, 'तपाईंका लागि कोठा उज्यालो बनाएँ। मलाई त सधैं अँध्यारो।'
उज्ज्वल दृष्टिविहीन हुन्। तर यसले आफ्नो काम र नाममा दख्खल नपारोस् भन्ने उनलाई लाग्छ।
ओहो, ऊ त दृष्टिविहीन भएर पनि कति राम्रो गाउँछ — यस्ता प्रतिक्रिया उनलाई बेकार लाग्छन्। आँखाको रोशनीबाट होइन, आफ्नो सिर्जनाबाट चिनिँदा उनी गर्व मान्छन्।
उज्ज्वलका गीतमा प्रेम, वियोग, जीवन दर्शन, अध्यात्म, प्रकृति, आनन्द, शान्ति, मौन, शून्यता लगायत हरेक किसिमका मानवीय भावनाको मिश्रण छ। त्यसैले त, उनका गीत सुन्नेहरूलाई यस्तो लाग्छ, मानौं ती आफ्नै लागि लेखिएका हुन्!
मलाई पनि उज्ज्वलका गीत सुन्दा धेरैपटक लागेको छ — यो मेरै लागि लेखिएको हो।
म धेरैपटक उनको गीतका गहिराइमा हराएको छु।
मैले उज्ज्वललाई सुनेको पाँच वर्ष अघिबाट हो, जब उनले आफ्नो युट्युब च्यानलमा गीतहरू हाल्न थालेका थिए। आफ्नो डेब्यू गीत 'धून' बाट उनले स्वतन्त्र गायक/संगीतकारका रूपमा आफ्नो उडान भरेका थिए।
यो एउटा कलाकारले आफ्नी प्रेमिकालाई समर्पण गरेको गीत हो। जसका धूनहरू उनीबिना अधुरा छन् —
म देख्छु तिम्रै प्रतिबिम्ब
मेरो हरेक धुनमा
हिँड्दै छन् यी औंलाहरू
तिमीलाई खोज्न पियानोमा...
यो गीतका कलाकार आफ्नी प्रेमिकाबिना जति अधुरा छन्, उज्ज्वल सागर उनका दाइ रोशन अधिकारीबिना त्यति नै अधुरा छन्।
उज्ज्वलको च्यानलमा अहिलेसम्म सार्वजनिक भएका धेरै गीतका सर्जक उनका दाइ नै हुन्। कतिपय गीत उनीहरूले संयुक्त रूपमा लेखेका छन्।
'हामी दुई जना एकअर्काका खुंखार आलोचक हौं। गीतका एक–एक हरफ केलाउँछौं। यस्तो किन लेखिस्, यस्तो संगीत किन बनाइस् भनेर एकअर्काको खुब आलोचना गर्छौ,' उज्ज्वलले भने, 'एकअर्काको आलोचना गर्दै हामी दुई जनाले धेरै गीत लेखेका छौं। कहिले म अगाडिको हरफ लेखिरहेको हुन्छु, ऊ अन्तिम हरफ लेख्छ। कहिले उसले लेखेकोलाई म सम्पादन मात्र गर्छु।'
उज्ज्वलले आफै एक्लै पनि गीत लेखेका छन्। तर उनलाई लेख्नभन्दा सम्पादन र संगीत संयोजन गर्न बढी रूचि छ।
जहाँसम्म 'धून' गीतको सवाल छ, यो रोशन लेखेका भए पनि यसको पहिलो हरफ 'म देख्छु तिम्रै प्रतिबिम्ब' उज्ज्वलले नै फुराएका थिए। 'पियानो' शब्द गीतमा आओस् भन्ने चाहना पनि उनकै थियो।
'प्रायः ले आफ्नो गीतमा गितार भनिरहेका हुन्छन्। म धेरै पियानो बजाइरहेको हुन्छु। त्यसैले गीतमा पियानो शब्द राखौं भनेको थिएँ,' उनले भने।
उज्ज्वलका दाइ रोशन भारतको बैंगलुरूमा इञ्जिनियर थिए। उनले नै संगीत क्षेत्रमा काम गर्न उज्ज्वललाई ठूलो आँट र भरोसा दिएका थिए।
इञ्जिनियर भए पनि गीतहरू लेख्ने र कलामा परख राख्ने रोशनलाई केही समयपछि कला क्षेत्रमै काम गर्न मन थियो। उनी घरिघरि उज्ज्वललाई भनिरहेका हुन्थे, 'म एकदिन इञ्जिनिरिङ छाड्छु र फिल्म निर्माण र लेखनमा लाग्छु। त्यतिञ्जेल तँ संगीत क्षेत्रको टुप्पोमा पुगिसकेको हुनुपर्छ।'
उज्ज्वलको सपना रोशनको पनि सपना थियो, रोशनको सपना उज्ज्वलको पनि।
सपना देख्ने दुई जोडी आँखा भएपछि त्यो सपनाले हार्दैन! न उज्ज्वलको सपनाले हार्यो, न रोशनको।
रोशन अहिले इञ्जिनियरिङ छाडेर 'रइला फिल्मस्' मा फिल्म निर्माण र स्क्रिप्ट लेखनमा लागेका छन्। उता 'धून' रिलिज भएको दुई महिनामै उज्ज्वलले दोस्रो गीत सार्वजनिक गरेका थिए। 'द अनलभ्ड', 'तिमी खुसी त छौ नि' र 'परित्यक्ता' गरी तीन शीर्षकमा सार्वजनिक यो गीत रोशनले नै लेखेका हुन्। उनले 'धून' लेख्दा लेख्दै यसको रचना गरेका थिए र उज्ज्वललाई भनेका थिए, 'यो गीत एकदमै राम्रो हुनेवाला छ।'
'द अनलभ्ड' नाम भए पनि यो धेरैले 'लभ' गरेको वा मन पराएको गीत हो। उनको युट्युबमा यो एउटै गीत हो, जुन १० लाखभन्दा बढी पटक हेरिएको छ।
यो गीतका हरफहरूले भन्छन् —
सुन न,
तिमी खुसी त छौ नि?
सिमलको भुवासरि
उडी गएथ्यौ
कति माथि पुग्यौ?
र छोड्यौ मलाई देख्न
भन न,
तिमी खुसी त छौ नि?
यो गीत लयमा लेखिएको छैन। कसैसँग बोलेजस्तै छ। प्रश्न गरेजस्तै छ। भावनाहरू साटेजस्तै छ। र, जुन भावले गीत लेखिएको थियो, गाउँदा पनि त्यो भाव नमरोस् भन्ने रोशन र उज्ज्वललाई लागेको थियो।

यो गीत सार्वजनिक भएपछि उज्ज्वलले जति प्रशंसा बटुले, त्यति नै प्रश्न झेले, 'तिमी खुसी त छौ नि?'
यो प्रश्न सुन्दा सुन्दा उनी दिक्कै हुन्थे। तर अहिलेसम्म पनि धेरैले उनलाई सोध्ने प्रश्न यही हो।
'कलेज पढ्दा त सुरू सुरूमा सबैले यही प्रश्न सोधेर हैरान पार्थे,' दुवै आँखा चिम्म गरेर अनुहार खुम्च्याउँदै उज्ज्वलले भने, 'खाजा नमिठो होस् या चिया, उनीहरू यही प्रश्न सोधेर मलाई जिस्क्याउँथे। त्यो प्रश्न यति धेरै गरे कि, हरे ...!'
यो गीत रिलिज भएको केही समयमै लकडाउन भएको थियो। मान्छेसँग समय नै समय थियो। एक्लोपन, दिक्दारी, वैराग्यले धेरै जना ग्रसित थिए। त्यस्तो बेला धेरैले यो गीत सुने, महसुस पनि गरे। कहिले अनिँदो रातमा गीत साथी बन्यो, कहिले दुःखमा।
रातहरू यहाँ
कसको अनिँदो छैन?
हर कोही एकान्तमा
रोएकै हुन्छ!
जिन्दगी सधैं
रमाइलो भैदिए
दुःखको गीत यहाँ
कोही किन सुन्छ?
कहिले सुनसान सडक हेर्दै उज्याला दिन पर्खँदा उनीहरूले यही गीतको अर्को हरफ सम्झिए —
यो सुतेको सुनसान
सडकले कुन
सहरमा ब्युँझाउने हो
कसलाई के थाहा
लकडाउनको त्यो समय उज्ज्वलका लागि फलदायी नै भयो। त्यही बेला उनले आफ्ना धेरै गीत बनाए, सार्वजनिक गरे।
आकाश, निःशब्द, सुन्दर उडान, उमंग, मिरमिरे, मस्तिष्कको महल लगायत शीर्षकका गीत त्यति बेलाकै सिर्जना हुन्। यीमध्ये उनलाई सबभन्दा आनन्द 'मस्तिष्कको महल' बनाउँदा भएको थियो।
'सधैं एउटै शैलीमा गीतहरू गाउँदा निरस भइन्छ। त्यसबाट विमुख हुन् कलाकारले नयाँ नयाँ शैली खोज्नुपर्छ। यो गीत रक एन्ड रोल शैलीमा थियो र फरक गीत गर्न पाउँदा म खुसी भएको थिएँ,' उज्ज्वलले भने।
लकडाउनमा कतै हिँडडुल गर्न नपाएका मानिसहरूलाई यो गीतका हरफले झन् बढी छोएका थिए —
पुतलीहरू
बन्द कोठाभित्र पनि
झ्यालमै झुम्मिरहन्छन्
तिमी लाख बनाऊ
मस्तिष्कमा महल
एउटा अर्कै छ
बाहिरको संसार
उज्ज्वलका गीतले जति भन्छन्, जति दर्शन दिन्छन्, जति जीवन जगतका कुरा गर्छन्; त्यति नै मौनता सुनाउँछन् र सुन्ने बनाउँछन्।
अनलभ्ड, निःशब्द, सन्नाटा उनका त्यस्तै गीत हुन्। गीतहरूमा मौनतासँग खेल्न उज्ज्वललाई खुब आनन्द लाग्छ। उनी संगीतकार मोजार्टको भनाइ सुनाउँछन्, 'संगीत भनेको दुइटा नोट्स बीचको मौनता न हो।'
उज्ज्वल भन्छन्, 'संगीत बजुञ्जेल बज्छ तर जब रोकिन्छ, बल्ल मानिसलाई महसुस हुन्छ, यत्रो बेर यहाँ संगीत थियो। म गाउँदा होस् वा केही कुरा अभिव्यक्त गर्दा, मौनतासँग खेलेर अभिव्यक्त गर्छु र त्यसो गर्दा मलाई खुब मजा लाग्छ।'
मौनतालाई अंगालेर, शीर्षक नै बनाएर उज्ज्वलका थुप्रै गीत आइसके। उनीसँग 'रिक्तता' जस्तो शीर्षकमा पनि गीत थियो। तर उनलाई आफ्नो गीतको विषयवस्तु नदोहोरियोस् भन्ने छ। गीतका शीर्षकले मौनताको अर्थ नदिए पनि उनलाई गीतमा मौनता ल्याइरहन मन छ।
उज्ज्वललाई जति मौनता प्रिय छ, त्यति नै प्रिय छ — गफ। गफ मिल्ने मानिससँग उनी घन्टौं कुरा गर्न सक्छन्। गफ मिल्ने मान्छेलाई उनले घन्टौं गीत सुनाएका छन्। गफ मिल्ने मान्छेसँग उनी घन्टौं हिँड्दै आफ्नो ओडार आएका छन्।
'गफ मिल्ने साथी भयो भने हिँड्नु मलाई दुइटा खुट्टा हल्लाइदिनु जस्तो लाग्छ,' उनी भन्छन्।
उज्ज्वल जति गफमा रमाउँछन्, उनीसँग गफ गर्ने र संगत गर्नेहरूलाई उनको ऊर्जाले तान्छ। उपन्यास 'पैताला' लेखेका लेखक गनेश पौडेलले केही दिनअघि फेसबुकमा उज्ज्वलबारे लेखेका थिए, 'उसको हत्केला छुनूस्, औंलाहरू कोमल छन्! उसलाई अंगालो मार्नूस्, उसको हृदय कोमल छ। ऊसँग समय बिताउनूस्, उसको उपस्थिति कोमल छ। कुरा गर्नूस्, उसको संवाद कोमल छ। उसको मुस्कान कोमल छ। उसको अट्टाहास पनि कोमल छ। कोमलता उसको जिन्दगीको सर्वांगीण परिचायक हो।'
उज्ज्वलको व्यक्तित्वमा गनेशले भनेझैं कोमलता भेटिन्छ। उनी हरेक दिन कोही न कोही मान्छे भेटिरहेका हुन्छन्। संगीत, साहित्य र कला क्षेत्रका मानिस भेट्दा रमाउँछन्। तर दैनिक दौडधुप र कुराकानीबीच उनलाई एक्लो ठाउँ चाहिन्छ, जुन उनको ओडार नै हो।
'मभित्रको आन्तरिक शान्ति भंग नहोस् भन्नेमा म धेरै सचेत छु। आफ्नो शक्ति पुनर्भरण गर्न मलाई ओडारमा एक्लै बस्नु नै पर्छ,' उनले भने।

भक्तपुरको ओडार स्टुडिओ उज्ज्वलले १० महिनाअघि मात्र बनाएका हुन्।
त्यसअघि उनी बानेश्वरमा बस्थे। त्योभन्दा अगाडि काठमाडौंका थुप्रै ठाउँमा बसेका छन्।
उनलाई उज्ज्वल सागर बनाउने आधार भने उनको घर झापा बिर्तामोडमा बनेको थियो। सानैदेखि संगीतप्रति झुकाव राख्ने उज्ज्वलले दमकको श्री सरस्वती माध्यमिक विद्यालयमा संगीतको कखरा सिके।
पछि गरामनीस्थित श्री दुर्गा माध्यमिक विद्यालय पढ्न थालेपछि उनको संगीतको आयतन झन् फराकिलो भयो। त्यहाँ झन् धेरै बाजा र संगीतको माहोल बन्यो। उनले तबला, हार्मोनियम, गितार लगायत बाजा बजाउन स्कुल पढ्दा पढ्दै सिके।
कक्षा ६ पढ्दै गर्दा उनी भारतको इलाहाबादमा संगीत प्रभाकरका लागि भर्ना भए। त्यहाँ क्लासिकल संगीत र रागहरू सिके।
झापामा कक्षा १२ पढिसक्दा उनले भारतको संगीत प्रभाकर पनि सकिसकेका थिए।
'कक्षा १२ पछि होस्टल जीवन सकियो र मैले आजादी महसुस गरेँ। अनि फुक्काफाल भएर आफ्नै शैलीमा संगीतमा लागेँ,' उज्ज्वलले भने, 'बिर्तामोडमा एक जना दाइले स्टुडियो खोल्नुभएको थियो। म प्रायः त्यहीँ हुन्थेँ। त्यहाँ पियानो बजाउँथेँ। अरूका गीत कभर गर्दिन्थेँ र कहिले अडिओ रेकर्ड गर्थेँ। मलाई स्टुडियोमा काम गर्दा बेग्लै मजा लाग्न थाल्यो।'
बिर्तामोडमा उनले जुन दाइको स्टुडिओमा काम गरेका थिए, ती दाइले पछि काठमाडौंमै स्टुडियो खोले।
स्टुडियोमा आजादी अनुभव गरिरहेका उज्ज्वललाई पनि अब काठमाडौं आउनु थियो। यो उनले सानैदेखि साँचेको संकल्प पनि थियो।
२०७४ सालमा आमासँग काठमाडौं आएका उनी सुरूमा त मामाघर बसे। तर केही समयमै 'बोइज होस्टल' बस्न थाले। त्यसपछि रत्नराज्य क्याम्पसमा संगीत र नेपाली साहित्यमा स्नातक पढे। कक्षामा भन्दा उनको धेरै समय साथीहरू र चिया पसलमै बित्थ्यो।
'मैले इलाहाबादमा संगीत सिकेको थिएँ, यहाँ पढ्दा त पढेको जस्तै लागेन। खासमा भन्ने हो भने मेरो स्नातक पढाइ चकाचौंधमै बितेको हो,' उनले भने।
यसबीच उज्ज्वलसँग उनकै कक्षाका साथीहरू संगीत सिक्न आउन थाले। उनले प्राइभेट संगीत कक्षा दिए। त्यसैबीच लैनचउरमा लाइभ प्रस्तुति दिन पनि गए। त्यसैका लागि भनेर केजन किने। तर दुईपटकमै उनलाई त्यो ठाउँ मन परेन, छाडे।
'त्यहाँ म केजन बजाउनकै लागि छिरेको थिएँ। तर त्यहाँको माहोल मलाई ठिक लागेन। गीत गाएर सक्किँदा न ताली छ, न केही,' उनले भने, 'मलाई कलाको सम्मान नै नहुने ठाउँमा काम गर्न ठिक लागेन।'
रत्नराज्य पढ्दा बिर्तामोडको दाइको स्टुडियोमा उनको ओहोरदोहोर पनि चलिरहेको थियो। संगीतका सबै कुरासँग उनी जोडिएरै बसेका थिए।
'हुन त दाइको स्टुडियोमा केही पनि थिएन तर म थिएँ,' उज्ज्वलले हाँस्दै भने, 'त्यो स्टुडियोले मप्रति संगीतको भूत सवार गराइदिएको थियो। म बिहान कलेज हुन्थेँ र दिनभर स्टुडियोमा हुन्थेँ।'
एकदिन उज्ज्वललाई सोच आयो — सधैं अर्काको काम गरेर हुन्न। सकेसम्म आफ्नै गर्नुपर्छ र आफै गर्नुपर्छ।
कतिपयले उनलाई रियालिटी शोमा जान सुझाव दिएका थिए। तर केही साथीसँग अडिसनमा गएका उनलाई यो आफ्नो बाटो नै होइन भन्ने लाग्यो। उनी साथीहरूलाई हेरेरै अघाए।
'पहिलो सिजन हुँदा म दोस्रोमा आउँछु भन्ने र दोस्रो आउँदा तेस्रोमा। पछि पछि त मलाई भन्न नै छाडे,' उनले भने, 'म त्यस दिन खुसी भएँ, जब रियालिटी शोकै साथीहरू निशान भट्टराई, रचना रिमाल, प्रताप दास लगायतले मलाई सहकार्यका लागि भने।'
रियालिटी शो आफ्नो बाटो होइन भन्ने उज्ज्वललाई जति थाहा थियो, संगीत आफ्नो बाटो हो भन्नेमा पूरापुर विश्वास थियो।
त्यही विश्वासकै कारण उनले झापामा भएका परिवारलाई काठमाडौं बोलाए। उज्ज्वलको विश्वासमा उनीहरूले विश्वास गरिदिए र काठमाडौंको उनको संगीत यात्राको हिस्सा बने।
त्यसपछि उज्ज्वलले स्वतन्त्र गीतहरू निकाल्न थाले। आफ्नो युट्युब च्यानल खोलेर धमाधम गीतहरू हाले। अहिलेसम्म २१ वटा गीत सार्वजनिक गरिसकेका छन्। अरूसँग सहकार्य गरेर त उनले झन् बढी काम गरेका छन्। उनी संगीत संयोजन पनि आफै गर्छन्।
एक समय उनलाई सबभन्दा गाह्रो लागेको काम यही थियो। तर प्रविधि जानेपछि सबै सजिलो लाग्न थाल्यो।
'मलाई जहिले पनि विदेशमा भएका म जस्ता आँखा नदेख्नेहरूले संगीत संयोजन गर्छन् कि गर्दैनन् भन्ने लाग्थ्यो। त्यसबारे अनुसन्धान गरेपछि मैले एउटा ह्वाट्सएप ग्रुप फेला पारेँ। म्याक मिनी ल्यापटपमा आवाजको निर्देशनमा काम गर्न सकिन्छ भन्ने थाहा पाएपछि दाइलाई किन्न लगाएँ,' उनले भने।
अहिले उज्ज्वलको ओडार स्टुडियोमा संगीत संयोजनलाई चाहिने सबथोक छ – माइक, स्पिकर, बाजाहरू, किबोर्ड, मनिटर, म्याक मिनी सबै। कम्प्युटरमा हुने डिस्प्ले भने उनले हटाइदिएका छन्।
'मानिसहरू जहिले पनि आएर कम्प्युटर चाहिँ खोई भनेर सोध्छन्। धेरैलाई डिस्प्ले नहुनु भनेको कम्प्युटर नहुनु जस्तो लाग्ने रहेछ,' उनले भने, 'पहिला डिस्प्ले थियो तर मलाई त्यसको कुनै अर्थ नहुने भएकाले हटाइदिएको हुँ।'
उज्ज्वल एआईको आवाज सुनेरै कम्प्युटर खोल्छन्। उनको कम्प्युटरमा बज्ने आवाज सामान्य बोलीचालीको भन्दा दुई गुणा छिटो छ। उज्ज्वल किताब पनि त्यही गतिमा आवाज सुनेरै पढ्छन्। कहिले दिनमा दुई-तीनवटा किताब भ्याइदिन्छन्। धेरै किताब पढ्ने भएकाले कतिपयले उनलाई कुनै किताब 'रिफरेन्स' चाहिँदा सुझाव पनि माग्छन्।
पिडिएफमा भएका किताब मोबाइल एपबाट सुनेर पढ्न सजिलो र छिटो हुन्छ। हातले छामेर, हेरेर पढ्नुपर्ने किताब भए सुरूमा उनी हरेक पानाको फोटो खिच्छन् अनि पढ्छन्।
'कहिलेकाहीँ संगीत गर्दा गर्दा नयाँ कुरा गर्न मन लाग्यो भने म किताब पढ्छु। विभिन्न सञ्चारमाध्यममा छापिने कथा, लेख, रचना अनि राजनीतिक, सामाजिक, खेलकुदका जानकारीसँग जानकार हुन पनि मलाई उत्तिकै रूचि छ,' उनले भने, 'हुन त फोनबाट टाढै बसौं भन्ने नै हुन्छ तर म जस्तो मान्छेको धेरै काम यसैबाट भइरहेको छ।'
उज्ज्वल केही कुरा लेख्नुपर्यो भने फोनमा बोलेरै लेख्छन्। गीतका हरफ आयो भने पनि फोनको नोटमा टिप्छन्। केही समयअघि उनले फोनमा कथा पनि लेख्ने प्रयास गरेका थिए।
'मानिसले गहुँगोरी, यस्तो कपाल भएकी भनिरहेका हुन्छन्। तर मेरो कथामा भौतिक कुराहरू नै नआउने रहेछन्,' उनले भने, 'साथीहरू मलाई निबन्ध पनि लेख्न कोसिस गर भन्छन् तर लेख्नमा भन्दा बढी मेरो ध्यान संगीतमै छ।'
लेख्नभन्दा बढी त उनी किताब पढ्न नै रमाउँछन्। उज्ज्वललाई किताब बोलेर पढ्ने कुरा खट्किन्छ। स्कुल पढ्दासम्म उनले अक्षरहरू छामेर पढ्ने ब्रेल किताब पढेका थिए। त्यो क्रम कलेजपछि टुट्यो। अहिले प्रविधिले धेरै सजिलो बनाइदिएको छ। तर कहिलेकाहीँ उनलाई बोलेरै किताब पढ्ने रहर लाग्छ। त्यो रहर अघिल्लो वर्षको जन्मदिनमा उनका साथीहरूले पूरा गरिदिएका थिए।
'मलाई बोलेर किताब पढ्न मन छ भन्ने थाहा पाएपछि मेरा साथीहरूले नेत्रहिन संघमा गएर ब्रेलमा किताब प्रिन्ट गरेर ल्याएका थिए। उनीहरूले मलाई अष्टावक्रको अंग्रेजी किताब उपहार दिएका थिए,' उनले किताब छामेर अक्षरहरू पढ्दै भने, 'किताबको बास्ना सुँघेर, त्यसलाई पढेर पढ्नुजस्तो मजा सुनेर पढ्नुमा कहाँ छ र!'
उज्ज्वल फिल्म र नाटक पनि सुनेरै हेर्छन्। फिल्म अडिओ डिस्क्रिप्सन खोलेर सुन्छन्, कहिले साथीले दृश्यहरू बताइदिन्छन्। नाटकको पनि संवाद सुन्छन्, दृश्य साथीहरूले कानमा खुसुक्क भनिदिन्छन्। त्यसो हुँदा उनलाई हेरे बराबर नै लाग्छ।
उनी पेन्टिङ हेर्न ग्यालरीहरू धाउँदैनन्। भन्छन्, 'जुन ठाउँ पुग्दा मलाई मेरो मनोबल घटेजस्तो महसुस हुन्छ, त्यो ठाउँबाट म टाढै बस्छु।'
बरू उनी हिँड्दा खुब रमाउँछन्। हाइकिङ खुब हिँडेका उनलाई लामो पदयात्रा गर्न मन छ तर दृष्टिविहीनहरूका लागि वातावरण अनुकूल नभएकाले आँट गरेका छैनन्। काठमाडौं उपत्यकामा वरपर हिँड्ने सुविधायुक्त बाटो नहुँदा उनी प्रायः पठाओ गरिरहेका हुन्छन्। नभए साथीहरूसँग हात समाएर हिँड्छन्।
'हिँड्नु भनेको दृश्यावलोकनभन्दा हृदयावलोकन गर्नु हो जस्तो लाग्छ। हिँड्दा पनि सँगै गएका मानिस र त्यहाँ भेटिने मान्छेसँग धेरै कुरा सोधिरहेको हुन्छु। जो त्यहाँ पुगेका छन्, उनीहरूलाई यस्तो थियो नि भन्दा उनीहरू धेरैपटक अचम्ममा परेका छन्,' उनले भने।
सुन्दा सुन्दा उज्ज्वलका कान सुन्नमा अभ्यस्त भइसकेका छन्। दिमागले छिटो बोलेका शब्दहरू पक्डिने त छँदैछ, उनी गितार वा पियानोमा कुन स्केल वा नोटमा बजिरहेको छ पनि परबाट सुनेरै थाहा पाउन सक्छन्।
'केही कुरामा कमजोर भइयो भने त्यो अर्कोमा सर्छ भनेर मानिसहरू चित्त बुझाउँछन्। म त्यसको विरोध जनाउँछु। मलाई लाग्छ, सबै कुरा मनमा भर पर्छ। तपाईंको मनभित्र शान्ति र एकाग्रता छ भने तपाईं जे पनि राम्ररी सुन्नुहुन्छ। जे पनि राम्ररी गर्न सक्नुहुन्छ,' उनले भने, 'म अहिले जे छु, त्यो मैले सुती सुती पाएको होइन। यसमा मैले धेरै मिहिनेत गरेको छु। यसका लागि मैले धेरै साधना गरेको छु, संघर्ष भने खासै गर्नु परेन।'

उज्ज्वल हरेक बिहान उठेपछि रियाज गर्छन्। उनलाई रियाज गर्नु ब्रस गर्नुजस्तै लाग्छ। त्यो नगरी आफ्नो दिन उनलाई ऊर्जावान लाग्दैन। खाना खाएपछिको समय उनी मानिस भेट्ने, संगीत बनाउने, गाउने, हिँड्ने लगायत काम गर्छन्।
'संगीतमा काम गर्ने भएकाले जीवन जति बेलै छुट्टीजस्तो हुने रहेछ। म कुनै पनि कुरामा पूर्ण रूपमा अल्झिरहेको हुन्न,' स्वतन्त्र कलाकार हुनुको फाइदा उनले भने।
उज्ज्वलको स्टुडियोमा पियानो, गितार, तबला, केजन, बाँसुरी, सारंगी लगायत १४-१५ वटा बाजा छन्। प्रायः बाजा उनी बजाउन जान्छन्। केही सिकिरहेका पनि छन्। केजन र विन्ड चाइम्सबाहेक प्रायः बाजा उनले उपहार पाएका हुन्।
उनलाई सबभन्दा मनपर्ने बाजा हार्मोनियम हो। पहिलो हार्मोनियम १२–१३ वर्ष उमेरमै किनेका थिए।
'होस्टलमा हार्मोनियम बजाइन्थ्यो तर छुट्टीमा घर आउँदा हुन्थेन। मैले ६–७ वर्षको हुँदादेखि नै हार्मोनियमको हठ गरेको थिएँ। तर त्यसको चार–पाँच वर्षपछि मात्र पाएँ,' उनले भने, 'एकदिन ममीको मावलामा पुराण थियो। त्यहाँ केही दिन मैले पनि भजन गाएँ। मैले राम्रो गाउँदो रहेछु भनेर पुराणमा आउने मान्छेहरूले पैसा संकलन गरेर दिनुभयो। त्यसैले हार्मोनियम किनेँ।'
पुराणबाट ८ हजार ३ सय ५० रूपैयाँ संकलन भएको थियो। पैसा हुनेबित्तिकै उज्ज्वल सिलिगुढीमा हार्मोनियम किन्न गए। तर ल्याएको तीन दिनमा हार्मोनियम बिग्रियो।
'त्यति बेला त के राम्रो, के नराम्रो भन्ने छुट्याउनसक्ने नै भइसकेको थिइनँ। छाम्दा हार्मोनियम जस्तो थियो, बजाउँदा बज्यो अनि किनेर ल्याएँ। तर हार्मोनियम त पात परेछ। त्यो हार्मोनियम टालटुल पारेर तीन वर्षसम्म बजाएँ। त्यसपछि अमेरिका बस्ने ममीको फुपूले किनिदिनुभयो,' उनले भने।
फुपूलाई उज्ज्वलको आँखा ठिक भएको हेर्ने ठूलो रहर थियो। नेपालको तिलगंगादेखि अमेरिकाको अस्पतालमा बुझ्दा पनि हल नभेटिएपछि उनले उज्ज्वललाई हार्मोनियम किनिदिएकी थिइन्। अहिले उनी त्यही स्केल चेन्जर हार्मोनियम बजाउँछन्। त्यो हार्मोनियममा उज्ज्वलको प्राण अल्झिएको छ।
'पोहोर म एउटा कार्यक्रममा गएको थिएँ। त्यति बेला मैले पाँचपटक मेरो हार्मोनियम कतापट्टि राखिएको छ, कस्तो अवस्थामा छ भनेर सोधेछु। मेरो पहिलो बाजा भएकाले पनि होला, मलाई यसप्रति धेरै प्रेम छ,' उनले भने, 'म हत्तपत्त आफ्ना बाजा कसैलाई दिन्न। दिनु नै पर्यो भने दिम् कि नदिम् भनेर सोच्छु होला। तर हार्मोनियम मसँग कसैले नमाग्दा हुन्छ।'
उज्ज्वलले मलाई आफूले उपहार पाएको हार्मोनियम सँगसँगै बाँसुरी पनि बजाएर सुनाए। यो पनि उनले जन्मदिनमा पाएको उपहार हो। उनलाई लाग्छ, भोकल गर्न नपरेको भए बाँसुरी राम्ररी बजाउन सक्थे।
'जम्मा ६ वटा प्वाल छ, त्यसमा मास्टरी गर्यो भने त भइहाल्यो,' उनले भने, 'मेरो हातमा बासुँरी पर्नेबित्तिकै फू... गरेर पहिलोपटक बजाउँदा बाँसुरी बेच्ने मान्छे नै अचम्ममा परेका थिए। तपाईंले त सिक्नुपर्छ यार भनेका थिए। मैले राम्ररी सिकेँ भने राम्रो बजाउन सक्छु जस्तो लाग्छ।'
उज्ज्वलको कोठामा विविध बाजासँगै उनलाई मन पर्ने गायकहरूको तस्बिर छ – भक्तराज, गोपाल योञ्जन, नारायण गोपाल, लता मंगेश्कर।
उनी जति नयाँ पुस्ताका गीत पर्गेलिरहेका छन्, त्यति नै पुराना पुस्ताका गीत सुन्छन् र गाउँछन्। ती गीत गाइनुपर्छ र नयाँ पुस्ताले पनि सुन्नुपर्छ भन्ने उनलाई लाग्छ।
केही समययता उनले 'फर्गटन मेलोडिज' भनेर ती गीत गाएर सामाजिक सञ्जालमा पनि हालिरहेका छन्।
'भक्तराज, नातिकाजी, तारादेवीका कत्ति गीत यस्ता छन्, जसलाई म रातभर सुनेको सुनेकै भएको छु। कति गीतमा शब्द ठिकठिकै हुन्छ, संगीत पनि। तर जब दुइटाको राम्रो मिश्रण भेटिन्छ, त्यसले मुटु छुन्छ। त्यसले बेग्लै तरंग दिन्छ,' उनले भने, 'मैले नेपालमा सबभन्दा धेरै पूजा गर्ने गोपाल योञ्जनलाई हो। हामीले उहाँलाई थोरै चर्चित गीतहरूले चिनेका छौं। तर उहाँका अफबिट गीतहरू छन्, जुन हामीले सुनेकै छैनौं।'
उज्ज्वलले सबभन्दा भक्ति गर्ने र पछ्याउने भारतका गुलाम अली खान हुन्। कहिलेकाहीँ हार्मोनियम बजाउँदा उनी गुलाम अलीले झैं बजाएको कल्पना गर्छन्।
उनको कोठाको एउटा कुनामा भगवान सरस्वतीको पनि फोटो छ। अर्को कुनामा ओशोको फोटो छ। उज्ज्वलका गीतमा अध्यात्म कसरी आयो भन्ने ओशोलाई देखेर अनुमान गर्न सकिन्छ।
मान्छेले आफ्नो संगीत, साहित्यको काल विभाजन गर्ने हो भने उनी आफूलाई २०७७ सालअघि र पछि भनेर विभाजन गर्छन्।
'त्यो भनेको ओशो सुन्नुअघि र पछिको समय हो। ओशो त्यस्ता गुरू हुन्, जसले मलाई धेरै आध्यात्मिक साधकसँग परिचय गराइदिए। जीवनमा जे चलिरहेको छ, त्यसलाई कसरी स्वान्त सुखायमा परिणत गर्ने मैले ओशोबाटै सिकेको हुँ र सिक्दैछु,' उनले भने, 'हिजो जे कुरा खत्रा लाग्थ्यो, कति कुरा आज मलाई बेकार लाग्छ। जेसँग डर लाग्थ्यो, त्यो लाग्दैन। धेरै कुरासँग विमुख हुन मैले उनीबाटै सिकेको हुँ। मेरो आदतमा ३६० डिग्री परिवर्तन गराउने मान्छे ओशो हो। म ओशोलाई धेरै प्रेम गर्छु।'
उज्ज्वलको गीत मस्तिष्कको महलको 'डिस्क्रिप्सन' मा त ओशोको भनाइ नै लेखिएको छ — तपाईंको चेतना समाजको हिस्सा हो, तपाईंको होइन।
'म अध्यात्मभन्दा धेरै पर थिएँ। गुनासो गर्थेँ भगवानलाई। भक्ति गरेर के गर्नु छ र भन्ने हुन्थ्यो तर बिस्तारै आत्मसमर्पण गर्दै गइयो। म के कुराले वञ्चित थिएँ र के दिमागमा राखेर बसेको थिएँ? अध्यात्ममा लागेपछि सबै कुरा मेरो होइन, त्यसलाई गराउने केही कारण छन् भन्ने चेतना आउन थाल्यो। त्यसले मानिसलाई केही हदसम्म शान्ति दिने रहेछ,' उनले भने।
उज्ज्वलका गीतमा भगवानप्रति भक्ति त भेटिन्छन् तर ती आध्यात्मिक तरिकाले आउँछन्। जस्तो 'आकाश' शीर्षकको गीतमा उनी भनिरहेका छन् —
सपना भरिएका आँखामा
आँसु भरिन नदेऊ
उडेर छुने आकाशमा तिमी
बादल छरिन नदेऊ
उज्ज्वलको पछिल्लो गीत हो — यात्री। यो गीत त भगवानलाई नै समर्पण गरिएको भन्दा पनि हुन्छ।
आकाश उसैको धर्ती हो जसको, हामी त केवल यात्री
पाइला सँगसँगै जीवन बोकेर हिँड न मेरो साथी
हिँडौँ न मेरो साथी

उज्ज्वल संगीत बनाउँदा खुसी हुन्छन्। उनी ध्रुवचन्द्र गौतमलाई सम्झन्छन् र भन्छन्, 'उहाँले लेख्नु सास फेर्नु हो भन्नुहुन्थ्यो। मेरो लागि पनि संगीत गर्नु सास फेर्नु हो।'
'संगीतबाहेक पर जान नपरोस् भन्ने हुन्छ। त्यसमा पौडिरहन, डुबुल्की मारिरहन मन छ। मेरो दिनको आधाभन्दा बढी समय संगीतमा बितिरहेको हुन्छ र बाँकी समय पनि त्यसैबारे सोचिरहेको हुन्छु। त्यसैले मेरो लागि संगीत भनेको श्वासप्रश्वास नै हो,' उनले भने, 'म आफ्नो गीतमा उन्नत साहित्य होस् भन्ने चाहन्छु। आफूले बनाएको संगीत सुनेर यस्तो पनि बन्यो भनेर आफै अचम्मित पनि भएको छु। मलाई आज सुनेर भोलि हटाउनुपर्ने खालको गीत बनाउनु छैन। जुन गीत आर्काइभ गर्दा पनि मजा आउँछ, त्यस्तो गीत निकालिरहन मन छ। जीवनको कुनै मोडमा निराश भइयो भने आफ्नै गीत सुनेर प्रेरणा लिन सक्ने खालका गीत बनाइरहन मन।'
उज्ज्वललाई भन्न मन लागेको कुरा सबै गीतमार्फत भन्न पाइरहुँ भन्ने मन हुन्छ। उनी जीवनमा 'ह्वाट नेक्स्ट?' वा 'अब के?' भन्ने कुराले पनि प्रेरित भएर काम गरिरहेका हुन्छन्। एउटा समय उनको 'ह्वाट नेक्स्ट?' भोकल सिक्नु थियो। पछि संगीत सिक्नु भयो। त्यसपछि संगीत संयोजन हुँदै उनले युट्युब च्यानल खोले र गीतहरू हाले।
उनले अहिलेसम्म लिरिकल गीतहरू युट्युबमा हालेका छन्। उनलाई अबका नयाँ केही गीत भिडिओमा बनाउन मन छ। केही गीतमा उनले संवाद बोलेजसरी गाएका छन्। केही गीत उनलाई कथा भनेजसरी भन्न मन छ। फिल्ममा पूरै ब्याकग्राउन्ड संगीतको काम गर्न मन छ।
'जीवनमा आफूले गरेको त केही होइन भन्ने लाग्छ तर पनि क्षणभंगुरताले छाडेको छैन। आफू रहुञ्जेल केही गर्नुपर्छ भन्ने सधैं लागिरहन्छ। त्यसले एक हिसाबले आशा जगाउँछ,' उनले भने।
उज्ज्वललाई कुनै समय संगीतको एकेडेमी खोल्न पनि मन थियो। कतिले लगानी गर्छु पनि भनेका थिए। तर अहिले उनलाई एकेडेमी खोल्नुभन्दा विदेश गएर साउन्ड इञ्जिनियरिङ पढ्न मन छ। संगीत एकेडेमी नै खोले स्टुडियो सहितको खोल्न मन छ।
'पाँच वर्षअघि म युट्युबमा १ लाख फलोअर भए एकेडेमी खोल्छु भन्थेँ। तर अहिले मेरो आकाश फराकिलो भइसक्यो र महत्त्वाकांक्षा पनि बढिसक्यो,' उनले भने।
उज्ज्वल संगीतमा नयाँपन खोजिरहेका हुन्छन्। नयाँ नयाँ मानिससँग सहकार्य गर्दा नयाँपन पाइन्छ भन्ने उनले बुझेका छन्। प्रायः सफ्ट मेलोडीमा गीतहरू गाउने उज्ज्वलले पछिल्लो समय पूर्वेली लोक शैलीका गीत पनि गाए।
आर्टमान्डूबाट आएको 'सुनाखरी' गीत निकै चर्चित छ। उनको युट्युबमा पछिल्लो चर्चित गीत 'माइली' त्यही विधाको हो। दाइ रोशन र उनले लेखेको यस गीतमा पनि जीवन दर्शन र अध्यात्म भेटिन्छ। प्रेम भाव उत्तिकै छ। कसैले नैराश्य पनि भेट्न सक्छन् —
हाम्रो जीवन यस्तै हो कि माइली
खोला जस्तै बगिरहने
आखिर यो मन यस्तै हो कि माइली
सम्झनामै अल्झिरहने
खासमा उज्ज्वलका धेरै गीत तपाईं कुन मुडमा सुनिरहनुभएको छ, तपाईंलाई त्यस्तै लाग्छ।
उनी भन्छन्, 'आफ्ना सिर्जनाहरू कुनै न कुनै रूपमा आफ्नै अभिव्यक्ति हुन्। त्यो नभई निष्प्राण हुन्छ। त्यसो भन्दैमा रौद्र रसको गीत लेख्नलाई घर नै जलाउनुपर्छ भन्ने होइन। आफ्नो रचनामा अनुभूति भयो भने जीवन्त भने हुन्छ।'
माइली गीत सार्वजनिक भएपछि नै उज्ज्वललाई लाइभ प्रस्तुति दिनुपर्छ भन्ने लागेको हो। त्यही सोच साकार बनाउन केही साताअघि मात्र उनले आफ्नो ब्यान्ड बनाएका छन्। ब्यान्डमा तबला, गितार, ड्रम, किबोर्ड, पियानो र फ्लुट बजाउने र कोरसमा महिला छन्। एक जना साउन्ड इञ्जिनियर सहितको जम्बो टोली उनले बनाएका छन्।
आफ्ना गीतलाई संगीतमार्फत बेग्लै तरिकाले डिजाइन गरेको बताउने उज्ज्वल आफ्ना गीतहरू सुनाउन आतुर छन्। यही शनिबार झम्सिखेलस्थित मोक्ष बारमा उनी आफ्नो पहिलो एकल प्रस्तुति दिँदैछन्। अहिलेलाई उनको 'ह्वाट नेक्स्ट?' यही हो।
त्यस साँझ झम्सिखेलमा हुने कन्सर्ट सम्झँदै उज्ज्वल आफ्नो 'निःशब्द' शीर्षकको गीतका यी हरफहरू गुनगुनाइरहेछन् —
यी साँझहरू
सम्हाली राख न है
तिमीलाई त थाहै छ
मबाट चिजहरू
त्यति सम्हालिन्नन्
अनि भावना परको कुरा
***